जथाभावी सडक पार गर्दा तिर्नुपर्ने जरिवाना हट्यो



सरकारले जथाभावी बाटो काट्दा तिर्नुपर्ने जरिवाना व्यवस्था हटाएको छ । गृहमन्त्री जनार्दन शर्माको निर्देशनपछि जथाभावी बाटो काट्ने वा फुटपाथमा नहिँडेर सडकमा हिँड्ने पैदलयात्रीबाट ट्राफिक प्रहरीले असुल्दै आएको जरिवाना व्यवस्था हटाएको हो ।

सर्वसाधारणले बाटो काट्दा हुने सामान्य गल्तीमा शुल्क लिने व्यवस्थाको चर्को आलोचना हुँदै आइरहेको थियो । जथाभावी सडक पार गर्नेलाई जरिवाना नगर्ने तर, क्लास लिनु पर्ने व्यवस्थालाई निरन्तरता दिने ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । गृहमन्त्री शर्माले जरिवाना उठाउनेभन्दा पनि ट्राफिक शिक्षामा जोड दिन आग्रह गर्दै रु. २०० जरिवाना लिने काम बन्द गर्न निर्देशन दिएका छन् ।

बढ्दो सवारी र सडक दुर्घटना न्यूनीकरण गर्न भन्दै ट्राफिक प्रहरीले गत जेठ १६ गतेदेखि जरिवाना र सजायको व्यवस्था लागू गरेको थियो ।

ट्राफिक प्रहरी महाशाखाले जरिवाना लिन मंगलबार देखि नै बन्द गरेको छ । तर ट्राफिक सचेतना कार्यक्रम जारी राखिएको महाशाखाले जनाएको छ । यसअघि जरिवाना नतिर्ने सर्वसाधारण ३ घण्टा ट्राफिकको नियन्त्रणमा रहनुपर्थ्यो ।

जेठ १६ गतेबाट सुरु भएको यो कारबाहीमा झण्डै २० हजार पैदलयात्रु परिसकेका छन् । ट्राफिकको अभियान राम्रो भएपनि पर्याप्त जेब्राक्रसिङ नै नभएको र जनचेतनामूलक कार्यक्रम नै नगरी जरिवाना गर्न थालिएको भन्दै आलोचना हुँदै आइरहेको थियो ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics