तिलगंगाबाट कलंकी सम्म स्काईरेल सरर..



काठमाडौं महानगरमा तिलगंगादेखि कलंकीसम्म स्काईरेल सञ्चालन गर्न सकिने भएको छ । काठमाडौं महानगरपालिका र साइमिक्स इङ्क प्राइभेट लिमिटेडले गरेको स्काईरेल सञ्चालन सम्भाव्यता अध्ययनका अनुसार तिलगंगाबाट, एयरपोर्ट, नयाँ बानेश्वर, रत्नपार्क, सहिदगेट हुँदै कलंकीसम्म स्काईरेल सञ्चालन गर्न सकिने देखिएको हो ।

कम्पनीले प्रारम्भिक चरणको अध्ययन प्रतिवेदन काठमाडौं महानगरपालिकालाई बुझाउँदै नारायणगोपाल चोकबाट ललितपुरको एकान्तकुना, चक्रपथ वरिपरि तथा स्वयम्भुबाट बौद्धसम्म पनि स्काईरेल सञ्चालन गर्न सकिने बताएको छ ।

कम्पनीले बुझाएको प्रारम्भिक प्रतिवेदन बुझ्दै महानगरका प्रमुख विद्यासुन्दर शाक्यले ललितपुर महानगर र काठमाडौंका छिमेकी नगरहरुसँग समन्वय गरेर उपयुक्त प्रस्तावमा काम अघि बढाइने जानकारी दिएका छन् ।

चिनियाँ कम्पनी बिवाइडीसँगको सहकार्यमा सञ्चालन सम्भाव्यता अध्ययन भैरहँदा लागत सहितको अन्य विवरण भने विस्तृत परियोजना प्रतिवेदनमा मात्र थाहा हुनेछ । त्यस प्रकारको प्रतिवेदनमा स्टेसनको संख्या, सडक संरचनालगायतका कुराले लागत खर्च निर्धारण गरेको हुन्छ ।

कम्पनीका अनुसार सामान्यतया १० किलोमिटर दुरीको लिक बनाउन ३० करोड अमेरिकी डलर र २ वर्ष समय लाग्छ । मेट्रो रेलको तुलनामा स्काई रेल सञ्चालनकालागि २० प्रतिशत रकम कम लाग्ने कम्पनीको दाबी छ । रेलको एउटा डिब्बामा २०० जना यात्रु अट्न सक्ने साथै एउटा रेलमा ८ वटासम्म डिब्बा जोड्न सकिन्छ ।

तर, काठमाडौं महानगरपालिकामा सञ्चालन गरिने रेलमा भने ३ वटा डिब्बा मात्र जोड्न सकिने प्रारम्भिक अध्ययनले देखाएको छ ।

 

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics