अव्यवस्थित सडक विकास – वातावरणमा ह्रास

A+ A-



गत वर्ष स्थानीय तहको निर्वाचन सम्पन्न भए पश्चात् स्थानीय तहले नेतृत्व मात्र पाएका छैनन् सिंहदरवारबाट प्राप्त हुने सम्पूर्ण सुविधा पनि स्थानीय तहबाटै प्राप्त हुन्छ भन्ने उधारो आसवासन पनि पाएका छन् । स्थानीय तहले केन्द्रबाट मनग्ग बजेट प्राप्त गरी विभिन्न क्षेत्रमा विनियोजन गर्ने अख्तियारी समेत पाएका छन् । पाएको बजेट मध्य अधिकांश रकम सडक विस्तारमा विनियोजित गरिएको खबर सञ्चारमाध्ययमहरुमा प्रशस्तै सुन्न र पढ्न पाउँछौ ।

विकासको एकमात्र पूवाधार भनेकै सडक हो भन्ने आभास हुने गरेको छ आजभोलि। विकास मापन गर्ने सूचक के हो भनेर सोध्यौ भने धेरैले भन्ने साझा जवाफ हुनसक्छ “सडक विकास, सडकसम्म पहुँच"। पक्कै हो, ग्रामिण क्षेत्रमा भएको सडक विस्तारले मानिसको जीवनयापनमा ठूलै परिवर्तन ल्याएको छ । जिवनस्तर उकास्नमा ठूलै भूमिका खेल्दै भौगोलिक सहजता ल्याएको छ । ग्रामिण सडक सञ्जाल विस्तारले ग्रामिण क्षेत्रलाई शहरीकरणतर्फ उन्मुख गराएको हामी सबैले देखेको र अनुभूति गरेकै कुरा हो । नेताले चुनावमा भोट माग्दा पनि सडक विकास तथा विस्तारलाई मुख्य एजेन्डा बनाइ जनता सामु भोट माग्ने गरेको कुरा सबैले देख्दै र सुन्दै आएका छौ ।यसरी जताततै सडक विकास र बिस्तारको अभियान चलिरहँदा यो सगँ जोडिएको वातावरणीय संवेदनशीलतालाई महत्व दिएको देखिँदैन । सडक विकास र विस्तार पश्चातका सकारात्मक पक्ष त छदै छन् तर अव्यवस्थित विकासले निम्त्याउने विषमता पनि भयाभह नै हुने गर्दछ ।

सडक विकास तथा विस्तार गर्दा प्राविधिक तथा वातावरणीय अध्ययन भन्दा पनि पहुँचबालाहरुले आफ्नो लाभको लागि सहज रूपमा विकास र विस्तार कसरी गर्न सकिन्छ भन्ने कुरामा ध्यान दिएको देखिन्छ । सकभर आफ्नो निहित स्वार्थ पूरा हुने तरिकाले बाटोको नक्सा बनाइ सोहि अनुरूप सडक खन्ने गरिएको ग्रामिण क्षेत्रमा प्रशस्त रूपमा देखिन्छ । जमिनको भू(बनोट तथा सडकको दिगोपन कसैको चासोको विषय भएको पाइँदैन । अधिकांश स्थानीय तहमा गएको बजेट पनि यस्तै सडक खन्नमा खर्च गरिने गरेको तथ्याङ्क भेटिन्छ । सबैले देखिने र सबैको चासो हुने भएरै होला धेरै स्थानीय तहको विनियोजित बजेट सडक खन्नमा नै खर्च हुने गरेको छ । सडकले छुँदा आफ्नो जग्गाको मूल्य बढ्ने अथवा जमिन अतिक्रमण हुने कुरालाई मात्र केन्द्रमा राखेर गरिने सडक विकास तथा विस्तारले कालान्तरमा विपद् निमत्याउने कुरामा दुई मत छैन ।

सर्वप्रथम त सडक विकास तथा विस्तार गर्दा प्रारम्भिक वातावरणीय परिक्षण अथवा वातावरणीय प्रभाव मूल्याङ्कन गरिनुपर्ने कानुनी बाध्यता छ । तर विडम्बना यो कुरामा सम्बन्धित निकाय तथा सरोकारवाला  गम्भिर भएको देखिदैन तथा कार्यान्वयन भएको पाइँदैन । यो मूल्याङकनबाट वातावरणको भौतिक-रसायनिक, जैविक, आर्थिक-सामाजिक पक्षको अध्ययन भई सडक विकास र विस्तार कताबाट, कसरी, कस्तो उपकरण प्रयोग गरी, कस्ता सावधानी अपनाई गर्नुपर्छ भन्ने कुराको स्पष्ट खाका आउँछ । यो खाकालाई सार्वजनिक सुनवाइको माध्यमबाट जनताको राय तथा सुझाव सङ्कलन गरी सोही अनुसार थप परिमार्जन तथा परिष्कृत गर्दै सुनवाईमा उठेका जनचासोका कुरालाई समेटि अगाडि बढाउनु पर्ने हुन्छ । यसरी सुनवाई गरी अगाडि बढ्ने कुरा त परै जाओस् घर-बारी डोजरले नफाल्दासम्म सडक कताबाट विकास र विस्तार गरिदैछ भन्ने पत्तो नपाएका जनता धेरै छन् । यसरी कानुनी प्रक्रिया मिचेर भएका सडक विकास र विस्तार उपर सरोकारवाला निकाय मुखदर्शक भएर हेर्नु बाहेक केहि गर्न सकेको छैन ।

अव्यस्थित ग्रामिण सडक विकास तथा विस्तारले बहुमूल्य जडिबुटी, पानीका मुहान तथा स्रोत, सुक्ष्म जीव तथा वन्यजन्तु, कृषियोग्य जमिन आदिमा नकारात्मक असर पारेको छ । सडक विकास सँगै वातवरणिय गुणस्तर क्षय भइरहेको छ। जसरी पनि बाटो पुर्‍याउने मनसाय तथा सो को लागि गरिले प्राकृतिक स्रोत तथा साधनको दोहनले गर्दा ग्रामिण बस्तिहरु प्राकृतिक प्रकोपको सम्मुखमा परेका छन् । अव्यवस्थित सडक विकासले पहिरो तथा भू(क्षयको सन्त्रास बढाएको छ । पहाडी तथा भिरालो जमिनमा सावधानी तथा पर्याप्त अल्पीकरणका उपाय अवलम्बन नगरी गरिने सडक विस्तारले प्राकृतिक विपद निमत्याएको कुरा देख्दै आइएको छ । भिरालो र चट्टानीय जमिनमा सडक खन्न प्रयोग गरिने औजार तथा उपकरणले जमिनमा भार पर्न गई भू-क्षय गराउन मद्दत पुर्‍याएको हुन्छ र जमिन अस्थिर भई कालान्तरमा ठूला ठूला पहिरो जाने सम्भावना हुन्छ । भू-संवेदनशीलता र भू-बनोटको ख्यालै नगरी गरिएका सडक विकास तथा विस्तारले सुविधा र सहजता भन्दा पनि जोखिम र दुर्घटना निम्ताउने कुरामा कसैको दुईमत छैन ।

सडक विकास पछि सो सडकको मर्मत-सम्भार तथा उचित संवर्धन हुन नसक्दा वर्षायाममा सडक निकै जिर्ण हुँदा सवारी साधनको त के कुरा पैदल यात्रा समेत असम्भव भइरहेको छ । उक्त सडकमा पैदल हिँड्दा पनि पहिरोको र भूक्षयको जोखिम निकै हुन्छ ।वनजङ्गलको विनास, बहुमूल्य वन पैदावार लोप हुने त हुन्छ नै साथै खेतियोग्य जमिन समेत विनासमा पर्छ ।सडक खन्दा फालेको चट्टान तथा माटोले जमिनको उर्वरा क्षमतामा ह्रास आउने साथै जमिन नै चट्टानमा परिणत हुने ठूलो सम्भावना हुन्छ । सडक विकास तथा विस्तार सँगसँगै वृक्षारोपण गर्ने, खन्दा निस्किएको माटो तथा चट्टानलाई सहि ठाउँमा व्यवस्थापन गर्ने तथा बाटोमा कुलेसिको व्यवस्था गर्न सकेमात्र सडक दिगो हुन सक्छ, तर यस्ता कार्य भएको पाइँदैन । एकातर्फ सडक विकास भइरहेको छ भने अर्को तर्फ वातावरणमा ह्रास आइरहेको कुरा जगजाएर नै छ । यसरी सडक विकास गर्ने निहुँमा गरिएका गैरकानुनी तथा अवैज्ञानिक कृयाकलापले हामी, हाम्रो समुदाय तथा सिङ्गो गाउँ-बस्तीलाई नै जोखिममा पारेको छ । स्थानीय सरोकारवाला, बुद्धिजीवी, जनता तथा सम्बन्धित निकाय यो कुरामा आजैबाट सचेत र सजग हुनु पर्ने आवश्यकता छ । अनियन्त्रित सडक विकासले पानीका स्रोतहरू पुरिएका छन्, भूमिगत जलस्रोत तथा जलमार्गलाई क्षति पुर्‍याएको छ र कालान्तरमा खानेपानीको हाहाकार हुने कुराको संकेत देखा पर्दैछ । हरियाली तथा सुन्दर बस्ती आजभोली उजाड तथा कुरुप बन्दैछन् ।

निश्चय पनि ग्रामिण सडक विकास तथा विस्तार हुन पर्छ तर हचुवाको भरमा होइन । जनताको आवश्यकता तथा भू(संवेदनशीलताक ख्याल राखी प्राविधिक, वातावरणिय तथा सामाजिक अध्ययन तथा विश्लेषण पश्चात् मात्रै सडक विकासलाई अगाडि बढाउनु औचित्यपूर्ण हुन्छ । सडक विकास तथा विस्तारले सुविधा त हुन्छ नै साथ साथै अनियन्त्रित विस्तारले विपद निमत्याउने गर्दछ । सडक विकासले मात्र गाउँ-घर समून्नत हुने होइन भन्ने कुरामा सबैको ध्षान जानु आवश्यक छ । स्वच्छ वातावरणमा बस्ने र रमाउने हो भने घर सडक भन्दा टाढानै रहनु पर्दछ । ध्वनी तथा वायु प्रदूषणबाट सुरक्षित रहन समेत घर सडकबाट टाढै रहनु पर्ने हुन्छ । पर्यावरणमैत्री उपकरणको प्रयोग गरी सडकको विस्तार एवं विकास गर्दा वातावरणमा नकारात्मक असर पर्दैन तथा स्यम् मानिसका लागि लाभदायक हुन्छ ।

मूल सडकबाट गाउँ-घर जानेकालागि पदमार्गको विकास गर्न सकिन्छ । सफा तथा हरियाली पदमार्गले बस्तीको सुन्दरता बढाउँछ । पदमार्गको विकास सँगै पर्यटकीय स्थलको रूपमा हाम्रा गाउँ-बस्तीलाई विकास र विस्तार गर्न सकिन्छ । पुरातात्विक महत्वका सम्पदाहरूको नजिकैबाट गरिने सडक विस्तार तथा विकासले सम्पदाहरुनै मासिने तथा महत्व हराउने साथै सम्पदा स्थल प्रदुषित हुने खतरा बढेको छ । गाउँ बस्ती स्वस्थ र सफा राख्न तथा मानिस स्वस्थ हुनका लागि सडक भन्दा पनि पदमार्ग विकासमा ध्यान दिनु राम्रो हुन्छ । दैनिक एक दुई घण्टा हिँड्नु शरिरको लागि फाइदा हुने कुरा हो, सो को लागि पनि सडक टाढै भएको राम्रो ।वातावरण संरक्षण तथा दिगो विकासका लागि योजनाबद्ध सुव्यवस्थित सडक विकास तथा विस्तार गर्नु आजको आवश्यकता हो साथ साथै प्राकृतिक स्रोत तथा पुरातात्विक सम्पदाको संरक्षण तथा संबर्धन गर्नु हामी सबैको दायित्व हो ।

प्रतिक्रिया दिनुहोस

sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar6
web
analytics