ब्रुकलिन ब्रिज र ह्वाइट हाउस हेर्ने सपना

नियात्रा

गृष्मा पौड्याल, टोकियो
हरेक वर्ष झैँ यसपालि पनि अलिकति चाँडै गर्मीको छुट्टी मिलाएर म अमेरिकाको ५ हप्ते भ्रमणमा निस्किएँ । अमेरिका जाने सजिलो र छिटो बाटो पच्छ्याउँदै म अमेरिकन एअर लाइन्सको डाइरेक्ट फ्लाइट हुँदै हानेदा विमानस्थलबाट टेक्ससको लागि जुन महिनाको १४ तारिख अपराह्न ४ बजेर ४० मिनटको उडानमा हुत्तिएँ ।मनमा बैनीलाई भेट्ने व्यग्र प्रतीक्षा र छोराको बिहेमा सरिक हुने उत्साह त छँदै थियो, एअरपोर्टमा डालास जाने एकजना जापानी महिलासँग भलाकुसारी गर्दै इमिग्रेसनको काम सकाएर प्रतीक्षालय तर्फ अगाडि बढ्यौँ ।

टिकट ४ महिना अगाडि नै (छोरीको उपहार स्वरूप) अनलाइनबाट काटी सकिएको थियो । निर्धारित समय अनुसार विमान ३०७ जना यात्रु र १७ जना चालक दलका मेम्बरहरू लिएर लस- एन्जलसको लागि उड्यो ।यो पालीको यो बाह्र घण्टे लामो यात्रा सोचेको जस्तो पट्यार लाग्दो भने भएन । उडेको केही समय, सँगै बसेकी जापानी महिलासँग गफगाफ र एक घण्टापछि हवाई जहाजद्वारा वितरित (न)मीठो खाना खाएर हामी आराम गर्ने मुडमा आँखा चिम्लियौँ । दुई तीन घण्टापछि खाना खान र वासरुम जान ब्युँझिए पनि यात्रा आरामदायी र रोमाञ्चक नै रह्यो ।निर्धारित समय अमेरिकाको स्थानीय समय अनुसार १४ दै तारिख ३: ४० मिनेट जाँदा अमेरिकन एअरलाईन्सको विमानबाट लस- एन्जलस उत्रियो । तर अनौठो अनुभव अनलाइनबाट काटेको टिकट डाइरेक्ट फ्लाइटको भए पनि उड्ने ७ दिन अगाडि मलाई your flight schedule has been changed भनेर मेल मार्फत लस-एन्जलस भएर फोर्ट ओर्थ जाने टिकट पठाइएको जानकारी थमाइएको थियो ।

अनलाइनमा आफू त्यति दक्ष नभएको कारण अमेरिकन एअरलाइन्सले जे पठायो त्यही स्वीकार गर्नु सिवाय विकल्प थिएन मसँग ।जापानबाट उड्दासम्म जापानी समय सेकेण्ड सेकेण्डको महत्त्व बोकेको म अमेरिका पुग्ने बित्तिकै लस- एन्जलसमा डालासको लागि गेट नम्बर नै तोकिएपछि पनि ३ घण्टा लेट छ भन्ने अनाउन्स भएपछि रिसको पारो स्वभाविक नै अलिकति माथि त चढिहाल्यो । तर मसँग प्रतीक्षा गर्नुदेखि बाहेक अरू विकल्प पनि त थिएन । यसो बैनीलाई मेसेन्जरबाट सूचना दिई, स्टार बक्सको कफी र चमेना खोज्न थालेँ ।यसरी तीन घण्टा फ्लाइट डिले….. थकित म डालास पुग्दा १४ मै पुग्नु पर्ने करिब १५ तारिखको सुरुआत राति १२:बजेर २० मिनेटमा बल्ल फोर्ट ओर्थ ओर्लिएँ।

एअरपोर्टमा बैनी र ज्वाइँलाई भेटेपछि बल्ल मुटुको धड्कनले आफ्नो ठिक गति समात्यो । दुई दिन त जेट ल्याग यस्तो लाग्यो कि खाने र सुत्ने बाहेक केही पनि काम भएन । तेस्रो दिन छोराको मेहेन्दी रस्म, २० – २२ जना जति ओझा परिवारको भेटघाट, चिनजान र भलाकुसारीमा व्यस्त हामी । घर भरी भराऊ मान्छे झकिझकाउ उत्सव कति हो कति रमाइलो । सबै “कहिले आइ पुगेको”? “यात्रा कस्तो भयो” ? र “कति दिन बस्ने ”? बेलिबिस्तार लगाउँदैमा ठिक्क, दङ्ग र व्यस्त खुसी-खुसी ‘म’ ।तर ‘ जसको त बिहे उसैलाई देख्न नदे’भनेको जस्तो, छोरा र हुनेवाला बुहारी न्यू जर्सीमै थिए ।

घरमा बहिनीले बिहे घर जस्तो हुँदैन भनेर भेटघाटको लागि राखेको कार्यक्रम र इन्डियन देखासिकी मेहन्दीको कार्यक्रम थियो यो । मलाई त रमाइलो हेर्न र गर्न पाए पुगिहाल्यो नि । आधा यात्रा थकावट र रमाइलो सँगै पूरा दिन उत्सवमय रह्यो ।त्यसको भोलिपल्ट अलिकति मेस्सी मलमा किनमेल बाहिर रेस्टुरेन्टमा खाना, डालास स्टक यार्ड घुमघाम, काउ ब्याइ मार्केट र फोर्ट ओर्थ वाटर पार्क घुमेर टेक्ससको गर्मी पूरै खाँदै, ज्वाइँको मर्सिडिज बेन्चमा आइसक्रिम खाँदै दङ्ग परी बैनीको घरमा फिर्ती सवारी भयो मेरो बेलुकाको ९ बजे । जापानी समयको दिउँसो चार बज्दाको जस्तो घाम र उमङ्ग लिएर । त्यसपछि २० तारिख बिहानै ३:३० मा उठेर तयार भई हामी बिहामा भाग लिन न्यु-जर्सीको लागि ज्वाइँको टोयोटा ट्कमा सुटकेस तान्दै लाग्यौँ फेरि डालास एयरपोर्ट तर्फ ११ जना बहिनी ज्वाइँ म भाउजू सुदेश बाबु रेखा रेसु अखिल रेमी नाति) नातिनी र आवि (बेबी सिटर) र हामी सबै ।

न्यूयोर्क लगौडिया एअरपोर्टमा दिउसो १:३० बजे दईटा पजेरो जिप हामीलाई पिक अप गर्न तयारी अवस्थामा थियो । एउटा एउटा स्याण्डविच र एक एक बोतल मिनरल वाटर टिपी हामी लाग्यौँ स्याडल मन्ट क्राउन प्लाजा होटेल न्यू-जर्सी तर्फ । आधा निद्रा र आधा अन्त्याक्षरी (गीत) खेल्दै । पुग्यौँ हामी विवाहलाई बुक गरिएको होटेल (Saddle Mont Crown Plaza Hotel New-Jersey) वाह अमेरिकी जीवन !! कत्ति रमाइलो हुर्रे ।सुरु भयो विवाहको पहिलो कार्यक्रम ‘मिट एण्ड ग्रिट’ बहिनीको छोरा मेरै छोरालाई बाह्र वर्ष पछि भेटेर खुट्टा भुईँमै छैन नि हाबी, निक नेमवाली (ठूलो ममीको)। २१ तारिख बिहानी पखको खाना ब्रेक फास्ट सकाएर (हल्दि) बुकुवा लगाउने सेरेमनि र बेलुका गरवा डान्डिया डान्स । किनकि बुहारी गुजराति (भारतीय मूलकी)विवाहको तेस्रो दिन बिहान नेपाली चलन अनुसार मण्डपको बिहा र बेलुका रिसेप्सन, कति आफन्त भेटघाट रमाइलो र छोरा बुहारीको मुख हेरी ठूलो ममीको कर्तव्य पूरा गरी, जिम्मेवारीबाट पन्छिऊँ कि ? जस्तो त लागेको थियो !!

फेरि म लागेँ न्यू-योर्कको यात्रा तिर । २०२४-६-२३ साँझ ५ बजे लगौडिया एअरपोर्टबाट बैनीहरूसँग छुट्टिएर म लागेँ भदा अभिशेख पौड्यालको वासस्थान न्यूयोर्कको क्यिन्स तर्फ । भदा व्यस्त भएर एअरपोर्ट लिन आउन नसकेपछि म उभर चढेर एक्लै क्विन्स तर्फ र बैनीहरू टेक्सस तर्फ मोडियौँ । उभर राइडलाई राम्रोसँग एड्रेस दिएपछि भदा बस्ने अपार्टमेन्टकै तल लगेर ओराली दियो र हामी सुटकेश घिच्याउँदै दोस्रो तल्ला पट्टी अघि बढ्यौ । खाजामा म.म. खाएर एकछिन आराम गरी भदा आइपुग्यो डिउटी सकी वर्षौं पछि फुपू भेट्न । मान्छेलाई खुसी यस्तै साना साना कुरामा मिल्ने गर्दछ । आहा कति राम्रा मेरा भाइका छोराहरू, शमिप र आयान । भोलिपल्ट नेपाली रेस्टुरेन्टमा लन्च खाइ हामी भदाको टोयोटा गाडीमा टाइम्स स्क्वाएर, ब्रुकलिन ब्रिज, न्यू-योर्कको साँडे (वाल स्ट्रिट) ब्याट्री पार्क म्यानहाटन डुलि थकित भएर घर फर्कियौँ र वर्षौंपछिको ब्रुकलिन ब्रिज हेर्ने मेरो सपना साकार भयो ।

अर्को दिन बिहानको खाना खाएर म र अभिषेक ‘ म’ मेरिल्यान्ड जान हाइ-वे बस पार्क, पोर्ट अफ अथोरिटी तर्फ लाग्यौँ सानो सुटकेश र दिदी भाइ मात्र । मलाई बस चढाई अभिशेख फर्कियो काममा र म चार दिनको लागि चार घण्टे लामो हाई-वे- पट्टी लागेँ अर्को सपना ह्वाइट हाउस हेर्न । बाल्टिमोर भएर मेरिल्यान्ड तर्फ (खुसी र नविन नेपाल) फुपूको छोरा बुहारीकोमा चार दिने शरणार्थी यात्रामा ।बसबाट ओर्लनासाथ बाहिर राम्रोसँग हेर्न पनि भ्याएको थिइन कानमा आवाज आयो ‘दिज्यू दर्शन, राम्रोसँग आइपुगिस्यो? ल मैले हजुरलाई भेट्टाएँ !’ आवाज थियो खुसी-श्री नवीनको श्रीमतीको !यसरी म न्यू-योर्कबाट एक्लै बाल्टिमोर पनि पुगे, यहाँबाट मेरिल्यान्ड नवीनको घर डेढ घण्टा ड्राइभमा । तर बाटैमा मेरो एक्सिडेन्ट भयो आइ-फोन १२ खुसी-श्रीको बि. एम. डब्ल्यू स्पोर्टस कारको पेसेन्जर सिटको तल खसेर ।

म करिब १ महिना फेसबुक र सोसल मिडियाबाट कतै टाढा, अर्कै ग्रहमा पुगेको जस्तो भान हुँदै तर सबै फेसबुके टेन्सनबाट टाढा र खुसै नै खुसीको संसारमा ।भोलि पल्ट ह्वाइट हाउस अमेरिकाको प्रेसिडेन्ट बस्ने सेतो घरको अगाडि खुसी, म र रिहाना-श्री को साथमा! I love America, I love White House मेरो सबै सपना साकार अनि त्यही जाँदाको बाटो हुँदै बस कार र प्लेनको यात्रा टुङ्गाउँदै जुलाई महिनाको १८ तारिख म सही सलामत टोकियो जापानमा । फर्केर आउँदा भने डालास फ़ोर्ट ओर्थबाट सिधा उडान मेरो वासस्थान हानेदा अवतरण भयो । र मैले समातेको ट्याक्सी टोकियोस्थित मेरो घरमा आएर रोकियो ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics