मौसमविदको अनुमानभन्दा उल्टो मनसुनी वर्षा

फाइल फाेटाे


चार महिनाअघि भुटानको थिम्पुमा भेला भएका दक्षिण एसियाली मौसमविद्ले यो वर्ष नेपालका सुदूर र मध्य भेगका जिल्लामा औसतभन्दा कम वर्षा हुने अनुमान गरेका थिए । उनीहरूको अनुमान थियो, ‘पश्चिम र मध्यपश्चिममा भन्दा मध्य र पूर्वी भागमा बढी वर्षा हुनेछ ।’

याे खबर हामीले साेमबारकाे कान्तिपुर बाट लिएका हाैँ । कान्तिपुरमा अब्दुल्लाह मियाँ लेख्छन्, मनसुनका दुई महिनामा देशभर परेको वर्षाको तथ्यांक केलाउने हो भनेचाहिँ उनीहरूको अनुमान ठीक उल्टो देखिन्छ । पूर्वी भागका जिल्लामा भन्दा पश्चिम र मध्य भागकै जिल्लामा बढी वर्षा भएको छ ।

आगामी अगस्ट महिनामा पनि सुदूर र मध्यकै जिल्लामा बढी वर्षा हुने विश्लेषण जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद्हरूको छ । मनसुनका जुन र जुलाई महिनामा सुदूरपश्चिमको डडेलधुरामा औसतभन्दा झन्डै दोब्बर वर्षा भएको छ । औसत ३२९.२ मिलिमिटर वर्षा हुनुपर्नेमा जुलाईको १ दिन बाँकी छँदै आइतबारसम्म ६३६.८ मिमि वर्षा भएको महाशाखाकी मौसमविद् शान्ति कँडेलले बताइन् । दिपायलमा पनि त्यस्तै छ । औसत २३८.७ वर्षा हुनुपर्नेमा ३११.६ मिमि वर्षा भएको छ । धनगढीमा ५६५.९ वर्षा हुनुपर्नेमा ६३९.४ मिमि वर्षा भयो । सुर्खेतमा पनि औसतकै हाराहारी वर्षा भएको छ । औसत ४७१.९ वर्षा हुनुपर्नेमा ४३०.२ मिमि वर्षा भएको छ ।

जुम्ला, दाङ र पोखरामा पनि औसतभन्दा बढी वर्षा भएको छ । जुम्लामा १८०.२ हुनुपर्नेमा २७२, दाङमा ३८८.२ हुनुपर्नेमा ४३७ र पोखरा ९४०.३ हुनुपर्नेमा ९०९.५ मिमि वर्षा भएको छ । मौसमविद्हरूका अनुसार सरदर वर्षाको ९० देखि ११० प्रतिशतसम्मको वर्षालाई औसत वर्षा भनिन्छ । मध्य भागमा पर्ने सिमरामा भने जुलाईमा औसतभन्दा कम वर्षा भएको छ । त्यहाँ ५८०.२ वर्षा हुनुपर्नेमा २५३.१ मिमि वर्षा भएको कँडेलले बताइन् ।

जुलाई महिनामा मध्य भेगको काठमाडौंसहित पूर्वी भागका सबैजसो वर्षा मापन केन्द्रले औसतभन्दा कम वर्षा भएको देखाएको छ । विराटनगरमा औसत ५३०.८ वर्षा हुनुपर्नेमा जम्मा १८६.९ मिमि मात्र वर्षा भएको छ । ‘यो औसतको जम्मा ३५ प्रतिशत मात्र हो,’ मौसमविद् कँडेलले भनिन्, ‘यो मनसुनमा सबैभन्दा कम वर्षा भएको विराटनगर र ओखलढुंगामा हो ।’ ताप्लेजुङमा ४१६.३ हुनुपर्नेमा ३२५.३, ओखलढुंगा ७७२ हुनुपर्नेमा २५४.८, धनकुटामा २५६.२ हुनुपर्नेमा १८६.१, काठमाडौंमा ३६३.४ हुनुपर्नेमा २८५.४ मिमि वर्षा भएको छ ।

देशभरका २० वटा वर्षा मापन केन्द्रले मापन गरेको तथ्यांक हेर्ने हो भने जुन महिनामा पनि सुदूरपश्चिमी जिल्लामै बढी वर्षा भएको छ । जुन १२ मा मनसुन प्रवेश भएको थियो । दिपायलमा १६१.३ वर्षा हुनुपर्नेमा १८९, जुम्लामा ७४.१ हुनुपर्नेमा ९३.२, सिमरामा २८२ हुनुपर्नेमा २७९.५ मिमि वर्षा भएको छ । जुन महिनामा मध्यपश्चिमका जिल्लामा भने औसतभन्दा केही कम वर्षा भएको छ । नेपालगन्जमा १९९.४ वर्षा हुुनुपर्नेमा ९२.७, दाङमा २७० हुुनुपर्नेमा १६९ र सुर्खेतमा २५२.३ हुुनुपर्नेमा १८२ मिमि वर्षा भएको छ ।

मुलुकको पूर्वी भाग हुँदै मनसुन प्रवेश गरेको भए पनि जुन महिनामा पूर्वी पहाड र तराईका जिल्लामा औसत वर्षा पनि भएन । ताप्लेजुङमा औसत २९५ वर्षा हुनुपर्नेमा १४२.७, धनकुटामा १४७.३ हुुनुपर्नेमा ११५.३, विराटनगरमा ३०२.४ हुनुपर्नेमा २४७.९ र ओखलढुंगामा २९८.३ हुुनुपर्नेमा २१०.५ मिमि मात्र वर्षा भएको छ । नेपालमा सामान्यतया जुन १० देखि सेप्टेम्बर २३ सम्मको अवधिलाई मनसुनको अवधि भनिन्छ । त्यही अवधिलाई विश्लेषण गर्दै थिम्पुमा भेला भएका दक्षिण एसियाली मौसमविद्ले नेपाल, भारत, भुटानलगायतका मुलुकको मनसुनी वर्षाको अवस्था आकलन गरेका थिए ।

जल तथा मौसम विज्ञान विभागका महानिर्देशक डा. ऋषिराम शर्मा मनसुनको दुई महिना बाँकी भएकाले अझै पनि आकलन मिल्न सक्ने बताउँछन् । ‘अगस्ट र सेप्टेम्बरमा पर्ने वर्षाले पूर्वी क्षेत्रको आँकडालाई परिपूर्ति गर्न सक्छ,’ उनले भने । सन् २०१० देखि मनसुन सुरु हुनुभन्दा अघि नै ‘दक्षिण एसियाली जलवायु दृष्टिकोण मञ्च’ को बैठक हुने गरेको छ । उक्त बैठकले यो वर्ष मनसुनको अन्तिमतिर बढी वर्षा हुनेसमेत आकलन गरेकाले पूर्वी भागमा औसत वर्षा हुन सक्ने महानिर्देशक शर्माको अपेक्षा छ ।

काठमाडौं विश्वविद्यालयमा मौसम विज्ञानका अध्यापक मणिरत्न शाक्यले मनसुनका चार महिनामध्ये जुलाई सबैभन्दा बढी पानी पर्ने महिना भए पनि पूर्वमा निकै कम वर्षा हुँदा मौसमविदको अनुमान नमिल्ने सम्भावना बढेको टिप्पणी गरे । ‘मुख्य पानी पर्ने बेलैमा पानी नपर्दा मलाई पनि अचम्म लागेको छ,’ उनले भने, ‘तैपनि अगस्ट र सेप्टेम्बर बाँकी नै भएकाले अहिले नै आकलन मिलेन भन्नु अलि छिटो हुन्छ कि ?’

 

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics