समृद्धिका लागि वृक्षारोपण


वृक्षारोपण भन्नाले कुनै पनि भूभागमा रुख प्रजातीका विरुवाहरु लगाई हुर्काउने कार्यलाई बुझाउँछ। वृक्षारोपणको सुरुवात मानव सभ्यताको प्रारम्भदेखि नै भए तापनि औद्योगिक वृक्षारोपणको सुरुवात दोस्रो विश्वयुद्ध पश्चात् भएको पाइन्छ ।

नेपालको कुल भूभागको ४०.३६ प्रतिशत वन क्षेत्र र ४.३८ प्रतिशत भूभाग अन्य काष्ठ तथा बुट्यान क्षेत्र गरी कुल ६६ लाख हेक्टर वन र बुट्यान क्षेत्रले ढाकेको छ भने बाँकी भ–ूभाग कृषि, बसोबास क्षेत्र र नदी क्षेत्रले ढाकेको छ ।

नेपालमा औद्योगिक स्तरमा वृक्षारोपण गरिएका क्षेत्रहरूमा सर्लाहीमा रहेको सागरनाथ वन विकास परियोजना र झापाको रतुवामाई वृक्षारोपण आयोजना रहेका छन् । त्यस्तै सामुदायिक वन विकासका सुरुका चरणमा मध्य पहाडी भागमा विभिन्न प्रजातीका सल्लोको वृक्षारोपण र तराई क्षेत्रमा सिसौ, टिक, मसला, लहरे पिपल प्रजातीका बिरुवाहरू रोपण गरिएको थियो ।

वृक्षारोपणको महत्त्व

अक्सिजन : मानिसलाई स्वास फेर्न प्रतिदिन १७.५ के.जी. अक्सिजनको आवश्यकता पर्छ जुन ७ वटा रुखहरुले प्रति रुख २.५ के.जी. अक्सिजन दिएर पुर्ति गरिदिन्छन् ।

खाना : रुखहरूबाट हामीले गाँस, वास र कपासको आवश्यकता परिपूर्ति गर्छौ । गाँस प्राप्त हुने १ हेक्टर कृषि क्षेत्रका लागि झन्डै २ हेक्टर रुखहरू भएको वनको आवश्यकता पर्छ जसले कृषिका लागि चाहिने पोषक तत्त्व जस्तै : फस्फोरस, पोटास, नाइट्रोजन आदिको पुर्ति गरिदिन्छ ।

जल चक्रको नियमन : रुखहरुले वर्षातको पानीलाई आफ्नो हाँगा, काण्ड हुँदै जमिन मुनी पानीको भण्डारण गरी मूलको रूपमा पानी बाहिर आउन सहयोग गर्दछन् ।
जैविक विविधताको संरक्षण : एउटै रुखले सयौँ किरा, पुतली, चरा, स्तनधारीहरुलाई आश्रय स्थल प्रदान गर्नुका साथै रुखबाट झरेका पात, काठहरू कुहिदा लाखौँ आँखाले नदेखिने व्याक्टेरिया, भाइरस, मृतजीवीहरुलाई पारिस्थितिक कार्य सुचारु गर्नमा सहयोग गर्दछन् ।
प्राकृतिक प्रकोप न्युनिकरण : वृक्षारोपण कार्यले जमिनको माटो अँठ्याई राख्ने र परेको पानीको गतिलाई कम गरी पानी जमिनमुनी जान सहयोग गरेर भूक्षय कम गर्नुका साथै रुखहरु भएको स्थानमा चिस्यान कायम हुन गई खडेरी कम गर्न समेत सहयोग गर्छ ।
आर्थिक वृद्धि : वृक्षारोपणबाट औद्योगिक कच्चा पदार्थको आपुर्ती भई औद्योगिकरण मार्फत रोजगारी सिर्जना गर्न, व्यापार घाटा कम गर्न र राजश्व प्राप्त गरी समृद्धी हासिल गर्न मद्दत पुग्छ । जस्तै : चिनले बाँस वृक्षारोपणबाट कागज उत्पादन गरेर र भारतले लहरे पिपल वृक्षारोपण मार्फत कागज उत्पादन गरी विदेशी मुद्रा आर्जन गरेको ।

नीतिगत र संरचनागत व्यवस्था

नेपालको संविधानकोे धारा ३० ले हरेक नागरिकलाई स्वच्छ र स्वस्थ वातावरणमा वाँच्न पाउने मौलिक हकको व्यवस्था गरेको छ । साथै राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्व अन्तर्गत प्राकृतिक साधन स्रोतको संरक्षण, संवर्द्धन र उपयोग सम्बन्धी नीतितर्फ वातावरणीय सन्तुलनका लागि आवश्यक भू–भागमा वन क्षेत्र कायम गर्ने, प्राकृतिक स्रोत साधनलाई राष्ट्रिय हित अनुकूल तथा अन्तरपुस्ता समन्यायको सिद्धान्त अनुसार दिगो रूपमा उपयोग गर्दै प्राप्त लाभको समन्यायिक वितरण गर्ने नीति रहेको छ । संविधानको अनुसूची ५ देखि ९ सम्म वन तथा वातावरण संरक्षणको जिम्मेवारी सङ्घीय सरकार, प्रादेशिक सरकार र स्थानीय तहको रहेको छ ।

वन ऐन २०४९, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९, वातावरण संरक्षण ऐन २०५३ र नेपालले अन्तर्राष्ट्रिय स्तरमा गरेका सन्धी सम्झौताहरू जस्तै जैविक विविधता महासन्धि लगायतका सन्धि सम्झौताले वन र वातावरण संरक्षणका लागि स्वस्थानिय र परस्थानिय रूपमा वनस्पतिको संरक्षण गर्नु पर्ने कुरामा जोड दिएको पाइन्छ । साथै राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको रुखहरू कटान गर्दा १ः२५ को दरले वृक्षारोपण गरी उक्त बिरुवाहरूलाई ५ वर्षसम्म स्याहार संभार गरी सम्बन्धित डिभिजन वन कार्यालयलाई हस्तान्तरण गर्नु पर्ने कानुनी प्रावधान रहेता पनि यस प्रकारको वृक्षारोपणको सफलता निकै कम रहेको छ ।

नेपाल सरकार (माननीय मन्त्रिस्तर) को मिति २०७५/०३/०३ को निर्णयबाट आषाढ १४ गतेलाई राष्ट्रिय वृक्षारोपण दिवसको रूपमा मनाउने निर्णय भएको हुँदा उक्त दिनदेखि राष्ट्रिय वृक्षारोपण दिवस मनाउन थालिएको हो । साथै नेपाल सरकार (मन्त्रिपरिषद्) को मिति २०७६/०३/०८ को बैठकको निर्णय अनुसार गत वर्षको विश्व वातावरण दिवसदेखि एक नागरिक एक फलफुल विरुवा रोपण अभियान शुभारम्भ भएको हुँदा सोही अभियानलाई सफल बनाइ मुलुकलाई फलफुलमा आत्मनिर्भर एवं निर्यातयोग्य मुलुकका रूपमा परिचित गराउनका लागि प्रत्येक वर्षको आषाढ १४ गते फलफुल लगायतका बिरुवा रोपण गरी देशव्यापी रूपमा वृक्षारोपण दिवस मनाउने, सबै निकायका हरेक पदाधिकारीहरू एवं कर्मचारीहरूले एक–एक वटा बिरुवा रोपण गर्ने, सबै निकायहरूले आ–आफ्ना कार्यालय परिसर एवं धार्मिक स्थल, सडक किनार, नदी उकास क्षेत्र, हैसियत बिग्रेका वन क्षेत्रमा फलफुल एवं औषधीजन्य वनस्पति रोपण गरी वृक्षारोपण वर्षको रूपमा घोषणा गरिएको आ.व. २०७६/०७७ लाई वृक्षारोपण वर्षको रूपमा सफल बनाउने भनी निर्णय भएको छ । साथै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को मिति २०७६/०३/१० को पत्रबाट आम कार्यकर्ता, पार्टी सदस्य, समर्थक–शुभचिन्तक सबैलाई असार १४ को वृक्षारोपण दिवसको अवसरमा आफ्नो निजी जग्गा एवं सार्वजनिक स्थलमा कम्तीमा २ वटा बिरुवा रोपण गरी सोको संरक्षण गर्न परिपत्र भएको छ ।

त्यस्तै वृक्षारोपण वर्षको अवसरमा वन तथा वातावरण मन्त्रालयले ५ करोड बिरुवा जसमध्ये १ करोड ५० लाख फलफुलका बिरुवाहरू रोप्ने योजना अगाडि सारेको छ । यस्तै वन तथा वातावरण मन्त्रालयको आयोजना तथा विभिन्न सरकारी र गैर सरकारी सङ्घ, संस्था, नागरिक समाज, राजनीतिक पार्टीको सहयोगमा राष्ट्रिय वृक्षारोपण दिवस २०७६ असार १४ को अवसरमा काठमाडौँको कोटेश्वर–कलंकी सडक खण्डमा वृक्षारोपण कार्यको शुभारम्भ सम्माननीय प्रधानमन्त्री के.पी. शर्मा ओलीबाट भई कल्कीफूल, तेजपात, रुद्राक्ष, राजवृक्ष, विरेन्द्रफूल लगायतका करिब २,७०० वटा विरुवाहरु वृक्षारोपण गरिएको छ ।

नेपालमा वृक्षारोपण कार्यका लागि वन तथा वातावरण मन्त्रालय र अन्तर्गका निकायहरू र समुदायमा आधारित वन उपभोक्ता समुहहरु, निजी वन धनी र आम नागरिक कार्यरत रहेका छन् ।

वृक्षारोपण सम्बन्धी समस्या एवं चुनौतीहरू :

नेपालमा वृक्षारोपण सम्बन्धी केही समस्या एवं चुनौतीहरू निम्न छन् :
वृक्षारोपण क्यालेण्डर अनुसार वृक्षारोपण कार्य सञ्चालन नगरिनु
बिरुवा उत्पादन गर्न आवश्यक पर्ने वन वगैचाबाट बिउ सङ्कलन नगरिनु
उच्च प्रविधियुक्त नर्सरीको अभाव एवं बहुवर्षीय बिरुवाको वृक्षारोपणमा कमी
वृक्षारोपण गरिने क्षेत्रको छनोट गर्दा माटो परीक्षण लगायत प्राविधिक पक्षको आँकलन नगरिनु
वृक्षारोपण गर्दा बिरुवा ढुवानी एवं मलखाद र खाडलको साइजको अपर्याप्तता
वृक्षारोपण क्षेत्रको उचित संरक्षण र व्यवस्थापन हुन नसक्नु
वृक्षारोपण अनुगमन एवं तथ्याङ्क प्रणालीलाई व्यवस्थित तगर्न नसकिनु आदि ।

वृक्षारोपण कार्यलाई सफल पार्ने उपयाहरु: 

वृक्षारोपण कार्यलाई सफल पार्न निम्न उपायहरू अपनाउनु पर्छ :
वृक्षारोपण क्यालेण्डर अनुसार श्रावण महिनादेखि नै नर्सरी सम्बन्धी विउ सङ्कलन, नर्सरी मर्मत लगायतका कार्यहरू समयमा नै सञ्चालन गर्नु पर्दछ ।
वीउ गुनाको फल भनेझैं वन बिउ वगैचाबाट स्वस्थ बिउ तथा कटिङ्ग सङ्कलन गरी बेर्नाहरू उमार्नुपर्छ ।
हरेक सव डिभिजन तथा स्थानीय तहमा करिब १ लाख बिरुवा उत्पादन गर्न सकिने वहुवर्षिय विरुवा उत्पादन गरिने हाइटेक नर्सरीको निर्माण गरी लाथ्रा अवस्थाका विरुवाहरु मात्र वृक्षारोपणका लागि उपयुक्त हुने र अन्यथा पेश्की फछ्र्यौट नगरिने व्यवस्थालाई कडाइका साथ लागु गरिनु पर्ने ।
वृक्षारोपण गर्दा कम्तीमा १ घन फिटको खाडल खनी त्यसमा कम्पोष्ट मल र आवश्यकता अनुसार रासायनिक मलको व्यवस्थापन गरी टेको सहितको ठाउँ सुहाउँदो विरुवा रोपण गरिनु पर्ने।
विरुवा रोपण पश्चात् कम्तीमा ३ वर्षसम्म हेरालु सहित घेरवारको व्यवस्था गर्नु पर्ने र मरेको स्थानमा पुन रोपण गर्नुपर्ने ।
वृक्षारोपण कार्यका लागि भरपर्दो संस्थागत संरचना र क्षमता विकास पनि गरिनु पर्ने र वृक्षारोपण क्षेत्रको नियमित अनुगमन गरी तथ्याङ्क अद्यावधिक गरिनुपर्ने ।

उपसंहार

यसरी विभिन्न सरकारी र गैर सरकारी क्षेत्रका कार्यालयका खाली ठाउँ, विद्यालय र क्याम्पसका खाली चौरहरु, निजी जग्गाहरु, सडक किनारा, नदी र खोला किनारा, सार्वजनिक जग्गा, वन क्षेत्र, झाडी बुट्यान क्षेत्र आदिमा आम नागरिक, निजी क्षेत्र, नागरिक समाज, राजनीतिक पार्टी, सरकारी क्षेत्र सबैले आ–आफ्नो क्षेत्रबाट सक्दो सहयोग गरी वृहत् रूपमा वहु उपयोगी फलफुल, काष्ठजन्य, गैर काष्ठजन्य बिरुवाहरू वृक्षारोपण दिवसका दिनदेखि रोपण गर्दै उक्त रोपेका बिरुवाहरूको उचित हेरचाह र संरक्षण गरी सो रुखहरूबाट सतत रूपमा उत्पादन लिँदै देशलाई चाहिने आवश्यक वस्तुहरुको परिपूर्ति गरी व्यापार घाटा कम गर्दै राष्ट्रको समृद्धीमा योगदान गर्न वृक्षारोपण कार्यले मद्दत गर्न सक्छ ।

#जोशी सहायक वन अधिकृत हुन्।

लक्ष्मी राज जोशी

प्रतिक्रिया दिनुहोस

web
analytics