छ महिनामा १७ गैंडाको मृत्यु



साउन देखि पुसको पहिलो साता भित्र १७ गैंडा मरेका छन् । गैडाको मृत्यु हुनु पछाडी केहीको कालगति, केही बिरामी भएर र केही भालेसँगको सहवासको क्रममा मृत्यु भएको भेटिएको छ ।

यसमध्ये चितवन राष्ट्रिय निकुञ्जमा १६ र बर्दिया राष्ट्रिय निकुञ्जमा एकवटा गैडाको मृत्यु भएको हो ।चितवन राष्ट्रिय निकुञ्जको पछिल्लो समयको गैडाको अवस्था सम्बन्धी प्रतिवेदन आउन बाँकी नै छ ।

मंसिर २२ गते बर्दिया राष्ट्रिय निकुञ्जमा ७ हप्ताको एउटा बच्चा गैंडा (केटो) निमुनियाबाट प्रभावित भएर मृत्यु भएको थियो ।यो आर्थिक वर्षमा बर्दिया राष्ट्रिय निकुञ्जमा एउटा मात्र गैंडाको मरेको निकुञ्जको सहायक संरक्षण अधिकृत बिनोद दाहालले बताए ।

यही वर्षमा बाढीले पनि चितवनको गैंडाको क्षति गरेको छ ।चितवन राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षमा पुस १ गतेसम्म १५ वटा गैंडा मरेका छन् । जसमध्ये ६ वटा पोथी, ८ वटा भाले र एउटा पहिचान नखुलेको रहेका छन् । एक भाले गैडा भने बुढो भएर पुस ३ गते मरेका थिए । मंगलबार उक्त बुढो गैडाको शव परीक्षण गरेपनि विस्तृत जानकारी आउन बाँकी रहेको निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले जानकारी दिए ।

सूचना अधिकारी अर्यालका अनुसार बाढीका कारण ४ वटा, बच्चा पाउन नसकेर २ वटा पोथी र भाले गैडाले पोथी गैडासँग सहवास गर्ने क्रममा दुई वटा पोथीको ज्यान गएको छ । दुई वटा भने कालगतीले मरेका थिए ।

चितवन निकुञ्जमा गत साउन महिनामा ४ वटा, भदौमा ५ वटा, असोजमा १ वटा, कार्तिकमा २ वटा, मंसिरमा २ वटा र पुसमा २ वटा गैडा मरेका छन् । गत् आर्थिक बर्षमा यस निकुञ्जमा सबैभन्दा बढी संख्यामा गैंडा मरेका थिए । गत आर्थिक वर्ष २०७३/७४मा २५ वटा गैंडा मरेका थिए । जसमध्ये २१ वटा प्राकृतिक कारण, दुई वटा करेन्ट लागेर, दुई वटाको चोरी सिकारीबाट मृत्यु भएको थियो । आर्थिक वर्ष २०७२।७३ मा भने १५ वटा गैैंडा मरेका थिए ।

त्यसैगरी शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्जमा भने यो आर्थिक वर्षमा गैंडाको मृत्यु नभएको निकुञ्जले जनाएको छ ।

बेलायतको ‘ग्लोबल इकोलोजी एन्ड कन्जर्भेसन’ जर्नलमा हालै प्रकाशित लेखमा चितवन राष्ट्रिय निकुञ्जका गैंडा चोरीसिकारीभन्दा पनि बासस्थान विनाशका कारण बढी जोखिममा परेको एउटा अध्ययनले देखाएको छ । गैंडाविज्ञ डा. शान्तराज ज्ञवाली, नरेश सुवेदी, अनुसन्धानकर्ता बाबुराम लामिछाने, जुओलोजिकल सोसाइटी अफ लन्डनका अफ्रिकी गैंडाविज्ञ राजन अमिन र भारतीय वन्यजन्तु संस्थानका वैज्ञानिक वाइभी झाले संयुक्त रूपमा प्रकाशन गरेका उक्त लेखमा चोरीसिकारीभन्दा पनि बासस्थान विनाश चुनौतीका रूपमा देखिएको उल्लेख छ । अनुसन्धानकर्ताहरूको सो समूहको सन् २००९ देखि २०१५ सम्मको अध्ययनमा उक्त लेख आधारित छ । अनुसन्धानकर्ता नरेश सुवेदीले वनमाराजस्ता झारपात फैलेर गैंडाको बासस्थानमा धेरै असर पुरयाएको अध्ययनको क्रममा भेटिएको बताए ।

गैंडाको पञ्जामा बिजोर औंला हुने समुहका पाँच वर्तमान प्रजातिहरू मध्येको एक हो । यिनका प्रजातिहरूमध्ये दुई अफ्रिकामा पाइन्छन् । गैंडा एक शाकाहारी जनावर हो । नेपालमा पछिल्लो तथ्याक अनुसार ६ सय ४५ गैंडा रहेको छ ।

सुजाता कार्की

प्रतिक्रिया दिनुहोस

web
analytics