अब न्युरोडमा स्मार्ट पार्किङ हब, लिफ्टको सहयोगमा गाडी पार्किङ
- नेचर खबर
 
                                                        
उपत्यकाबासीले निकट समयमै राजधानीमै लिफ्टको सहयोगमा गाडी पार्किङ गरेको देख्न पाउने भएका छन् । काठमाडौँ महानगरपालिकाले अत्याधुनिक सुविधा सम्पन्न भएको नयाँ प्रविधिमा आधारित पार्किङ हब निर्माण गरेर उपत्यकाबासीलाई नौलो उपहार  प्रदान गर्न लागेको हो ।
महानगरपालिकाले न्यूरोडको धर्मपथमा स्मार्ट कार पार्किङ निर्माण प्रक्रिया सुरु गरेको छ । धर्मपथ र टेकुमा पार्किङ हब निर्माणका लागि महानगरपालिकाले केही समय अघि सम्भाव्यता अध्ययन पनि गरिसकेको छ । सोही अध्ययन प्रतिवेदनको आधारमा पार्किङ हब निर्माण गर्न लागिएको हो ।
महानगरपालिकाका सह प्रवक्ता नवराज ढकालले सम्भाब्यता अध्ययनको प्रतिवेदनको आधारमा पहिलो चरणमा धर्मपथमा पार्किङको निर्माण कार्य सुरु गर्न लागिएको जानकारी दिए । 
उनका अनुसार धर्मपथमा पाँच तले पार्किङस्थल बनाउने गृहकार्य गरिएको छ । सडकमूनि (अन्डरग्राउण्ड) दुर्इतला र जमिनमाथि तीन तला सुविधाको पार्किङ स्थल निर्माण गरिनेछ । पार्किङस्थलमा तीन सय कार राख्न सकिने उनको भनाई छ।
शुक्रवार सम्पन्न भएको काठमाडौँ महानगरपालिकाको २३ औँ स्थापना दिवसको अवसरमा  मेयर विद्यासुन्दर शाक्यले स्मार्ट कार पार्किङ निर्माणसम्बन्धी प्रक्रिया अघि बढाइएको जानकारी दिए । 
पार्किङको असुविधाका कारण न्युरोडमा निक्कै समस्या भएको बताउँदै मेयर शाक्यले समस्या समाधान गर्न नयाँ प्रविधिमा आधारित पार्किङ हब निर्माण गर्न लागिएको बताए । धर्मपथमा महानगरको एक रोपनी ११ आना आफ्नै जग्गा छ। 
महानगरपालिकाअनुसार युनिभर्सल होल्डिङ नेपालले सम्भाव्यता अध्ययन गरेर प्रतिवेदन बुझाएको हो । स्थापना दिवसको अवसरमा सार्वजनिक गरिएको चालु आर्थिक वर्ष ०७४र०७५ को नीति तथा कार्यक्रममा  भर्टिकल र अण्डरग्राउण्ड कार पार्किङ निर्माण गर्ने योजनालाई समावेश गरिएको छ । 
टेकुमा सात रोपनी जमिनमा स्वचालित कार पार्किङको योजना अघि सारिएको छ । दोस्रो चरणमा टेकुमा निर्माण कार्य सुरु गरिनेछ । एउटा पार्किङ निर्माणका लागि करिब एक अर्ब रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान गरिएको छ। 
सह प्रवक्ता ढकालकाअनुसार पार्किङ निर्माण गर्नका लागि स्वदेशी वा विदेशी कम्पनीलाई जिम्मेवारी दिने विषयमा छलफल भइरहेको छ । उनका अनुसार पुसभित्र निर्माणको टुंगो लाग्ने र आगामी ६ महिनामा डिजाइन तयार पारेर टेण्डर आब्हान गरिनेछ।
यस्तो हुनेछ, स्मार्ट पार्किङ 
निर्माण हुने पार्किङ हब पूर्ण रूपमा स्वचालित हुनेछ । पार्किङ स्थलमा गाडी लगेपछि एउटा कार्ड लिनुपर्छ । त्यसपछि आफूले पार्किङका लागि चाहेको तला र कोठामा पार्किङ गर्न सकिन्छ। पार्किङका लागि लिफ्टमार्फत कारलार्इ पार्किङ गर्ने ठाउँमा पुर्याउँछ।

                                                            
                                                            
                                                            
                                                            
                                                            
                                                            
                                                            
                                                            
                    
प्रतिक्रिया दिनुहोस