सम्पदा पुनर्निर्माणलाई तिव्रता दिइने



राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले बिनाशकारी भूकम्पले क्षति पुरयाएका पुरातात्विक महत्वका सम्पदाको पुनर्निर्माणलाई तिव्रता दिन सरोकारवाला निकायलाई निर्देशन दिएको छ ।

सम्पदाहरुको पुनर्निर्माण सम्बन्धी हालसम्म भएका कार्यहरुको प्रगति सम्बन्धमा शुक्रबार बसेको सर्वपक्षिय छलफलमा प्राधिकरणले यस्तो निर्देशन दिएको हो । छलफल ललितपुरको पाटन दरवार स्क्वायरमा बसेको थियो ।

बैठकको नेतृत्व गरेका प्राधिकरणका सहसचिव प्रकाश थापाले पुरातात्विक महत्वका सम्पदा पुनर्निर्माणका क्रममा आइपर्ने समस्यालाई तत्काल समाधान गर्न प्राधिकरण तयार रहेको भन्दै पुनर्निर्माणको गतिलाई तिव्रता दिन सरोकारवाला निकायका प्रतिनिधीहरुलाई आग्रह गरेका थिए ।

थापाले भने, “जस्तो सुकै समस्या आएपनि प्राधिकरणले सवै निकायसँग समन्वय गरेर समाधानको उपाय खोज्छ, तर कुनैपनि बहानामा सम्पदा पुनर्निर्माणको काममा ढिलाई हुनुहुन्न् । ”

बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालय अन्र्तगतको केन्द्रीय आयोजना कार्यान्वयन इकाईका प्रमुख डण्डुराज घिमिरे, पुरातत्व विभागका सम्पत घिमिरे, गुठी संस्थान केन्द्रीय कार्यालयका सालिकराम सुवेदी, पशुपति क्षेत्र बिकास कोषका सुबास सापकोटा, काठमाण्डौ उपत्यका संरक्षण कोषका रोहित रञ्जितकार, ललितपुर महानगरपालिकाकी हिराशोभा शाक्य लगायत छलफलमा सहभागी भएका थिए ।

बैठकमा सरोकारवाला निकायका प्रतिनिधीहरुले सम्पदा पुनर्निर्माणका क्रममा कतिपय स्थानमा काठको अभाव भएको, कालिगढको समस्या र केही नीतिगत अफ्ठेरा रहेको भन्दै सहजीकरण गरिदिन प्राधिकरण, पर्यटन मन्त्रालय अन्र्तगतको केन्द्रीय आयोजना कार्यान्वयन इकाई र पुरातत्व विभागको ध्यानाकर्षण गराएका थिए ।


नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics