माफियाले काम गर्नै दिएनन् : वातावरण मन्त्री

नेपालमा वातावरण तथा जनसंख्याको मुद्दा त्यति धेरै प्राथमिकतामा परेको पाइदैन । राजनीतिक दलहरुलेसमेत यो मन्त्रालयलाई संधैजसो अत्यन्तै कम प्राथमिकतामा राख्छन् । ठूला राजनीतिक दलहरुले भने यो मन्त्रालय हत्तपत्त रोज्दैनन् । विगत केही वर्षदेखि लगातारजस्तै यो मन्त्रालयको जिम्मेवारी नेकपा (संयुक्त) ले पाइरहेको छ । अहिले पनि सोही दलका नेता जयदेव जोशी जनसंख्या तथा वातावरण मन्त्री छन् । उनले आफूलाई काम गर्न माफियाले नदिएको गुनासो गरे । उनले काम गर्न नदिने समूहमा अर्थ मन्त्रालयदेखि व्यापारीसम्मको हात रहेको खुलासा पनि गरे । उनीसंग गरिएको कुराकानी :



वातावरण मन्त्रालयमा अहिले के नयाँ काम गरिरहनुभएको छ ?
वास्तवमा यो मन्त्रालयमा स्वतन्त्र रुपमा काम गर्नै मैले पाएको छैन । त्यसमा म दुखी छु । स्वतन्त्र रुपमा काम गर्न वातावरण वातावरण मन्त्रालयमा छैन । मफियाहरु वातावरण मन्त्रालयमा हालीमुहाली गरिरहेका छन् । राम्रो काम गर्ने वातावरणमा माफियाको अवरोध छ । उनीहरुले जालमा पारेका छन् ।

ती माफिया को हुन् त ?
माफिया भन्नाले व्यापारीहरुको समूह जसले वातावरण संरक्षणभन्दा पनि आफ्नो फाइदालाई ध्यान दिन्छन् । त्यस्तै वातावरण संरक्षणमा काम नगरी नाफा कमाउने र आफ्नो स्वार्थ पुरा गर्न खोज्न समूह यहाँ हावी छ ।

वातावरणको मुद्दामाथी मन्त्रीपरिषदमा कसरी छलफल हुन्छ ?
विषयवस्तु र मुद्दा हेरेर छलफलको प्रकृतिक निर्धारण हुन्छ । धुवाँ धुलोले साना स्कुल जाने बालबालिका बिरामी भएर अस्पताल जान बाध्य भएका विषयमा हामीले लामो समय छलफल गरेका छौं ।

धुवाँं धुलो नियन्त्रणका लागि के प्रयास भए त ?
उपत्यकामा धुलो र धुवाँले बस्न नसक्ने वातावरण बनाएको छ । मेलम्ची खानेपानीका ठेकेदारको लापरवाहीका कारण यो समस्या आएको हो । यसलाई व्यवस्थापन गर्न विभिन्न चरणमा छलफल भइरहेको छ । हामी दीर्घकालिन योजना बनाइरहेका छौं ।

वातावरण मन्त्रालयले तत्काल गर्न सक्ने काम के छन् ?
राजनितीक स्थिरता छैन । त्यसैले पहिला सरकारले भिजन नै बनाउन आवश्यक छ । काठमाडौंको प्रदुषण नियन्त्रण लगायतका विषय अहिलेका प्राथमिकता हुन् । प्रदुषणरहित सवारीसाधनको प्रयोग, तथा धुवाँ धुलो उत्सर्जन नगर्ने सवारीसाधनलाई सर्वसाधारणको पहुँचमा ल्याउनु नै अहिलेका आवश्यकता हुन् ।

भएका नीति नियम नै कार्यान्वयन हुदैनन्, किन ?
नेपालमा स्वतन्त्र रुपमा काम गर्ने वातावरण छ्रैन । धेरै माफियाहरु छन् । काम गर्न चाहनेलाई यहाँको राजनितिक दलहरुसमेत माफियाको जालोमा छन् । त्यहाँबाट निस्कनै गाह्रो छ ।

प्रदुषण शुल्क भनेर उठाइएको पैसा ४ अर्ब रुपैयां खर्च गर्न मन्त्रालयले सकेन भन्ने आरोप छ नी ?
वातावरणको कोष भनेर छुटै खडा गरेको छैन । त्यो जम्मा भएको पैसाले अन्य कार्यक्रम गर्न सकिन्छ भन्ने भ्रम मात्रै हो । कोषमा जम्मा भएको पैसालाई अर्थमन्त्रालयले स्वीकृत गनुपर्छ । त्यो निक्कै झंझटिलो प्रकृया छ । स्वीकृतको लागि अर्थमा जाउ त्यो पनि बैशाख र जेठको अन्तिममा कनिका छरे जस्तो पैसा आउछ यसमा काम गर्न निकै समस्या छ । यसरी पैसा नियन्त्रणको रुपमा गरी राख्यो भने स्थायी रुपमा काम गर्न सम्भव हुदैन । यसलाई सहज बनाउनुपर्छ ।

मन्त्री भएपछि संझन योग्य केके काम गर्नु भयो ?
निष्क्रिय रहेका तीनवटा परिषद्हरु जलवायुपरिवर्तन परिषद्, जनसख्या परिषद्, वातावरण संरक्षण परिषद्लाई सक्रिय गराएँ । तिनवटै परिषद्को अध्यक्ष प्रधानमन्त्री रहने व्यवस्था भएकाले यसलाई सक्रिय बनाउनु राम्रो उपलब्धी हो । लघु जलविद्यतुतलाई प्राथमिकता दिएका छौं । अरु पनि केही योजना बनाइरहेका छौं ।

वातावरणलाई विदेश जान छानिएको भन्ने आरोप छ नि ?
वातावरण दुषित हुने काम नेपालले मात्र गरेर होइन यो अन्तरष्ट्रिय रुपमा नै यसको भूमिका हुन्छ । नेपालको हक हितको लागि वातावरणको मुद्दा विश्वमा नै उठाउनु पर्ने हुन्छ ।

अन्तराष्ट्रिय भेटघाटमा नेपालले कस्ता विषयमा अन्तर्राष्टिय समुदायको इच्छा देख्नुहुन्छ ?
जलवायु परिवर्तन र कृषिजन्य क्षेत्रमा उनीहरुको रुची बढी देखिन्छ । त्यस्तै नेपालका हिमालहरु पग्लिरहेका विषयलाई चासो दिन्छन् । साझेदारीमा अध्ययन अनुसन्धानका लागि उनीहरुको चासो बढी पाएको छु ।

प्रदुषण नियन्त्रणमा युवाहरुलाई आकर्षित गर्न के गनुपर्छ ?
म युवाहरु सँग भेटघाट कायक्रम गरिरहेको हुन्छु । केही महिना अघि अस्कल र पोखराको युवा माझ भेटघाट कार्यक्रम गरेँ जहाँ मैले युवालाई निकै सक्रिय पाएको छु । जलवायु परिवर्तन र वातावरणको चुनौती सामना गर्न ठूलो भूमिका युवाहरुको नै हुन्छ । युवाहरुले नेपालमा नै अवसर पाउनु पर्छ ।

 

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics