सम्भावित जोखिमबाट बच्ने उपाय खोज्दै नेपाल


दक्षिण छिमेकी मुलुक भारतले उत्तर प्रदेशको बुल्यान्डसहर जिल्लामा आणविक भट्टी निर्माण गर्दै छ। र, यो स्थान महाकाली सीमाबाट करिब १५० किलोमिटर दुरीमा पर्छ। बंगलादेशले उत्तरपश्चिम हुँदै बग्ने पद्मा नदी किनारमा यस्तै १२ सय मेघावाटको आणविक ऊर्जा उत्पादन केन्द्र बनाइरहेको छ। यो स्थान नेपालको पूर्वी सीमादेखि २७० किलोमिटर दुरीमा पर्छ।


अब कुरा आउछ नेपालको। नेपालले आणविक ऊर्जा उत्पादन केन्द्र स्थापना गर्ने सोच बनाएको छैन तर छिमेकी मुलुकहरूले बनाएका र बनाउने यस्ता केन्द्रहरूबाट निस्किन सक्ने आणविक विकिरणको सम्भावित जोखिमबाट बच्ने उपाय भने खोजिरहेको छ। र, प्राकृतिक रुपमा पाइने आणविक विकिरणको जोखिम कम गर्न आपतकालिन पूर्वतयारीका लागि मुलुकका ५ देखि ७ स्थानमा विकिरण पूर्वानुमान केन्द्र पनि स्थापना गर्दैछ। यस सबन्धि  सरोकारवाला निकायका पदाधिकारी, प्राविधिक र वैज्ञानिकहरूलाई तालिम पनि दिँदैछ सरकार।


 'छिमेकी मुलुक धमाधम आणविक ऊर्जा प्रवर्द्धनमा लागिरहेका छन्। उनीहरूले स्थापना गर्ने आणविक भट्टीहरूबाट हामी सुरक्षित छैनौं। ती केन्द्रहरूबाट कुनै पनि बेला विकिरण चुहिन सक्छ। त्यस्तो अवस्थामा हामी सुरक्षित हुनैपर्छ', जल तथा मौसम विज्ञान विभागका महानिर्देशक डा. ऋषिराम शर्मा भन्छन, 'भौगोलिक अवस्थितिले पनि हामी धेरै जोखिममा छौ ।'


 उनका अनुसार वर्षायाममा बंगालको खाडी हुँदै मनसुनी हावा पूर्वबाट नेपाल भित्रिन्छ।  बंगलादेशका आणविक भट्टीहरूमा कुनै दुर्घटना हुन गएमा त्यसको विकिरण मनसुनी हावाबाट नेपाल भित्रिने सम्भावना रहन्छ। त्यस्तै अन्य मौसममा नेपालमा दक्षिण–पश्चिमबाट हावा चल्छ। भारतमा भएका आणविक ऊर्जा उत्पादन केन्द्रहरूमा पनि केही दुर्घटना भएमा त्यही हावामार्फत नेपालमा विकिरण भित्रिन सक्छ। र, नेपाल प्रभावित हुन्छ।


 'यति मात्र होइन मुस्ताङमै युरोनियम फेला परेको पुष्टि भइसकेकेा छ। त्यस क्षेत्रको रेखदेखको जिम्मा सेनालाई दिइएको छ। यो अवस्था हो भने त्यस क्षेत्रमा त्यसको विकिरण फैलिन सक्छ। त्यसले मानव स्वास्थ्यमा दीर्घकालीन प्रतिकूल असर पार्न सक्छ', डा. शर्माले नागरिकसग भने, 'आणविक विकिरणको अवस्था सबन्धि जनतालाई जानकारी दिनु राज्यको कर्तव्य हो। र, यसको आपतकालीन पूर्वानुमान पनि अपरिहार्य छ।'


 भारत, बंगलादेश मात्र होइन पाकिस्तानले पनि आणविक ऊर्जालाई त्यत्तिकै महत्व दिएको छ। पाकिस्तानले नेपालको पश्चिम सीमाबाट करिब ९५० किलोमिटर हवाई दुरीमा एउटा आणविक भट्टी बनाइरहेको छ। प्रशान्त महासागरमा उत्पत्ति हुने वायु अफगानिस्तान, पाकिस्तान र भारत हुँदै नेपाल भित्रिन्छ। चीनले आफ्नो पूर्वी कोस्टल क्षेत्रमा आणविक भट्टी स्थापना गरेको छ। त्यो क्षेत्र भने नेपालबाट करिब तीन हजार किलोमिटर हवाई दुरीमा पर्छ। डा. शर्माका अनुसार छिमेकी मुलुकहरूमा विस्तार भइरहेको आणविक ऊर्जा र यसै कारण विगतमा विश्वमा भएका दुर्घटनाहरूलाई ध्यानमा राखेर नेपालले सम्भावित जोखिमबाट बच्चे उपाय खोजिरहको छ।


पछिल्लोपटक सन् २०११ मार्च ११ मा जापानको फुकुसिमा डाइची आणविक भट्टी विस्फोट भएको थियो। ठूलो भूकम्प र त्यसलगत्तै आएको समुद्री आ“धीका कारण भट्टी विस्फोट भएको थियो।


 'मानव निर्मित आणविक विकिरण मात्र होइन, वातावरणमा पाइने विकिरणको अवस्था र मात्रा सबन्धि  पनि नागरिकलाई सचेत बनाउने योजना बनाइरहेका छौं', उनले बुधबार 'आणविक विकिरणबाट हुनसक्ने क्षतिको पूर्वतयारी' कार्यशाला उद्घाटन सत्रमा भने।


 अन्तर्राष्ट्रिय आणविक ऊर्जा संगठन (आइएइए) को सहयोगमा नेपालले सन् २०१६ जनवरी १ बाट यो कार्यक्रम सुरु गरिरहेको छ। यसको कुल बजेट सवा पा“च करोड रुपैयाँ छ। 'उपकरणहरू सबै आइएइए संगठनले उपलब्ध गराउ“छ। तीनलाई जडान गर्ने र क्षमता अभिवृद्धिका कार्यक्रम हामीले गर्नेगरी सम्झौता भएको छ', शर्माले भने।


 नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानका विकिरण वैज्ञानिक डा. बुद्धराम साहले प्राकृतिक र मानवीय क्रियाकलापबाट सिर्जित आणविक विकिरण सबन्धि  अध्ययन जरुरी भएको बताए। 'पृथ्वीको सतहबाट निस्किने युरोनियम, थोरियम र पोटासियमबाट पनि विकिरण निस्कन्छ। त्यसले मानव स्वास्थ्यलाई असर गरिरहेको हुन्छ', उनले भने।


 साहका अनुसार यस्ता विकिरणले मानव कोषलाई निस्त्रि्कय पारिदिन्छ। कोषलाई एक आपसमा टुक्र्याउँछ। र, यसबाट क्यान्सर जस्ता जटिल रोग लाग्छन्। 'यस्ता विकिरणले डिएनए नष्ट गरिदिन्छ। यसबाट आनुवंशिक गुण पनि मासिन्छ', उनले भने। साहका अनुसार आणविक विकिरणको अर्को असर बोन म्यारोमा पर्छ। 'यसले सबैभन्दा बढी बालबालिकालाई असर गर्छ। बच्चाहरूको कोष बढ्ने अवस्थामा हुन्छ। विकिरणको सम्पर्कमा आए भने त्यसले विस्तारै उनीहरूको शरीर वृद्धिमा असर पुर्‍याउ“छ', उनले भने।


 साहका अनुसार कुनै पनि मानवका लागि प्रतिवर्ष एकदेखि दुई मिलि सिभर्टभन्दा बढी विकिरण हानिकारक हुन्छ। यो अन्तर्राष्ट्रिय मापदण्ड हो। र, त्यसले स्वास्थ्यमा प्रतिकूल असर पार्न थाल्छ। उनले काठमाडौंमा पाइने प्राकृतिक विकिरणको हालसालै प्रारम्भिक अनुसन्धान गरिएको जानकारी पनि दिए।


 साहका अनुसार काठमाडांै उपत्यकामा सबैभन्दा बढी विकिरण बूढानीलकण्ठ र ककनी क्षेत्रमा छ। उनले यी क्षेत्रमा पाइएको विकिरणको मात्रा भने बताउन चाहेनन्। 'तथ्यांक दिँदा मान्छे आत्तिन सक्छन्', साहले भने। यी क्षेत्रमा ग्रानेटिक चट्टान बढी भएकाले त्यसबाट विकिरण उत्पन्न भएको हुनसक्ने उनको प्रारम्भिक अनुमान छ। त्यसो त काठमाडांैमा विकिरणको औसत मात्रा शून्य दशमलब २ माइक्रो सिभर्टदेखि शून्य दशमलब ५ माइक्रो सिभर्टसम्म छ।


 साहले मानवीय क्रियाकलापका कारण स्वास्थ्य, कृषि उत्पादन, औद्योगिकलगायत क्षेत्रबाट विर्सजन भइरहेको विकिरण सबन्धि पनि अध्ययन हुनुपर्ने बताए।


 महानिर्देशक डा. शर्माका अनुसार आणविक विकिरण पूर्वानुमान केन्द्र स्थापनाका लागि विराटनगर, सिमरा, भैरहवा, सुर्खेत, दिपायल, पोखरा, काठमाडौंलगायत स्थान छनोट गरिएको छ। 'यीमध्ये पा“चदेखि सात स्थनमा केन्द्र स्थापना गरिनेछ', उनले भने।


 राष्ट्रिय योजना आयोगका सदस्य डा. सुनिलबाबु श्रेष्ठले आणविक नीति तयार भइरहेको र ऐनको मस्यौदा कानुन मन्त्रालयमा स्वीकृतका लागि पठाइएको जानकारी दिए।


वातावरण मन्त्रालयका सचिव डा. विश्वनाथ ओलीले जनचेतना, सुरक्षा र पूर्वतयारीका लागि विकिरण अनुमान केन्द्र स्थापना गर्न लागिएको जानकारी दिए।


नागरिक दैनिक

सुबोध गौतम

प्रतिक्रिया दिनुहोस

web
analytics