‘लालपुर्जा दिलाउनेलाई भोट’

जिल्लाको कृष्णपुर नगरपालिका–७ शान्तिटोलका बुद्धिराम चौधरीसँग एक बिघा जमिन छ । लालपुर्जा छैन । लालपुर्जा नहुँदा सरकारी बैंकबाट पाइने सहुलियतपूर्ण ऋण तथा बाली बिमासमेत गर्न समस्या छ । जमिन धितो राखेर व्यापार व्यवसाय गर्ने सोच भए पनि लालपुर्जा नहुँदा समस्या भएको उनले बताए ।

स्थानीय तह दोस्रो चरणको निर्वाचन नजिकिँदै गर्दा विभिन्न राजनीतक दलका उम्मेदवारहरू मत माग्दै गाउँटोलमा आउन लागेका छन् । मतदाताले प्राथमिकताका साथ बाटोघाटो र रोजगारी माग गरेपनि बुद्धिराम भने लालपुर्जा नै आफ्नो प्रमुख माग भएको बताउँछन् ।

‘जसले लालपुर्जा दिलाउँछ उसैलाई भोट दिन्छौं,’ उनले भने, ‘कमाई खाने जमिननै आफ्नो नाममा नहुँदासम्म हाम्रो प्रगति हुँदैन ।’ यो उनको एकल माग भने होइन । साविकको रैकवारविचवा गाविसमा पर्ने शान्तिटोलका थारू समुदायको सामूहिक माग हो । यहाँ बसोबास गर्ने अधिकांशसँग जमिन भए पनि लालपुर्जा छैन । यसका कारण जग्गा बेचबिखन तथा धितो राखेर व्यापार व्यवसाय गर्न नसकिने उनीहरू बताउँछन् । ‘सबैसग पाँच/सात कठ्ठादेखि एक/डेढ बिघासम्म जमिन छ,’ स्थानीय रतन चौधरीले भने, ‘लालपुर्जा कसैसँग पनि छैन ।’

गत बिहीबार यहाँको थारू बस्तीमा असारे पूजा चलिरहेको थियो । उक्त पूजामा गाउँका सबैजना बडघरको घरमा भेला भएका थिए । उक्त भेलामा समेत लालपुर्जा दिलाउनेलाई भोट दिने कुरा चलिरहेको थियो । यहाँको जमिनको पटकपटक नापी र कित्ताकाट समेत भइसकेको छ । तर हालसम्म कसैले पनि लालपुर्जा नपाएका हुन् ।

यसअघिका निर्वाचनमा पनि यहाँका बासिन्दाको प्रमुख माग लालपुर्जा नै थियो । तर निर्वाचितहरूले त्यसतर्फ चासो नदिँदा अहिले भने मतदाता भरपर्दाे प्रतिबद्धता गराएर मात्रै मत दिने पक्षमा छन् । वडादेखि नगरपालिका प्रमुख र उपप्रमुखसम्मका उम्मेदवारहरू प्रायजसो दिनहुँ घरदैलोका क्रममा यहाँ पुगिरहेका छन् । कतिपय उम्मेदवारहरू थारू समुदायकै भएकाले पनि यसपटक यहाँका मतदातालाई आफ्ना माग राख्न अझ सहज भएको छ । उसो त यहाँको बस्ती मोहना नदीको कटानसँगै होचो ठाउँमा भएकाले बाढीको समेत उच्च जोखिममा छ ।

मोहना नदीले वर्षेनी कटान गरेर खेतीयोग्य जमिन बगाउँदै लगेको छ । तर, पनि यहाँका बासिन्दाको प्रमुख माग लालपुर्जा नै बन्न पुगेको छ । यहाँका मतदाताले लालपुर्जासँगै नदी कटान नियन्त्रणका लागि तटबन्धसँगै मोहना नदीमा पक्की पुल निर्माणका लागि समेत मतदातासमक्ष माग गरिरहेका छन् । ‘सबैजसो उम्मेदवारले माग पूरा गर्ने प्रतिबद्धता गरिरहेका छन्,’ स्थानीय भागुराम चौधरीले भने, ‘तर भरपर्दाे गरी कसैले पनि प्रतिबद्धता गरेका छैनन् ।’ उनले जसले माग पूरा गर्ने विश्वास दिलाउन सक्छ पूरै समुदायका मत उसैलाई जाने बताए।

कान्तिपुर

भवानी भट्ट

प्रतिक्रिया दिनुहोस

web
analytics