तीन महिनाकाे ‘केटाे’सहित ६ गैंडाकाे उद्धार



चितवन राष्ट्रिय निकुञ्जबाट बाढीले बगाएको तीन महिनाको बच्चा गैंडा (केटो) को शनिवार उद्धार गरिएको छ । बाढीमा बग्दै त्रिवेणी पुगेको गैंडा उद्धार गरी राष्ट्रिय प्रकृति संरक्षण कोषमा राखिएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले जानकारी दिए ।

केटो सानो भएकाले अहिले नै निकुञ्जमा छोड्न नमिल्ने अर्यालले जानकारी दिए । उनले भने, 'केही समय कोषमा नै राखेर पालनपोषण गर्नेछौं ।' निकुञ्ज र कोषको प्राविधिक सम्मिलित टोलीले गैंडाको उद्धार गरेको हो। शनिवार नै बाढीमा पुग्दै भारत पुगेको अर्को वयस्क पोथि गैंडा निकुञ्जमा छोडिएको थियो ।

धमाधम गैंडाको उद्धार गरिदै


गत साउनको अन्तिम साता आएको बाढीमा बग्दै विभिन्न ठाउँमा पुगेका गैंडाको धमाधम उद्धार गरिएको छ । शनिवारसम्ममा बाढीले बगेर विभिन्न ठाउँमा पुगेका ६ वटा गैंडाको उद्धार गरिएको चितवन राष्ट्रिय निकुञ्जको कार्यालयले जनाएको छ ।

बाढीले गैंडा बगाएपछि निकुञ्ज र कोषको प्राविधिक सम्मिलित टोली धमाधम गैंडाको खोजीमा लागिरहेको छ । निकुञ्जका सूचना अधिकारी अर्यालका अनुसार अझै अन्य गैंडाहरु भारत र नेपालका अन्य भूभागमा पुगेको आशंका छ । उनले भने, 'हाम्रो टोलीले खोजीकार्य जारी राखेको छ ।'

गैंडाको उद्धारका लागि चितवन निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्राविधिकसहित ५० जनाको टोली परिचालन भएका छन् ।

यस अघि भारत र नेपालका विभिन्न ठाउँबाट गैंडाको उद्धार गरी निकुञ्जमा छोडिएको थियो । बाढीले बगाएर गैंडालाई भारत नै पुर्याएको घटना अघिल्ला वर्षहरूमा थिएन । बाढीले बगाएर साउन ३० गते एउटा गैंडा मृत अवस्थामा भेटिएको थियो ।

 

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics