राष्ट्रिय वन सूचना प्रणाली स्थापना हुँदै



 

नेपालमा राष्ट्रिय वन  सूचना प्रणाली स्थापना हुने भएको छ । वन तथा वातावरण मन्त्रालयले आगामी आर्थिक वर्ष २०७५/७६मा राष्ट्रिय वन सूचना प्रणाली स्थापना र सञ्चालन गर्ने प्रस्ताव अघि सारेको हो ।

मन्त्रालयले वन तथा वातावरण क्षेत्र सुधार कार्ययोजना २०७५ मा अध्ययन अनुसन्धान र क्षमता अभिबृद्धि अन्तर्गत राष्ट्रिय वन सूचना प्रणाली स्थापना गर्ने र संञ्चालन गर्ने एजेन्डा पनि राखेको छ ।

केन्द्र सरकार र स्थानीय सरकारको छुट्टै आवश्कता अनुसार सूचना हेर्ने मिल्ने र साटासाट गर्न मिल्ने गरी योजना प्रस्ताव गरिएको छ । वन तथा वातावरण मन्त्रालयको प्रवक्ता धनञ्जय पौंडेलले वनको सूचना प्रणाली व्यवस्थित गर्न यो योजना कार्यान्वयनमा ल्याउन लागिएको बताए ।

यो योजना कार्यान्वयनमा ल्याउनका लागि सरोकारवाला विज्ञहरूसँग छलफल गरी सफ्टवेयर निर्माण गर्ने तयारी मन्त्रालयको छ । सामुदायिक वनको काठको विक्री वितरण, कटान र वन सम्बन्धी सबै क्रियाकलापमाथि यो प्रणालीमार्फत नियमन गर्न सकिन्छ ।

यस्तै अध्ययन, अनुसन्धान र क्षमता अभिबृद्धि अन्तर्गत वन तथा वातावरण मन्त्रालयको कार्ययोजनामा आर्थिक तथा वातावरणीय योगदान सम्बन्धी मूल्यांकन प्रणाली स्थापना गर्न लागिएको छ। साथै अध्ययन अनुसन्धान र प्रदर्शनिमूलक वन र वातावरण प्रयोगशालाहरूको स्थापनामा पहल, राष्ट्रियस्तरको अतिरिक्त प्रदेश र स्थानीय तहस्तरीय वन सर्वेक्षण तथा नक्सांकन कार्यलाई विस्तार र राष्ट्रिय हब्रेयियममा संरक्षित १ लाख ६३ हजार हब्रेयियम नमुनाहरूको संरक्षण तथा व्यवस्थापन गरी डिजिटाइजेशन गरिने योजना छ । ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics