धान रोप्न ढिलो हुँदा उत्पादन घट्ने चिन्ता


सबैभन्दा कम सिराहामा २५ प्रतिशतमात्र रोपाइँ भएको छ । त्यस्तै धनकुटामा ३५ प्रतिशत, उदयपुर, मोरङ, सुनसरी, सप्तरी, रामेछापमा ४० प्रतिशतमात्र रोपाइँ भएको छ ।

यो वर्ष धान रोपाइँ ढिला भएकाले उत्पादनमा कमी आउने चिन्ता धानविज्ञहरुले गर्न थालेका छन् । पहाडी भु–भागमा धान रोप्ने समय अवधि सकिइसकेको छ । धान विज्ञ भोलामानसिंह बस्नेतले भने, ‘तराईका भूभागमा भने अझैकेही समय छ ।’ समयमै रोपाइँ नहुँदा उत्पादनमा कमी आउने उनले बताए । बस्नेतका अनुसार धानको फुल फुलेपछि जतिधेरै घामको प्रकाश पर्‍यो त्यति धेरै धान फल्छ । चिसो मौसम सुरु भएपछि धानको बालामा कम प्रकाश पर्ने र बाला नझुल्ने समस्या हुन्छ । यसले गर्दा धान उत्पादनमा कमी हुन जान्छ ।

राम्रो मनसुनी वर्षा नहुँदा अधिकांश ठाउँमा अहिलेसम्म पनि रोपाइँ हुन सकेको छैन । कृषि विकास मन्त्रालयको अनुसार अहिलेसम्म देशभर ६८ प्रतिशतमात्र रोपाइँ सम्पन्न भएको छ । मन्त्रालयका सह प्रवक्ता शंकर सापकोटाले भने, ‘अहिले धान रोप्ने क्रम चलिरहेकै छ ।’ मन्त्रालयले यो वर्ष ५४ लाख मेट्रिक टन धान फलाउने लक्ष्य राखेको छ । गत आर्थिक वर्ष सबैभन्दा बढी ५२ लाख मेट्रिक टन धान फलेको थियो ।

धानविज्ञ बस्नेतका अनुसार तराईका केही भूभागमा चैते धानको उत्पादन राम्रो भएकाले उत्पादनमा वृद्धि आएको हो । उनले भने, ‘चैते धान उत्पादन जति बढेपनि वर्षेधान को उत्पादन घट्यो भने धान उत्पादनमा वृद्धि आउन सक्दैन ।’

मन्त्रालयका अनुसार नेपालमा १५ लाख ५२ हजार हेक्टरमा धान रोपाइँ हुँदै आइरहेको छ । जसमध्ये अहिले सम्म १० लाख ६० हजार हेक्टरमा मात्र रोपाइँ सम्पन्न भएको छ । मन्त्रालयले दिएको जानकारी अनुसार मङ्गलवारसम्ममा तराई क्षेत्रमा ६४ प्रतिशतमात्र रोपाइँ सम्पन्न भएको छ । भने पहाडी भूभागमा ७९ प्रतिशत र उच्च पहाडी भूभागमा ७४ प्रतिशत रोपाइँ सकिएको छ ।

मन्त्रालयका अनुसार पूर्वाञ्चलका केही जिल्लामा निकै कम रोपाइँ भएको छ । सबैभन्दा कम सिराहामा २५ प्रतिशतमात्र रोपाइँ भएको छ । त्यस्तै धनकुटामा ३५ प्रतिशत, उदयपुर, मोरङ, सुनसरी, सप्तरी, रामेछापमा ४० प्रतिशतमात्र रोपाइँ भएको छ ।

सरकारले गत आर्थिक वर्षदेखि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत जोन, सुपरजोन बनाएर धान उत्पादन बढाउने योजना बनाएको छ । २४ ब्लक, ५ जोन र एक सुपरजोनमा धानबालीलाई प्रथामिकता दिएको छ । मनाङ र मुस्ताङबाहेक मुलुकका सबै जिल्लामा धान खेती हुँदै आइरहेको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics