बाढीसंगै भारत पुगेको बच्चा गैंडा नेपाल फर्काइदै

बाढीले बगाएर भारत पुर्याएको चारवटा एकसिंगे गैंडामध्ये बच्चा गैंडा पनि फेला परेको छ ।


भारतको बालमिकीनगरमा भेटिएको सो भाले बच्चालाई मंगलबार दिउसो नियन्त्रणमा लिइएको हो । मंगलबार नै नेपाल ल्याउने तयारी भइरहेको छ ।
चितवन राष्ट्रिय निकुञ्जका अधिकृत नुरेन्द्र अर्यालले मंगलबार दिउसो नेचर खबरसंग भने, ' भारत पुगेको अर्को बच्चा गैंडा पनि डार्ट गरिसकिएको छ । अब केही बेरमै नेपाल आइपुग्छ ।'


बच्चा गैंडा यसअघि नै भेटिएपनि धेरै कुदेका कारण चितवनबाट गएको प्राविधिक टोलीले समात्न सकेको थिएन ।


यसअघि नै  तीनवटा गैंडा उद्धार गरेर ल्याइसकिएको छ । एउटा भारतको बगाहा र दुईवटा बालमिकीनगरबाट नेपाल फर्काइएको हो । तीनवटालाई बेहोस बनाएर ट्रक राखेर नेपाल ल्याइएको हो ।


उद्धारका लागि वरिष्ठ पशुचिकित्सक डा. कमल गैरेको नेतृ ४० जना प्राविधिक र कर्मचारी खटिएका छन् ।


बाढीले बगाएर गैंडालाई भारत नै पुर्याएको घटना अधिल्ला वर्षहरुमा थिएन । बाढीले बगाएर साउन ३० गते एउटा गैंडा मृत अवस्थामा भेटिएको थियो । चितवन राष्ट्रिय निकुञ्जमा गत आर्थिक वर्षमा विभिन्न कारणबाट २५ वटा गैंडा मरेका थिए ।


 

सुजाता कार्की

प्रतिक्रिया दिनुहोस

web
analytics