सप्तकोशीको जलस्तर सामान्यभन्दा माथि, कोशीमा बाढी-पहिरोले ७ ठाउँमा सडक अवरुद्ध

विराटनगर। अविरल वर्षापछि कोशी प्रदेशमा बाढी र पहिरो आउँदा सात ठाउँका सडक अवरुद्ध भएका छन्। संखुवासभा, भोजपुर, ओखलढुंगा र उदयपुरका सात ठाउँमा बाढी-पहिरोले सडक अवरुद्ध भएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।

प्रदेश प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दीपक पोखरेलका अनुसार ओखलढुंगाको मानेभञ्ज्याङ-६ र ७ को सिमाना सिद्धिचरण लोकमार्गको भँडारे खोलामा लेदोसहितको बाढी आएको छ। बाडीले करिब १० मिटर सडक बगाएपछि आवागमन रोकिएको छ।

उदयपुरको कटारी नगरपालिका-१४ दलदलेस्थित सिद्धिचरण लोकमार्गमा खहरे खोल्साबाट लेदो माटो बगेर सडकमा थुप्रिएपछि आवागमन ठप्प भएको छ।

कटारी-१४ कै चनौटे खहरे खोलाबाट लेदो माटो सडकमा थुप्रिएपछि सडक अवरुद्ध भएको छ। सोही वडाको भदौरेमा पहिरो झर्दा सडक अवरुद्ध भएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले बताए।

भोजपुर नगरपालिका-१० मिलनमा माथिबाट २० मिटर पहिरो झर्दा सडक अवरुद्ध भएको छ। संखुवासभाको मकालु गाउँपालिका-३ एकुवास्थित कोशी राजमार्ग अन्तर्गत किमाथांका-खाँदबारी सढकखण्डमा पहिरो झरेपछि राजमार्ग अवरुद्ध भएको छ।

संखुवासभाकै भोटखोला गाउँपालिका-४ बरुणस्थित खाँदबारी-किमाथांका जोड्ने कोशी राजमार्ग कच्ची सडकका तीन वटा ह्युमपाइप बग्दा आवातजावत ठप्प भएको छ।

सप्तकोशी नदीमा पानीको बहाव सामान्य बढेको छ। आइतबार साँझ सप्तकोशीको बहाव १ लाख २ हजार ३५ क्युसेक प्रतिसेकेन्ड रहेको छ। अहिले सप्तकोशी नदीका ५६ मध्ये १४ ढोका खुला रहेको कोशी प्रदेश प्रहरीले जनाएको छ।

यो बहावलाई सामान्यभन्दा माथिको अवस्था भनिएको छ। कोशी ब्यारेजमा एक लाख ५० हजार भन्दामाथि पानीको बहाव भएपछि खतराको संकेतस्वरुप रातो बत्ती बाल्ने गरिएको छ। कोशी प्रदेश हुँदै बग्ने अन्य नदीहरूमा पानीको बहाव सामान्य रहेको प्रहरीले जनाएको छ।

ताप्लेजुङबाट धरानतर्फ हिँडेको मे१ज ३०५५ नम्बरको बोलेरो आइतबार मध्यान्ह पाँचथरको कुम्यायक गाउँपालिका-३ कार्तिकेमा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।

प्रहरीका अनुसार अविरल वर्षाको बेला छुटेको उक्त बोलेरो तमोर करिडोरको बाटोमा आफैं अनियन्त्रित भएर दुर्घटना भएको हो। दुर्घटनामा तीन जना महिला र तीन पुरुषको मृत्यु भएको छ। उनीहरूको सनाखत भइरहेको छ।

दुर्घटनामा घाइते भएका ६ जनामध्ये पाँच जनालाई उपचारको लाथि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ। एक जनाको जिल्ला अस्पताल पाँचथरमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक अनिशकुमार कर्णले बताए।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics