कछुवा गतिमा मेलम्ची खानेपानी आयोजना

       असोजमा पनि नआउने भयो मेलम्चीको पानी




आगामी असोजमा पनि राजधानीवासीका धारामा मेलम्चीको पानी आउने सम्भावना लगभग टरेको छ। आइतबारको नागरिक दैनिकमा हिमाल लम्साल लेख्छन् मेलम्ची खानेपानी आयोजनाको योजना अनुसार सुरुङ खन्ने काम नभएकाले असोजमै पानी आउने सम्भावना नदेखिएको हो ।

आयोजनाका अनुसार पछिल्लो पटक सुरुङ खन्ने जिम्मा पाएको इटालियन कम्पनी को–अपेरटिभ मुरातोरी एन्ड सिमेन्टिस्टी (सीएमसी) ले खन्ने उपकरण ब्रेकडाउनु, सुरुङको मुख टाढा भएको, नयाँ जगेडा पार्टपुजा तथा स्पेयर्स पार्ट नभएको बहाना गर्दै काममा आलटाल गर्दा असोजमा राजधानीमा मेलम्चीको पानी ल्याउने योजना पूरा नहुने देखिएको हो। यसअघि आयोजनाले असोजभित्र मेलम्चीको पानी राजधानी ल्याउने जनाएको थियो।

आयोजनाका उपकार्यकारी निर्देशक रमाकान्त दवाडी अहिलेकै गतिमा सुरुङ खन्ने काम भइरहे असोजभित्रै मेलम्चीको पानी आउने सम्भावना न्यून भएको बताउँछन्।

असोज महिनाभित्रै मेलम्चीको पानी ल्याउने यसअघिको कार्ययोजनाअनुसार उपत्यकाका सडकमा पाइप बिछ्याउने कार्य भने चलिरहेको छ। मेलम्ची आयोजनाका अनुसार अझै ४.४ किलोमिटर सुरुङ खन्न बाँकी छ। ठेकेदार कम्पनीले अहिले दैनिक सरदर १५ देखि १९ मिटर सुरुङ खन्दै आएको आयोजनाले जनायो। कम्पनीले सरदर दैनिक २० मिटर सुरुङ खन्ने पनि बाँकी काम पूरा गर्न दुई सय २० दिन लाग्ने देखिन्छ। दैनिक २० मिटरका दरले खन्न सके अझै सात महिना त सुरुङ खन्न मात्रै लाग्छ।

खनिसकेपछि सुरुङको प्लास्टर, गेट भेन्टिलेटर निर्माण, अप्टिकल फाइबर बिछ्याउने, सिसी क्यामेरा र ट्रिटमेन्ट प्लान्ट बनाउने लगायत काम गर्नुपर्ने हुन्छ। यो काम गर्न झन्डै तीन महिना लाग्ने आयोजनाका एक वरिष्ठ इन्जिनियरले जानकारी दिए।

मेलम्ची खानेपानी उपआयोजना प्रमुख तथा निर्देशक घनश्याम भट्टराईले असोज महिनाभित्रै मेलम्चीको पानी ल्याउन प्रयत्न भइरहेको बताए । सिन्धुदेखि ग्याल्थुमसम्मको २.२ किलोमिटर सुरुङ खन्न बाँकी छ। त्यस्तै ग्याल्थुमदेखि अम्बाथानसम्म पनि २.२ किलोमिटर खन्न बाँकी छ। ठेकेदारले अहिले चार ठाउँबाट सुरुङ खन्ने कामलाई निरन्तरता दिइरहेको छ।

काम कछुवा गतिमा भए पनि खानेपानी तथा सरसफाइ मन्त्रालयका सचिव भीम उपाध्याय भने आगामी दसैंभित्र जसरी पनि मेलम्चीको पानी काठमाडौं ल्याएरै छोड्ने दाबी गर्छन्। मन्त्रालयले ठेकेदार कम्पनीलाई निर्माणका लागि अत्यावश्यक औजार खरिदमा बैंक धरौटीमार्फत ३० करोड रुपैयाँ उपलब्ध गराएको जनाएको छ।

आयोजनाका अनुसार मेलम्ची नदीबाट दैनिक १७ करोड लिटर पानी काठमाडौं उपत्यकामा ल्याइनेछ। आयोजनाका अनुसार मेलम्ची खानेपानी आयोजनामा २० अर्ब रुपैयाँ खर्च भइसकेको छ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics