प्रकोप बन्दैछ खडेरी

A+ A-

लामो समय पानी नपर्नु नै खडेरी हो । खडेरी को अर्थ सुख्खा हुनु हो । खडेरी एउटा प्राकृतिक घटना हो, जुन मौसम र उच्च चाप प्रणलिसँग सम्बन्धित छ । खडेरी विस्तारै प्राकृतिक प्रकोप बन्दै गएको छ । बैज्ञानिकहरुको भन्छन्, मौसम विज्ञान अनुसार वर्षा हुने स्थान र सुख्खा समयमा पानी परेन भने त्यसलाई मौसमी खडेरी भनिन्छ । जल विज्ञान अनुसार खडेरी पृथ्वीको सतह र उपसतहमा पानीको आपूर्तिमा कमीलाई जनाउँदछ । ताल तलैया, भूमीगत पानी लगायतको सतहमा कमीका आधारमा यसको आँकलन गरिन्छ । कृषि खडेरी कुनै निश्चित ठाँउमा खास अनाजका लागि माटोमा हुने चिस्यानमा आधारित हुन्छ । खडेरीलाई जुनसुकै नाम दिए पनि यो जलचक्रलाई प्रभावित पार्ने कारक तत्व हो । जलचक्रका कारण पारिस्थितिक पद्धति प्रभावित हुन्छ । यसले जल र स्थलमा अनेकौ समस्या निमत्याउँछ ।

विशेषज्ञहरुको अनुसार जलवायु परिवर्तन नै खडेरीको प्रमुख कारण हो । वन विनाश, विश्वव्यापी तापक्रममा वृद्धि, अत्याधिक हरित ग्याँस उत्सर्जन आदी जलवायु परिवर्तनका कारणहरु हुन । नेपालको जनसंख्या विश्व जनसंख्याको ०.४ प्रतिशत भन्दा कम छ । तर नेपालले विश्व उत्सर्जनको ०.०२५ प्रतिशत मात्र हरितगृह ग्याँस उत्सर्जन गर्छ तर पनि नेपालको तापक्रम वार्षिक ०.०५६ डिग्री सेल्सियस दरले वृद्धि भईरहेको अनुमान गरिएको छ । जलवायु परिवर्तनका कारण नेपालमा अनावृष्टि, अतिवृष्टि, समयमा पानी नपर्ने, वर्षाका दर र गतिमा परिवर्तन, पानी पर्ने दिनमा कमी आदी घटनाहरु कुनै नौलो होइन । अनावृष्टिलाई नै खडेरी भन्ने गरिन्छ । खडेरीले गर्दा कृषि उत्पादनमा कमि, खानेपानीको हाहाकार, जैविक विविधतामा ह्रास आदी असरहरु नेपालमा देखा परेका छन् । जसले देशको आर्थिक अवस्था खस्किनु मात्रै नभई देशका प्रति व्यक्ति आयमा गिरावट, कुल गार्हस्थ उत्पादनमा समेत कमि आउने गर्दछ ।

जलवायु परिवर्तनका कारण नै खडेरी हुने कुरामा हामी दुईमत छैनौ । जलवायु परिवर्तन एउटा प्राकृतिक घटना हो । यो निरन्तर परिवर्तन भईराख्ने चक्र हो । परिवर्तन संसारको नियम हो । परिवर्तन अनुसार हामीले जिउन सक्नु पर्दछ । जलवायु परिवर्तनको असरलाई न्युनीकरण गर्न ज्यादै खर्चिलो, समय बढी लाग्ने, बढी साधन र स्राेतकाे आवश्यकता हुन्छ । जुन हाम्रो जस्तो विकासोन्मुख गरीव देश नेपालले धान्न सक्दैन । जलवायु परिवर्तनबाट सिर्जित प्रकोप हो खडेरी ।  नेपाल जलवायु परिवर्तनको असरका हिसाबले जोखिमयुक्त देश भएको हुनाले खडेरी नेपालको लागि अतिनै संवेदनशिल विषय बन्दै गएको छ ।

कृषिमा आधारीत जिविकोपार्जन, प्रकोपको पूर्व सूचना प्रणालीको अभाव, कमजोर आर्थिक स्थिती, सरकारको अस्थिरता, कमजोर वा अपर्याप्त पूर्वाधार आदी कारणले नेपाल अति नै जोखिममा छ। त्यसकारण खडेरीबाट बच्न जलवायु परिवर्तन न्यूनीकरण गर्नुभन्दा पहिले त्यसले पार्ने प्रभावबाट कसरी अनुकुलन हुने भन्ने जरुरी छ । अनुकुलन स्थानिय स्तरमै गरिन्छ । अनुकुलन कार्यक्रम अत्यन्तै फाइदाजनक, किफायती, जीवनउपयोगि हुन्छ । यसले सकारात्मक असरलाई वढावा गर्दछ भने नकारात्मक असरलाई न्यूनीकरण गर्दछ । अनुकुलन कार्यक्रमहरु तिव्र गतिमा प्रभाव पार्ने गर्दछ । यस्ले स्थानिय समस्याको सम्बोधन गर्ने गर्दछ । अनुकुलन हुनु एउटा कला हो यो आफुलाई परिवर्तित समय अनुसार बाँच्न सिकाउछ, समस्या समाधान गर्न, प्रकोप विरुद्ध लड्न तयार गराउँछ ।

नखाई बाँच्न सकिँदैन । त्यसकारण हामीले खडेरीबाट लड्नै पर्दछ । कृषिप्रधान देश बचाउनै पर्दछ । कृषियोग्य जमिनहरु बाँझो हुनुबाट बचाउन खडेरीबाट सिर्जित समस्याहरुको समाधान गर्न अनुकुलन कार्ययोजना अनुसार अगाडी बढ्नु आजको आवश्यकता हो । पानीकाे मुहान सुक्ने प्रकोप बाट अनुकुलन हुन विभिन्न क्रियाकलापहरु जस्तै  वृक्षारोपण गर्ने, जोगाउने, हुर्काउने, वढ्दो तापक्रम सहन सक्ने वोटविरुवा तथा वाली नालीहरुको नश्ल तयार गरी खेती गर्ने, कृषिवन लगाउने, पानीको मुहान संरक्षण (इन्टेक ट्याङ्की तथा पाइप लाइन व्यावस्थापन) गर्नु आवश्यक देखिन्छ भने कृषि उत्पादनमा माटोको उर्वराशक्तिमा ह्रास जस्ता प्रकोप बाट अनुकुलन हुन सिचाई पोखरी निमार्ण, प्लाष्टिक पोखरी मर्मत, आकासे पानी संकलन, उन्नत जातका विउविजन खरिद, गोठेमल सुधार, गोठ सुधार(भकारो सुधार), कम्पोष्ट मल, पशु मुत्र संकलन, स्प्रे ट्याङ्की खरिद, अगुवा कृषक विकास, कृषक पाठशाला इत्यादी क्रियाकलापहरु संचालन गर्न जरुरी देखिन्छ । सिचाइमा असर(खडेरी) बाट बच्न सिचाई पोखरी निर्माण, सिचाई कुलो निर्माण आकासे पानी संकलन गर्ने जस्ता क्रियाकलापहरु गर्न जोड दिनुपर्ने देखिन्छ ।

यसरी खडेरीबाट सिर्जित विभिन्न प्रकोप र विभिन्न प्रकोपहरुबाट उत्पन्न विभिन्न समस्याहरुबाट बच्नका लागि हामी जस्तो गरीव देशका जनताहरु अनुकुलनका लागि क्षमता अभिवृद्धि गर्दै अनुकुलन कार्ययोजनाहरु संचालन गर्न अपरिहार्य देखिन्छ । तब मात्र हामी र हाम्रो देशको सामाजिक, आर्थिक विकास सम्भव छ ।

(वन विभागमा कार्यरत लेखक सहायक वन अधिकृत हुन् । )

प्रतिक्रिया दिनुहोस

web
analytics