पाउँदैनन पिडितले राहत

फाइल फाेटाे


गत मंसिरमा कमला लिम्बुको हात्तीले घर भत्कायो । उनले राहतका लागि कोशीटप्पु बन्यजन्तु आरक्षमा निवेदन दिइन् । तर उनले राहत पाइनन् । किनकी उनी बसेको जग्गा उनको नाममा थिएन । उनीजस्तै कोशीटप्पु बन्यजन्तु आरक्ष मध्यवर्ती क्षेत्र आसपास बस्ने धेरै स्थानीयहरुको जग्गा धनी पुर्जा छैन । बराह नगरपालिका समेत मध्यवर्ती क्षेत्र आसपासका करिब ५ सय घरपरिवार ऐलानी जग्गामा बसोबास गर्दै आइरहेका छन् ।

बन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका २०६९ को दफा ४ बमोजिम बन्यजन्तुले क्षती पुर्याएको घरको क्षतीपुर्ति पाउनका लागी जग्गाधनी प्रमाण पत्र हुनैपर्ने उल्लेख छ । आरक्षबाट नजिकै बराह नगरपालिकाको प्रकाशपुरमा बर्षेनी हात्तीले १० देखि १५ घर भत्काउने गरेको छ ।
२०४० ४१ मा कोशीमा आएको बाढीले प्रकाशपुर गाउँ बगाएपछि उक्त गाउँका मानिसहरु जग्गा विहिन बन्न पुगे । गाउँको लगभग ४०० विघा जमिन खोलाले काटेपछि स्थानियहरु मध्यवर्ती क्षेत्रको ऐलानी जग्गामा बसोबास गर्दै आइरहेका छन् । त्यहि जग्गामा पनि कोशीटप्पुको हात्तीले वर्षेनी घर भत्काउन थालेपछि उनीहरु थप मर्कामा परेका छन् ।

स्थानिय पीडित कमला लिम्बुले भनिन्,“मैले पहिले देखिनै अर्ना हात्तिको संरक्षणका लागि आवाज उठाउँदै आएको थिएँ, हात्तिहरुले नै घर भत्काउदा समेत राहत पाएका छैनौ । नम्बरी जग्गा जति सबै कोशिले बगायो अब हामिले कहाँ बाट ल्याउ जग्गाधनी पुर्जा ?”

स्थानीय युवा माधव बराल भन्छन्, सरकारले वातावरण तथा वन्यजन्तु संरक्षणमा पहल गर्नेहरुलाई नै बेवास्ता गर्दै आइरहेको छ । आरक्षका प्रमुख संरक्षण अधिकृत श्यामकुमार शाहले भने, “निर्देशिका विपरीत हामीले राहत उपलब्ध गराउन नसकेपनि दातृ निकायहरु लाई पहल गरि छुट्टै कोष स्थापना गरी स्थानीय निकायको सिफारिसको आधारमा आरक्ष आफैले उचित राहत उपलब्ध गराउन पहल भैरहेको छ ।”

कोशी टप्पु वन्यजन्तु आरक्ष कोशी नदीको तटमा रहेको संरक्षित क्षेत्र हो । २०६१ भदौं ३१ मा मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिको गठन गरी मध्यवर्ती क्षेत्र घोषणा भएको थियो ।
लामो समयदेखि बस्दै आएका स्थानीयहरुलाई वन्यजन्तुले पटक पटक आक्रमण गरी जनधनको क्षति गरे पनि सरकारले दिने उचित क्षति राहत पाउन सक्दैनन् ।

 

कृष्णप्रसाद भट्टराई

प्रतिक्रिया दिनुहोस

web
analytics