डीडीसीको याक चीजलाई अर्गानिक सर्टिफिकेसन

अर्गानिक सर्टिफिकेट हस्तान्तरण गर्दै पशु विकास मन्त्रालयका सचिव डा.विश्वनाथ ओली ।


दुग्ध विकास संस्थान (डीडीसी)ले उत्पादन गर्दैआएको याक चीजले अर्गानिक सर्टिफिकेसन(प्रमाणपत्र) प्राप्त गरेको छ । डीडीसीले राजधानीमा सोमबार एक कार्यक्रमको आयोजना गरी अर्गानिक सर्टिफिकेसन प्राप्त गरेको घोषणा गरेको छ ।अर्गानिक सर्टिफकेशन नेपाल (ओसिएन) का बजार प्रवद्र्धन निर्देशक उमेश लामाले डीडीसीका प्रवन्ध निर्देशक गंगा तिम्लिसिनालाई अर्गानिक सर्टिफिकेट उपलब्ध गराएका थिए । डीडीसीका प्रवन्ध निर्देशक तिम्लिसिनाले याकको दूधबाट चीज उत्पादन गर्न थालेको ६५ बर्षपछि अर्गानिक सर्टिफिकेसन प्राप्त गरेको जानकारी दिए ।निश्चित तापक्रममा तताएर सेलाएको याकको दूधमा जोरन वा रेनेट मिश्रण गरी फटाएर तयार पारिएको डल्लो पौष्टिक युक्त खाद्य पदार्थलाई चीज भनिन्छ । चीजको उत्पति युरोपियन र अरेवियन मुलुकमा भएको मानिन्छ ।

डीडीसीका उपमहानिर्देशक डा. ईश्वरीप्रसाद अधिकारीले निकट भविष्यमै याक चीजको नयाँ मूल्य कायम गरी बिक्री वितरण गरिने जानकारी दिए । डीडीसीले अहिले प्रति किलो एक हजार चार सय रुपैयाँमा बिक्री गर्दैआएको छ । ‘अर्गानिक सर्टिफिकेसन पाइसकेपछि अबको यसको मूल्य केही बढ्न सक्छ, बजारको मागको आधारमा निकट समयमै नयाँ मूल्य कायम गर्छौ,’ अधिकारीले भने ।
अधिकारीका अनुसार २००९ सालमा पहिलो पटक लाङटाङको क्यान्जिङ गुम्बामा संसारकै उच्च स्थान (तीन हजार आठ सय मिटर) मा चीजको कारखाना स्थापना भएको थियो ।



ओसिएनका अनुसार उच्च हिमाली खर्कमा पाइने विभिन्न प्रकारका जडिबुटी र घाँसको सेवन गरेर याकले उत्पादन गर्ने बिषादीरहित दूधबाट तयार हुने भएकाले यो चीज पूर्ण रुपमा अर्गानिक मानिन्छ । ‘पौष्टिक तथा औषधीय गुणसमेत उच्च परिमाणमा भेटिएकाले स्वास्थ्यका दृष्टिकोणले निक्कै लाभदायक मानिएको छ,’ ओसिएनका बजार प्रवद्र्धन निर्देशक उमेश लामाले भने,‘अर्गानिक सर्टिफिकेट पाइसकेपछि अहिलेलाई आन्तरिक बजारीकरण सजिलो भएपनि अन्तर्राष्ट्रिय स्तरमा बजारीकरण गर्नका लागि अन्तर्राष्ट्रिय स्तरको अर्गानिक सर्टिफिकेट लिन आवश्यक पर्छ ।’

पशुपंछी मन्त्रालयका सचिव डा. विश्वनाथ ओलीले अर्गानिक सर्टिफिकेट हस्तान्तरण गरेका थिए ।

>डीडीसीकाअनुसार २०४२ सालसम्ममा वार्षिक एक लाख किलो उत्पादन हुने याक चीजको उत्पादन क्षमता झरेर अहिले ५५ हजार किलोमा पुगेको छ । २००७ सालपछि विश्व खाद्य संगठनको सक्रियतामा भुगर्भविद डा. टोनी हेगनको नेतृत्वमा याक चीजको उत्पादन, विकास र बजारको बिषयमा अध्ययन भएको थियो ।


हेगनकै टोलीले रसुवाको लाङटाङ उपत्यकामा पाइने चौरी गाईको दूधबाट चीज उत्पादन गर्न सकिने बिषयमा प्रतिवेदन दिएको थियो ।विश्व खाद्य संगठनको आर्थिक र स्वीस सरकारको प्राविधिक सहयोगमा २००९ सालमा लाङटाङको क्याङजिङ गुम्बामा संसारकै उच्च स्थानमा पहिलो चीज कारखाना डीडीसीले स्थापना गरेको थियो । यहाँ उत्पादन हुने चीज तत्कालिन समयमा कोलकातासम्म निर्यात हुन्थ्यो।२०३५ सम्ममा सिन्धुपाल्चोक, दोलखा, रामेछाप र सोलुखुम्बुमा थप १० वटा याक चीज कारखाना स्थापना भएको थियो । यस्ता कारखानाबाट वार्षिक एक लाख किलोको हाराहारीमा चीज उत्पादन हुन्थ्यो । २०४० मा याक चीजले बजारको माग धान्न नसकेपछि पूर्वको ईलाम र पाँचथरमा पनि सात वटा गाईको दूधबाट चीज उत्पादन गर्न कञ्चन चीज उत्पादन कारखानाको स्थापना गरिएको थियो । डीडीसीले अहिले याक, कञ्चन, मोजरेला, प्रोसेस्ड चीज, चीज स्प्रेड र पनिरको बिक्री बितरण गर्दैआएको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics