मतदाता भन्छन्– ‘बाँदर र बँदेल लखेटिदेऊ’



अर्घाखाँची छत्रदेव गाउँपालिकाको बल्कोट, केरुंगा र चिदिका गाउँलेको मुख्य समस्या बाँदर र बँदेल आतंक हो । सोमबारको कान्तिपुरमा विरेन्द्र केसी लेख्छन् छत्रदेव गाउँपालीकाका मतदाता भन्छन्, गाउँबाट बाँदर धपाइदिने उम्मेदवारलाई मात्रै भोट दिन्छौँ। बाँदरले दिउँसो खेतबारी र घरभित्रको अन्न खाएर हैरान बनाएको छ भने रातिमा बँदेलले ।

‘बाँदर र बँदेलले त उठिबासै लगाउन थाल्यो,’ बल्कोट काब्रेकी झवकला पौडेलले भनिन्, ‘खेतबारीमा फल्न लगेको बाली पाक्नै पाउँदैन । बाँदरको ठूलै बगाल बारीमा आउँछ । छिनभरमै सखाप पारिदिन्छ ।’ चौकीदार त गर्छौं तर, धेरै संख्यामा रहेका बाँदरले मान्छेलाई नै आक्रमण गर्छ, भाग्नुबाहेक अरू उपाय छैन । ७ वर्ष अघिसम्म बाँदर थिएन । बारीमा गहुँ र मकै पाकेपछि स्याहार्न गए हुन्थ्यो । ‘बाँदर लखेटन बारीमा गएका बेला घरभित्र पसेर किनेर ल्याएको दाल, चामल लथालिंग पारिदिन्छ,’ उनले भनिन्, ‘घरको अन्न जोगाउन थाले बारीको सखापै पार्छ ।

यसपालि समयमै पानी आएकाले बारीमा गहुँ राम्रै फलेको थियो । बाँदरले सबै खाइदियो, बीउसमेत फर्काउन कठिन भयो ।’ घरभित्र पसेर बाँदरले लत्ताकपडा च्यात्ने, सजाएर राखेका भाँडाकुँडा फुटाल्ने गर्छ । मान्छे एक्लै देखे आक्रमण गर्ने उनले बताइन् । ‘जसले बाँदर लखेटिदिन्छ उसैलाई भोट दिन्छु,’ उनले भनिन्, ‘घरमा आएर उम्मेदवारले नमस्कार आमा मलाई भोट दिनुहोला भन्छन् । मैले बाँदर र बँदेल धपाइदिने भए मात्र दिन्छु भनेकी छु ।’ बस्तीनजिकैको वन केही वर्ष पहिले नांगो थियो । समुदायले सामुदायिक वन बनाएर सल्ला र अन्य रूख रोपे । अहिले जंगल छ । अग्ला रूखमा बाँदर बस्छ । त्यहाँ जानै सकिँदैन । एउटा बगालमा हजार बढीको संख्या बाँदर छन् । संख्या पनि बर्सेनि बढेको छ । ‘अघिल्लो संविधानसभामा पनि भोट माग्न आएका उम्मेदवारलाई बाँदर धपाइदिन माग राखेका थियौं । तर, जितेपछि वास्तै गरेनन्,’ उनले भनिन् ।

अहिले त गाउँकै नेता उम्मेदवार भएका छन् । उनीहरू पनि बाँदरबाट पीडित छन् । ‘उम्मेदवारले भोट दिनुस् चुनाव जितेपछि योजना बनाएर धपाउँछौं भनेका छन्,’ काब्रेकी हुमकला अधिकारीले भनिन्, ‘आशा गरेका छौं । बाँदर आतंकबाट गाउँलाई मुक्त पार्नेछन् । ढुंगा र खरको छानो भएको घर भत्काएर भित्र पस्छ र मिलाएर राखेको अन्नपात, लत्ताकपडा, भाँडाकुडा लथालिंग पारेर हैरान बनाउँछ ।’

‘७ वर्षयता बाँदरले हैरान बनाएको छ,’ विष्णु पौडेलले भने, ‘धेरैपटक प्रजिअसँग धपाइदिन आग्रह गर्‍यौं । आश्वासन मात्रै पाइयो । बस्ती नै विस्थापित हुन सक्छ ।’ ‘मकै पाक्दा स्कुल जानै पाइँदैन, जंगलछेउ टहरो बनाएर हातमा लाठी लिई चौकीदार गर्नुपर्छ,’ विद्यार्थी वसन्त खनालले भने, ‘स्कुल गए बाँदरले मकै सखाप पारिदिन्छ । चौकीदार बसे पढाइ छुटछ ।’

सबै पार्टीबाट वडा अध्यक्ष, सदस्य र गाउँपालिका प्रमुख र उपप्रमुखका उम्मेदवारले मतदाताको माग सम्बोधन गर्दै बाँदर धपाउने एजेन्डा बनाएका छन् । वडा नम्बर ३ का अध्यक्षका उम्मेदवार तेजु खनालले बाँदरले गाउँलेलाई हैरान बनाएकाले आफूले जिते बाँदर धपाउने कार्यक्रम सञ्चालन गर्ने बताए ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics