तराईमा ८० प्रतिशत धानबाली डुब्याे !



वर्षाका कारण आएको बाढीले तराई-मधेसका २० जिल्लाको ८० प्रतिशत धानबाली डुबानमा परेको छ । खडेरीका कारण ढिलो गरी सुरु भएको रोपाइँ सम्पन्न नहुँदै आएको भेलले धानबाली डुबाएको कृषि विकास मन्त्रालयले जनाएको छ ।

अन्नभण्डार मानिने तराईमा धानबाली डुबेपछि आइतबार कृषि विकास मन्त्री रामकृष्ण यादवको अध्यक्षतामा आकस्मिक बैठक बसेको थियो ।

यसअघि तराई-मधेसको झापामा ८२, मोरङमा ६५, सुनसरीमा ७८, सप्तरीमा ७५, सिराहा, धनुषामा ५०, सर्लाहीमा ५०, महोत्तरीमा ४५, बारा र पर्सामा ९९/९९, रौतहट र चितवनमा ९०/९०, कपिलवस्तु र बाँकेमा ८५/८५, बर्दियामा ९१ र दाङमा ७५ प्रतिशत रोपाइँ सम्पन्न भएको थियो ।

कृषि विकास मन्त्रालयले दिएको जानकारी अनुसार पर्सामा २० हजार हेक्टर, बारामा ५५ हजार हेक्टर, धनुषामा २१ हजार हेक्टर, सर्लाहीमा दुई हजार सात सय हेक्टर, रौतहटमा २८ हजार पाँच सय हेक्टर, महोत्तरीमा २० हजार हेक्टरको धानबाली डुबेको छ । यस बाहेक अन्य जिल्लहरुमा पनि धान, मकै बाली डुबानमा परेको छ ।

यसपटक खडेरीका कारण तराइका जिल्लाहरुमा ढिलो रोपाइँ सुरु भएको थियो। रोपाइँ सम्पन्न नहुँदै अविरल बर्षाका कारण आएको बाढीले धानवाली, तरकारी वाली डुबाएको हाे ।

मन्त्रालयले बाढीका कारण किसानले व्यहोरेको क्षतिको तथ्यांक संकलन गर्न, किसानलाई तत्काल राहत उपलब्ध गराउन नौ सदस्यीय समिति गठन गरेको छ । मन्त्रालयले पाँचै विकास क्षेत्रका क्षेत्रीय कृषि निर्देशकको नेतृत्वमा टोली गठन गरेको छ । टोलीलाई तीन दिनभित्र बाढी र पहिरोका कारण क्षति भएको खाद्यान्न, माछा, तरकारी, फलफूल र भौतिक पूर्वाधारको यकिन विवरण संकलन गरी मन्त्रालयमा बुझाउन निर्देशन दिइएको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics