जलवाष्पयुक्त वायुसमेत ‘ट्र्याप’ भएपछि गर्मी बढ्यो

मौसमी प्रणाली नै बंगालको खाडी आसपासमै रोकिएपछि (ट्र्याप) नेपालतिर आउने मनसुनी प्रणालीसमेत अवरुद्ध भएको छ । जसका कारण मनसुन ढिला भइरहेको छ भने उखरमाउलो गर्मी बढिरहेको छ ।



 ‘जलवाष्पयुक्त वायु बंगालको खाडीबाट आउँथ्यो, त्यो नै आएन,’ जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालले कान्तिपुरसित भने, ‘कम्तिमा वायुको प्रवाह (फ्लो) भएको भए अलि अलि बादल लाग्थ्यो र धेरथोर वर्षा हुन्थ्यो, बढ्दो गर्मी घट्न पनि सहयोग पुग्थ्यो ।’

अर्यालयका अनुसार मनसुनी प्रणाली सिफ्ट भएर उत्तरतिर तिर सर्दै आउनुपर्ने हो, त्यो भइरहेको छैन । ‘मनसुनी प्रभावका लागि मौसमी प्रणाली नै स्वाट्ट सर्नुपर्ने हुन्छ,’ उनले भने, ‘त्यो भएको छैन, बंगालकै खाडी आसपासमा मनसुन ट्रयाप भएको छ ।’




अर्को, पश्चिमतिर अरेबियाली सागरमा ‘वायु’ नामको आँधी आएका कारण पश्चिम नेपालतिर गर्मी बढिरहेको छ । शनिबार धनगढी, नेपालगञ्ज, भैरहवाको तापक्रम ४४ हाराहारी पुगेको छ । आइतबार पनि काठमाडौं र पश्चिमसहित सबैतिर तापक्रम बढिरहेको छ ।


सामान्यतया नेपालमा जेठ अन्तिम साता (जुन १०) मा मनसुन सुरु हुने भए पनि केही वर्ष यता मनसुन धकेलिरहेको छ । यो वर्ष पनि अझै चार–पाँच दिन मनसुन प्रवेश गर्ने छाँट छैन । ‘भारतको सिक्किमतिर दुई तीन दिनमा मनसुन प्रवेश गर्ने संभावना देखिएको छ’ अर्यालले भने, ‘त्यसपति बल्ल ताप्लेजुङ, इलाम हुँदै मनसुन प्रवेश हुन सक्छ ।’


अहिले मनसुन भारतको मध्यभाग तिरै अलमिलएको छ । सामान्यतया जुन १ मा केरलामा र त्यसको १० दिनपछि (१० जुन/जेठ २७) पूर्वी भाग हुँदै नेपाल प्रवेश गर्छ । काठमाडौं विश्वविद्यालयमा मौसम विज्ञानका अध्यापक वरिष्ठ मौसमविद् मणिरत्न शाक्यले पनि पछिल्ला वर्ष मनसुनपछि धकेलिंदै गएकाले सुरु हुने मिति नै हेरफेर गर्नुपर्ने टिप्पणी गरे । ‘मनसुन ५ देखि १० दिनपछि धकेलिने गरेको छ,’ शाक्यले भने, ‘यो वर्ष पनि त्यस्तै सम्भावना छ ।’



दक्षिण एसियाली जलवायु दृष्टिकोण मञ्चको डेढ महिना अघि काठमाडौंमा भएको सम्मेलनले यो वर्ष नेपालमा पूर्वी भागमा औसत भन्दा कम वर्षा हुने आंकलन गरेको छ । मध्ये र पश्चिम भागमा भने औशत वर्षा हुने अनुमान गरिएको छ ।मनसुन सुरु हुनुअघि दक्षिण एसिया क्षेत्रका मौसमविद् मनसुनसम्बन्धी साझा दृष्टिकोण बनाउन सन् २०१० देखि भेला हुने गरेका छन् ।


कान्तिपुर बाट





अब्दुल्लाह मियाँ

प्रतिक्रिया दिनुहोस

web
analytics