सिमसार संरक्षणको दायित्व

A+ A-

तस्बिर : अनिल थापा

हाम्रो बुझाइ जलस्रोत भन्ने बित्तिकै उत्तरबाट दक्षिणतिर बग्ने ठूलठूला कोशी, गण्डकी, कर्णाली र महाकाली नदी, ती नदीहरूबाट उत्पादन हुनसक्ने जलविद्युत, सिंचाइ, खानेपानी र जल यातायातबारे सीमित छ ।

साना तालतलैया, पोखरी, ढाब र सेपिलो पानी पाइने क्षेत्रललाई समग्रमा सिमसार भनेर चिनिन्छ । तिनका बारेमा हाम्रो ध्यान जानसकेको छैन । सिमसार क्षेत्र पारिस्थितिकीय र आर्थिक दृष्टिकोणले मात्र होइन, भौतिक, सामाजिक, सांस्कृतिक र स्वास्थ्यको दृष्टिकोणबाट पनि महत्त्वपूर्ण क्षेत्र हुन् । पृथ्वीको सतह र पानीमा भएका दूषित र फोहोर पदार्थ शोसेर लिने र पानीलाई सफा राख्न सिमसार क्षेत्रहरूले महत्त्वपूर्ण भूमिका खेल्ने भएको हुँदा सिमसार क्षेत्रलाई पृथ्वीको मृगौला पनि भनिन्छ । सिमसार क्षेत्रहरू वनस्पति, वन्यजन्तु र समग्र जैविक विविधताका संगमस्थल पनि हुन् । सिमसार क्षेत्र जैविक विविधताका दृष्टिले धनी र संवेदनशील हुन्छन् । यिनको संरक्षण गर्नु मानव जातिको दायित्व हो । सिमसारको सांस्कृतिक र आर्थिक महत्त्व पनि छ ।

सिमसार क्षेत्रको पर्यटकीय महत्त्व पनि छ । पोखराका सिमसार क्षेत्रको कारणले हामीले धेरै पर्यटक भित्र्याउन सफल भएका छौं । सिमसार विना पूर्ण मानव सभ्याताको कल्पना गर्नै सक्दैनौं । संसारभर सहरी क्षेत्रको विकास र समृद्धि सिमसारकै कारण सम्भव भएको हो । संविधानले सिमसार क्षेत्रको संरक्षण, सम्बद्र्धन र व्यवस्थापनलाई महत्त्व दिएको छ । सिमसारसँंग रामसर महासन्धि पनि जोडिएको छ । यो महासन्धिको सुरुवात सन् १९७१ मा इरानको रामसर भन्ने सिमसार क्षेत्रबाट भएको हो । संसारभरका सरकार प्रमुख र तिनका प्रतिनिधि तथा चरा र जीव वैज्ञानिक रामसार सहरमा जम्मा भएर सिमसार क्षेत्रको संरक्षण र व्यवस्थापन तथा सिमसार क्षेत्रबाट उत्पादन हुने वस्तु र सेवाको बुद्धिमतापूर्वक उपयोग गर्ने गहनतम उद्देश्यले रामसार महासन्धि गरेका थिए । सन् १९७५ देखि यो महासन्धि कार्यान्वयनमा आएको हो । यसमा १ सय ६९ राष्ट्र आबद्ध छन् । २ हजार २ सय ९३ सिमसार क्षेत्र सूचीकृत छन् भने ती सिमसार क्षेत्रले करिब २ सय ३० मिलियन हेक्टर क्षेत्रफल ओगटेको छ ।

नेपाल सन् १९८७ डिसेम्बर १७ मा यस महासन्धिको पक्षराष्ट्र भएको हो । हाल नेपालका १० वटा रामसार क्षेत्रहरू यसमा सूचीकृत छन् । यस वर्ष रामसार सचिवालयले ‘दिगो सहरी भविष्यको लागि सिमसार’ भन्ने नारा तय गरेको छ । जलवायु परिवर्तनका असर र यसको रोकथाम अर्थात् अनुकूलन र समयानुकूलको बारेमा व्यापक छलफल र बहस स्थानीय क्षेत्रमा भन्दा केन्द्रमा केन्द्रित भएकाले यस्ता कार्यक्रमको सकारात्मक पक्ष देख्न पाइएको छैन । तथापि जनसंख्या वृद्धिसँंगै हुने बसाइँ–सराइ र सहरीकरण बढ्दै जाँदा सिमसार क्षेत्रहरूको अतिक्रमण हेर्न पोखराको फेवाताल र काठमाडौंको वागमतीको किनार हेर्दा प्रस्ट हुन्छ । योजनाबद्ध विकास र इन्जिनियरिङ बिना पहाडी क्षेत्रमा विगतमा जिविस र गाविसले मोटरबाटो खन्दा वर्षाको भेलसँंगै ढुङ्गा–माटो बगेर धेरै तालतलैया पुरिए । वर्षा सिजनमा बाढी–पहिरोले धनजनको क्षतिसमेत गराएको छ । सिमसार क्षेत्रहरू साझा प्राकृतिक र साझा विषयवस्तु हुन् । यिनको अन्तरसम्बन्ध विभिन्न क्षेत्रसंँग छ । सिमसार क्षेत्रले जलवायु परिवर्तनको असर अनुकूलन गर्न पनि भूमिका खेलेको हुन्छ । तालतलैया संरक्षण र सम्बद्र्धन गर्न स्थानीय सरकारलाई जिम्मेवारी दिइएकाले आउँदा दिनमा सिमसार क्षेत्रको सकारात्मक नतिजा आशा गर्न सकिन्छ ।

