बर्दियामा देखिए दुर्लभ पाटेबाघ



तस्बिर : सागर गिरी

बर्दिया राष्ट्रिय निकुञ्जमा दुर्लभ पाटे बाघ देखिन थालेका छन् । पाटेबाघ देखिन थालेसँगै बाघलाई नजिकैबाट हेर्न चाहने पर्यटकहरुको संख्या बढ्दै गएको निकुञ्ज कार्यालयले जनाएको छ ।

निकुञ्ज क्षेत्रमा वन र घाँसे मैदान निकै कम भएकाले सहज रूपमै बाघ देखिन थालेका हुन् । बर्दिया निकुञ्जका प्रमुख संरक्षण अधिकृत रमेश थापा भन्छन् 'निकुञ्जको तटीय क्षेत्रमा बाघका लागि पानी, आहारा र बासस्थानको समिश्रण छ, त्यसैले पनि यहाँ बाघ सधैं हुने गरेको छ ।'

बर्दिया निकुञ्जको ९६८ वर्ग किलोमिटर क्षेत्र मध्य बबई उपत्यका, तीनकुने, लालमाटे, धनेशताल, बाल्कुने, भेल्लर ट्री, किङफिसरलगायत क्षेत्रमा बाघ पाइन्छ।

नेपालको रष्ट्रिय तथयांक अनुसार सबैभन्दा बढी बाघ चितवन राष्ट्रिय निकुञ्जमा छ। तथ्यांक अनुसार नेपालमा १९८ बाघ रहेका छन् । जसमा १२० बाघ चितवन निकुञ्जमा छ। बर्दियामा ५०, बाँकेमा चार, पर्सामा सात र शुक्लाफाँटामा १७ वटा बाघ रहेका छन् । चितवनमा भन्दा बर्दियामा बाघ सहज रूपमा अवलोकन गर्न सकिन्छ।

पाटेबाघ विश्वमा दुई हजार ५०० को हाराहारीमा रहेको तथ्याङ्क छ । नेपाल, भारत, भुटान र बंगलादेशमा यो बाघ पाइन्छ ।

सरकारले आगामी मंसिर, पुसबाट राष्ट्रिय रूपमा बाघको गणना गर्न लागेको छ । सन् २०२२ सम्म बाघको संख्या २ सय ५० भन्दा बढी पुर्‍याउने लक्ष्यसमेत सरकारको रहेको छ । यस वर्ष ‘स्वस्थ पर्यावरणका लागि बाघको संरक्षण’ भन्ने नारासहित बाघ दिवससमेत मनाइएको थियो ।

बर्दिया निकुञ्जका प्रमुख संरक्षण अधिकृत थापाका अनुसार बर्दियामा हरेक वर्ष बाघ र आहारा प्रजातिको अध्ययन अनुसन्धान गर्ने गरेको र समुदायसँग मिलेर संरक्षणका काम गर्ने गरिएको छ ।

 

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics