बर्दियामा एक वर्षमा १७ हजार पर्यटक

फाेटाे : सागर गिरी


बर्दिया राष्ट्रिय निकुञ्जमा एक वर्षको अवधीमा १७ हजार पर्यटक भित्रिएका छन् । आर्थिक वर्ष २०७३/७४ मा बर्दिया राष्ट्रिय निकुञ्जमा १७ हजार ९ सय ५९ पर्यटक भित्रिएको निकुञ्जले जनाएको छ ।

निकुञ्जका अनुसार निकुञ्ज घुम्न आउने पर्यटकमा सबैभन्दा बढी नेपाली पर्यटक रहेका छन् । निकुञ्जका प्रमुख संरक्षण अधिकृत रमेश थापाका अनुसार घुम्न आउने नेपाली पर्यटक ११ हजार ६ सय ९ र विदेशी पर्यटक ६ हजार ३ सय ५० रहेको छन् । जसमधुये ५ सय २३ पर्यटक सार्क मुलुकबाट रहेको जानकारी उनले  दिए ।

निकुञ्जमा १७ हजार पर्यटक भित्रिएसँगै पर्यटनबाट ३ करोड १६ लाख ९७ हजार २ सय ६३ रुपैयाँ राजस्व संकलन भएको छ । बर्दियामा विशेषगरी छिमेकी मुलुक भारतहुँदै नेपाल भित्रिने पर्यटक बढी हुने गरेका छन् ।

निकुञ्जले निकुञ्ज प्रवेशमा विदेशी पर्यटकका लागी भ्याट रकम सहित १५ सय रुपैयाँ शुल्क तोकेको छ । त्यसमध्ये सार्क राष्ट्रहरुका लागी भ्याट रकम सहित ५ सय रुपैयाँ शुल्क रहेको छ भने अन्य नेपाली पर्यटकहरुका लागी भ्याट रकम सहित ५० रुपैयाँ शुल्क निर्धारण गरेको छ ।

पछिल्लो वर्षमा निकुञ्जमा पर्यटकको संख्यामा बृद्धी आएको  जानकारी थापाले  दिएका छन् । उनले भने, बर्दियामा बाघ, हात्ती लगायतका जिवजन्तु बढेको खबर सँगै जनावर हर्न आउनेको संख्या पनि बृद्धी भएको हो ।

तराईकै सबैभन्दा ठूलो संरक्षित क्षेत्रको रूपमा स्थापित निकुञ्जको प्राकृतिक सुन्दरता, बबई उपत्यकाको मनमोहक दृश्य, कर्णाली नदीमा र्याफ्टिङ गर्नुका साथै नजिकैबाट डल्फिन नियाल्न सकिने भएकोले यो निकुञ्जमा पर्यटक आकर्षित हुने गरेका छन् ।

बर्दिया निकुञ्जको क्षेत्रफल ९६८ वर्ग किलोमिटर छ । निकुञ्जमा पछिल्लो गणनाअनुसार ३५ वटा गैंडा, ८५ वटा बाघलगायत ४ सय ३८ पन्छी प्रजाति, २५ भन्दा बढी घस्रिने र १ सय २१ भन्दा बढी माछाका प्रजाति रहेका छन् ।

विगतका वर्षका तुलनामा आन्तरिक र विदेशी पर्यटकको संख्यामा वृद्धि हुँदै गएको निकुञ्जले जनाएकाे छ । विशेषगरी यो निकुञ्जमा सेप्टेम्बरदेखि अप्रिल महिनामा पर्यटकहरु बढी आउने गरेका छन् ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics