संरक्षित क्षेत्रमा १ सय ७९ वन्यजन्तु मरे

फाइल फाेटाे


वितेको एक वर्षमा संरक्षित क्षेत्रमा १ सय ७९ वन्यजन्तु मरेका छन् । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार आर्थिक वर्ष २०७२/७३मा सबैभन्दा धेरै चित्तल मरेका छन् । एक वर्षमा ६६ वटा चित्तल मरेका छन् । संरक्षित क्षेत्रमध्ये चितवन राष्ट्रिय निकुञ्जमा सबैभन्दा धेरै वन्यजन्तु मरेका छन् । सबैभन्दा थोरै मकालु वरुण राष्ट्रिय निकुञ्ज एउटा व्वाँसो मात्र मरेको छ ।

त्यस्तै, कृष्णसार संरक्षण क्षेत्रमा ३० वटा कृष्णसार मरेका छन् । सडक दुर्घटना, वन्यजन्तुको आक्रमणलगायतका कारण नै वन्यजन्तु मृत्युका मूख्य कारण हुन् । केही जनावर उपचारका क्रममा मर्ने गरेका छन् । गत आर्थिक बर्षमा ककुरको आक्रमणबाट ३५ वन्यजन्तु मरेका छन् । त्यस्तै, सडक दुर्घटनाबाट ७ वन्यजन्तु मरे भने अन्य जिबजन्तुलाई बाघ, चितुवा र हुडार लगायतका जीवजन्तुले मार्ने गरेको पाइन्छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका प्रवक्ता नारायण रुपाखेतीले चित्तल मानिसको नजिक वस्ने र अन्य बाली खाइदिने भएकोले यो जनावर बढि जोखिममा रहेको जानकारी दिए । रुपाखेतीका अनुसार बन्यजन्तु संरक्षणका लागि विकासका कामहरु गर्दा वन्यजन्तुलाई असर नपर्ने गरी काम गर्नुपर्छ । उनले भने, ‘जलविद्युत आयोजना पनि वन्यजन्तुको वासस्थानमा असर पुर्याउने प्रोजेक्ट हो । नेपालको पहाडी क्षेत्र संरक्षित क्षेत्रले ढाकेको छ पहाडमा जँहा निकुञ्ज, आरक्ष र संरक्षण छ त्यहीँ जंगल र पानी छ । यस्ता आयोजनाहरुको निर्माण गर्दा वा सडक निर्माण गर्दा बन्यजन्तुलाई असर पर्न गएको देखिन्छ । विकास गर्दा बन्यजन्तुको बासस्थानमा असर नपर्ने गरी गर्नु पर्दछ । विकास गर्दा वन्यजन्तुको वासस्थान ख्याल नगरी हाइटेन्सन लाइन राख्ने, वन्यजन्तु अनुकुल बाटो नहुने तथा विषादीकोे प्रयोग पनि वन्यजन्तु मृत्युका कारण हुन् ।
चितवन राष्ट्रिय निकुञ्जमा एक वर्षमा ८१ वटा वन्यजन्तुको मृत्यु भएको छ । जसमा ३३ वटा चित्तल, ८ वटा गैंडा, ७ वटा बँदेल, एउटा कछुवा, एउटा घर पालुवा हात्ति, ३ वटा जरायो , ७ वटा लगुना , ८ वटा रतुवा, ४ वटा अजिङ्गर, एउटा वाघ , एउटा चरी वाघ, एउटा काठे भालु, ४ वटा चितुवा, एउटा सर्प , एउटा हुडार , ४ वटा व्वाँसो, एउटा सुनगोहोरी र एउटा निर बिरालो रहेका छन् ।

चितवन राष्ट्रिय निकुञ्ज पछि दोस्रोमा सबैभन्दा धेरै बाँके राष्ट्रिय निकुञ्जका वन्यजन्तुको मृत्यु भएको छ । बाँके राष्ट्रिय निकुञ्जमा ३९ वटा वन्यजन्तु मरेका छन् । जसमध्ये २४ वटा चित्तल , ७ वटा बँदेल, २ वटा हुडार , एउटा चौका , २ वटा ब्वासो, एउटा रतुवा, एउटा सुन गोहोरी र एउटा निर बिरालो रहेका छन् । त्यस्तै, गौरीशंकर संरक्षण क्षेत्रमा एउटा रतुवा मरेका छन् । त्यसैगरी, गत आर्थिक बर्षमा कृष्णसार संरक्षण क्षेत्रमा ३१ वटा वन्यजन्तु मरेका छन् । जसमा ३० वटा कृष्णसार र एउटा अजिङ्गर छन् । त्यस्तै, बर्दिया राष्ट्रिय निकुञ्जमा ३ वटा बाघको मृत्यु भएको छ । सगरमाथा राष्ट्रिय निकुन्जमा २ वटा कस्तुरी मृग मरेका छन् । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा ७ वटा वन्यजन्तु मरेका छन् । जसमा ५ वटा चित्तल र २ वटा सारस रहेका छन् । शिवपुरी नागर्जुन राष्ट्रिय निकुञ्जमा ६ वटा वन्यजन्तु मरेका छन् । जसमध्ये २ वटा चित्तल, २ वटा रतुवा र २ वटा बँदेल रहेका छन् । पर्सा निकुन्जमा २ वटा अजिङ्गर र २ वटा चितलगरी ४ बन्यजन्तु मरेका छन् । लाङ्टाङ राष्ट्रिय निकुञ्जमा २ वटा चितुवा, अन्नपूर्ण संरक्षण क्षेत्रमा २ वटा वन्यजन्तु मरेका छन् । जसमध्ये एउटा ब्वाँसो र एउटा चितुवा रहेका छन् ।

नेपालमा अहिलेसम्म वन्यजन्तुको लागि एउटा पनि अस्पताल बनेको छैनन् । अस्पताल प्राथमिकतामा नपर्दा हरेक वर्ष धेरै वन्यजन्तु उपचार नपाएर मर्ने गरेका छन् । अस्पताल निर्माणमा भईरहेको ढिलाईको प्रत्यक्ष असर वन्यजन्तुमा परेको प्रष्ट देखिन्छ ।

 

सुजाता कार्की

प्रतिक्रिया दिनुहोस

web
analytics