अध्ययन अनुसार पृथ्वीको सतहमा भएका सिमसार क्षेत्रले वन क्षेत्रले भन्दा दुई गुणा बढी कार्बन सञ्चय गरिराखेको हुन्छ । नेपालको हिमाली क्षेत्रमा रहेका पिटल्यान्डले प्रशस्त कार्बन सञ्चय गरेको अनुमान गरिन्छ । त्यस्तै गरी नदीको किनारलाई माथि उठ्न नदिने र एउटा प्राकृतिक रक्षाकवचको काम गरेर बाढी–पहिरो, अतिवृष्टि, अनावृष्टि रोक्न पनि सिमसार क्षेत्रको भूमिका छ । यसले खडेरी घटाउन, तापक्रमलाई बढ्न नदिन र जीवहरूको लागि जीवनदाताको काम गर्छन् । संविधानले तीन तहमा अलग–अलग सरकारको परिकल्पना गरेको छ । संविधानको अनुसूची (५) मा सिमसारलाई संघीय सरकारको एकल सूचीमा राखेको भए पनि सिमसार क्षेत्रले उत्पादन गर्ने वस्तु र सेवा समन्यायिक तरिकाले बाँडफाँड गर्नुपर्ने हुन्छ । कतिपय सिमसार क्षेत्र दुई वा दुईभन्दा बढी गाउँपालिका, नगरपालिका र कतिपय अवस्थामा दुई प्रदेशमा फैलिएर रहेका छन् ।

रामसार सूचीमा सूचीकृत भएका, दुई वा दुईभन्दा बढी प्रदेशमा फैलिएका र अन्तर्राष्ट्रिय सिमानासँंग जोडिएका सिमसार क्षेत्रलाई संघीय सरकारले समन्वय गर्नुपर्ने देखिन्छ भने दुई वा दुईभन्दा बढी गाउँपालिका वा नगरपालिकामा फैलिएका सिमसार क्षेत्रलाई प्रदेश सरकारले समन्वय गर्नुपर्ने हुन्छ । त्यसैगरी एउटा गाउँपालिका वा नगरपालिकाको सिमानाभित्र फैलिएका सिमसार क्षेत्रहरूलाई सम्बन्धित गाउँपालिका वा नगरपालिकाले संरक्षण, सम्बद्र्धन र व्यवस्थापन गर्नुपर्ने हुन्छ । सिमसार क्षेत्रको समन्वयको जिम्मेवारी जुनसुकै तहको सरकारले गरे पनि सिमसार क्षेत्रबाट उत्पादन हुने वस्तु र सेवामाथि स्थानीय समुदायको समन्यायिक पहुँच र बुद्धिमता उपयोग सुनिश्चित हुनुपर्छ । सिमसार क्षेत्रबाट प्राप्त लाभहरू सुनिश्चित गर्दैगर्दा लोप भएका र लोप हुने अवस्थामा रहेका सिमसार क्षेत्रहरूलाई पुन: पुरानै प्राकृतिक अवस्थामा फर्काउन खाली जग्गामा वृक्षरोपण र प्राकृतिक पुनर्उत्थानका कार्य गर्नु पनि उत्तिकै जरुरी छ । त्यस्ता कार्यका लागि स्थानीय समुदाय त्यसमा पनि मुख्यगरी युवा पिढीको सहयोग लिनुपर्ने हुन्छ ।

दोस्रो, जनसंख्या वृद्धि, बसाइँ–सराइ र सहरीकरणका कारणले सिमसार क्षेत्रहरू दोहोरो चापमा परेका छन् । भूमिगत पानी बढी प्रयोग गर्नाले पानीको सतह तल गएको अवस्था छ । घर, भवन, बाटो र बस्ती बढ्नाले आकाशको पानी जमिनमुनि जानुपर्नेमा सतहमा भेल बग्ने हुँदा बाढी–पहिरोको समस्या बढ्दै गएको छ । आफ्नो टोल र सहरलाई सफा, हराभरा र समृद्ध बनाउने हो भने घर वरपर र टोलछिमेकमा रहेका स–साना किन नहुन्, तालतलैया, पोखरी, कुवा, कुलो, पैनी, खोला र खोल्सी संरक्षण गर्नुपर्ने हुन्छ । सहर क्षेत्रको पूर्वाधार विकास गर्दा पनि पूर्वाधारले पानीको स्रोत र यसको दिगोपनमा नकारात्मक असर नपुराओस् भनी पर्याप्त ध्यान दिने र सानोतिनो असर परी नै हाल्यो भने पनि सिमसार क्षेत्रलाई पुरानै अवस्थामा फर्काउन वातावरण संरक्षणका लागि जनचेतनामूलक कार्यक्रम गर्नुपर्ने हुन्छ ।

स्थानीय समुदायले सिमसार संरक्षणमा पुर्‍याएको योगदानको उच्च मूल्याङ्कन गर्दै सिमसार क्षेत्रलाई सबैका लागि र सधंैका लागि चासोको विषय अर्थात् दिगो सहरी भविष्यका लागि सिमसार क्षेत्रको दिगो संरक्षण र व्यवस्थापन बुद्धिमतापूर्ण प्रयोगको वातावरण सिर्जना गर्नु आजको टड्कारो आवश्यकता भएको छ । सिमसारको प्रकृति अनुसार संघ, प्रदेश र स्थानीय सरकारलाई अलग–अलग रणनीति तयार गरेर सरोकारवालाबीच समन्वयका साथ काम गर्नुपर्ने हुन्छ ।

डा. ढकाल वन मन्त्रालयका सहसचिव हुन् ।

कान्तिरपुर बाट

प्रतिक्रिया दिनुहोस

web
analytics