रानीबारी चक्रपथभित्रको एक्लो सामुदायिक वन



काठमाडौँ महानगरपालिका–३ लाजिम्पाट र सामाखुसी छेउमा रहेको रानीबारी चक्रपथमा एक्लो सामुदायिक वन बनेको छ ।

परम्परादेखि नै राजाहरुको दिवाली हुने वनका रुपमा रहेको रानीबारी विसं २०५७ पुस १० गते जिल्ला वन कार्यालय काठमाडौँमा दर्ता भई सामुदायिक वनका रुपमा व्यवस्थित र संरक्षण हुँदै आएको हो ।

पहिले चक्रपथभित्र म्हैपी सामुदायिक वन र रानीबारी सामुदायिक गरी दुई वन भए पनि म्हैपी वन धार्मिक वनका रुपमा रुपान्तरण भएपछि रानीबारी सामुदायिक वन एक्लो सामुदायिक वनेको हो ।

काठमाडौँ जिल्लामा १४४ सामुदायिक वन रहेकामा चक्रपथभित्र भने एक मात्र सामुदायिक वन रहेको छ ।

रानीबारी सामुदायिक वन नमूना वनका रुपमा विकास हुँदै गएको छ । ३९ घरधुरीले उक्त वनकोसंरक्षण गर्दै आएका छन् ।

रानीबारी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष सन्तोषविक्रम शाह राजधानीको मध्यभागमा रहेको वनलाई संरक्षण गरी नमूना वनका रुपमा विकास गर्न विभिन्न प्रजातिका बोटबिरुवा रोपिएको बताउँछन् । “यो वनमा पन्छी तथा जैविक विविधता संरक्षण सिकाइ केन्द्र भवन बनाएकाले उनीहरुको वासस्थानका लागि कपुर, जामुन, बर्रोलगायतका बोटबिरुवा रोपेका छौँ”, उनले भने ।

यस वनमा हिउँदमा दैनिक ८०० देखि एक हजार र जाडामा ३०० देखि ५०० व्यक्ति प्रातःभ्रमणका लागि आउने गरेका छन् । वनको बीच भागमा रानीदेवी माताको मन्दिर भएकाले मानिसहरु देवीको दर्शनका लागि समेत जाने गरेका छन् ।

उक्त वनमा उपभोक्ता समिति र नेपाल पक्षी संरक्षण संघको सहकार्यमा जैविक विविधता संरक्षण सिकाइ केन्द्र स्थापना गरिएको छ । केन्द्रको स्थापनासँगै स्वदेशी तथा विदेशी चरा अध्ययन गर्न सजिलो भएको छ । रानीबारी वनमा हाल ६७ प्रजातिका चरा भेटिएको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics