कर्णालीमा क्यान्सर व्यहोरेकी मनसराको व्यथा

उपचार अभावमा अाँखाकाे क्यान्सर भएकी मनसरा लुहार

'कर्णालीको कहर'


केही समय अघिमात्र कालिकोटको पलाता क्षेत्रमा एउटी बालिकालाई आखामा चोट लाग्यो । पाँच बर्षिया मनसरा लुहार सदरमुकाम मान्ममा रहेको आँखा उपचार केन्द्रमा सामान्य उपचार गरी फर्किइन् । तर त्यो उपचारले आँखा निको भएन ।

कर्णालीको दलित परिवारमा हुर्किएकी उनको आर्थिक अवस्था कमजोर थियो । उनको थप उपचार हुन सकेन र क्यान्सर भयो । यो खबर फेसबुकमा सार्वजनिक भएपछि केही युवाहरूको सहयोगमा उनलाई उपचारका लागी काठमाडौंमा ल्याइयो । उनको उपचारका लागी काठमाडौं आएका रविन्स फेडेरा भन्छन् ‘उनले आफ्नो आँखा गुमाइन्, अहिले उनको उपचार भइरहेको छ ।’

हालैमात्र नेपालको सुडान भन्दै केही राष्ट्रिय दैनिकहरुमा कालिकोटको कोलिगाउँकी १४ महिनाको बालिकाको तस्बिर प्रकाशित गरियो । कुपोषणले व्याप्त बालिकाको त्यो तस्बिर कारुणिक र दया लाग्दो देखिन्छ । उनको पनि उपचारको क्रममा मृत्यु भइसकेको छ । बालिकाको मृत्युको मुख्य कारण समयमा उपचार हुन नसक्नु नै हो ।

कर्णालीको अवस्थालाई हेर्ने हो भने, अहिले पनि ७० प्रतिशत मानिस अस्पतालको पहुँच बाट टाढा देखिन्छन् । यद्यपि जिल्ला भरी विभिन्न संस्थाद्धारा पोषणका कार्यक्रम सञ्चालनमा रहेको देखिन्छन् ।

जुम्लाको एक ब्लड क्यान्सरकी रोगी युवतीले स्वास्थ्य मन्त्री गगन थापालाई पत्र लेखिन् । पत्र पाएपछि थापा उक्त बिरामीलाई भेट्न गएको खबर आयो । थाहा छैन स्वास्थ्यमन्त्रीलाई कर्णालीको बिरामीको अवस्थाले छोयो कि छाएन ?
मिति २०७३ चैत्र २३ गते कारोबार दैनिकमा कर्णालीमा कुपोषण उस्तै शीर्षकमा मा खबर छापियो, जस अनुसार कालिकोट मा ६३ प्रतिशत, हुम्लामा ४३ प्रतिशत, मुगुमा ६१ प्रतिशत, डोल्पामा ११ प्रतिशत कुपोषणको समस्या रहेको छ ।

कर्णालीका यस्ता खबर सँधैजसो आइरहन्छन् । जबकि सबैभन्दा बढी यही क्षेत्रमा राज्यले र विभिन्न संघ संस्थाले पौस्टिक आहार सम्बन्धी विविध कार्यक्रम सञ्चालन गरिरहेका छन् । कर्णाली सधैँ कुपोषित छ तर पनि यसको समाधान आजसम्म भेटिन सकेको छैन ।

सुनिन्छ, राज्यले स्वास्थ्य क्षेत्रलाई निकै महत्व दिएको छ । नेपालको संविधानमै स्वास्थ्य सम्बन्धी हकको व्यवस्था गरिएको छ । गगन थापा स्वास्थ्यमन्त्री भएपछि नेपालको स्वास्थ्य क्षेत्रमा नीतिगत तथा कार्यगत सुधार भएको भन्ने पनि सुनियो ।

डाक्टर गोविन्द के सी पनि चिकित्सा क्षेत्रको विकासका लागी धेरै पटक अनसन बसे । राज्यका स्वास्थ्य सम्बन्धी निकायले तालिम र गोस्ठीका नाममा पैसा खर्च गरिरहेको छ । नेपालको विकट मानिने कर्णालीमा पनि बर्सेनि भिन्न भिन्न एनजिओ आइएनजिओले विभिन्न कार्यक्रम लिएर जाने गरेका छन् । यस्ता एनजिओ आइएनजिओले कर्णाली स्वास्थ्य सम्बन्धी सुधारका धेरै कार्यक्रम सफल भएको रिपोर्ट प्रस्तुत गरेका छन् । तर पनि कर्णालीको जनताको स्वास्थ्य अवस्था राम्रो हुन सकेको छैन ।

फाइल फाेटाे


स्वास्थ्य विज्ञान प्रतिष्ठान सहित पाँच वटा जिल्ला अस्पताल रहेको यो ठाउँमा अधिकांश ग्रामीण क्षेत्रका स्वास्थ्य चौकी तथा उपस्वास्थ्य चौकीमा डाक्टर देखिदैनन् । कर्णालीको यो भूगोलमा आयुर्वेद तर्फ पनि जिल्ला औषधालय र औषधालयहरु रहेका छन् तर पनि यहाँका अधिकांश बिरामी उपचारका लागि नेपालगंज र भारतको लखनउको नै भर पर्नु परेको छ । यहाँको उपचार यति महँगो छ की कर्णालीबासीको कमाइले धान्न सक्दैन । त्यसैले पनि कर्णालीका अधिकांश रोगीहरु रोग पालेरै मृत्यु कुरेर बसिरहेका छन् ।

कर्णालीमा प्रसव व्यथाका कारण ज्यान गुमाउने आमाहहरुको यकिन तथ्यांक नभएपनि यसका कारण ज्यान गुमाउने आमाहरूको संख्या धेरै छन् । मातृ मृत्युदर उच्च रहेको कर्णालीमा रगत अभावका कारण मृत्यु हुने धेरै छन् । ग्रामीण भूभागमा हुने यस्ता अकाल मृत्युका घटना धेरै छन् जुन मिडियामा आउँदैनन् । ग्रामीण इलाकामा स्वास्थ्य संस्था नहुनु र भएका स्वास्थ्य संस्थामा पनि चिकित्सकको अभावका कारण यो क्षेत्रमा मातृ मृत्युदर बढिरहेको छ ।
अनुहारमा चोटको खत वा दाग छ भने त्यो कर्णालीको मान्छे हो भनेर चिन्नु !

कर्णालीले भोगेको तर राज्य तथा गैरसरकारी निकायको अध्ययनको क्षेत्र पर्न नसकेको विषय हो भिरबाट लड्ने समस्या । विशेषगरी कालिकोट, मुगु, डोल्पा तथा हुम्लामा यस किसिमको समस्या व्यापक छ ।

अप्ठेरो भूगोलका कारण यी क्षेत्रमा दैनिक जसो मानिसहरू लडेर घाइते हुने गरेका छन् । बर्सेनि भिर बाट लडेर उपचार नपाई मर्नेको सङ्ख्या कति छ भन्ने तथ्याङ्क कसैसँग छैन । लडेर घाइते भएकाहरुका लागी तत्काल उपचार पाउन सक्ने खालको अस्पताल कर्णालीमा अझै बन्न सकेको छैन ।

पत्रकार रमेश रावल भन्छन्, 'अनुहारमा चोटको खात वा दाग छ भने त्यो कर्णालीको मान्छे हो भनेर चिन्नु !' राज्यले कर्णाली मैत्री स्वास्थ्य नीति ल्याउन नसक्दा अहिले पनि कर्णाली समस्यै समस्यामा ग्रसित छ ।

कालिकोटको सदरमुकाममा सुविधा सम्पन्न अस्पतालको निर्माण गर्नुपर्ने अभियान चलाउँदै आएका तरुण दलका युवानेता भुपेन्द्र जङ्ग शाही सरकारले कर्णालीको स्वाथ्यमा उदासिनता देखाएको आरोप लगाउँछन् । उनी भन्छन्, कर्णालीको लागी हेलिकप्टर एम्बुलेन्सको व्यवस्था गरिनुपर्छ ।

कर्णालीका अधिकांश अस्पतालहरू केवल डाक्टरहरुकालागि जागिर खाने थलोका रूपमा मात्रै देखिएका छन् । यहाँ स्वास्थ्य चौकी र अस्पताल छन् तर आवश्यक मात्रामा डाक्टर छैनन् । मान्मका हरिचन्द्र आचार्य भन्छन्, ‘कालिकोट को जिल्ला आयुर्बेद औषधालयमा कार्यरत डाक्टर गएको दुई वर्ष भैसक्यो । तर पनि यहाँ अरू कुनै डाक्टर आएका छैनन् ।’

एकातिर कर्णालीबासी गुण्स्तस्तरीय स्वास्थ्यबाट वञ्चित छन् भने अर्कोतर्फ गुणस्तरहिन भारतीय औषधी प्रयोग गर्न बाध्य छन् । कर्णालीका गाउँमा सञ्चालनमा रहेका मेडिकलहरुले गुणस्तरहीन औषधी बिक्री गरिरहेका छन् । मुगुका स्थानीयबासी राम नारायण रोकाया भन्छन् यस्ता मेडिकलहरुको अनुगमन गर्ने कुनै निकाय छैन ।

कर्णालीको गाउघरमा अहिले पनि अधिकांश मानिस बिरामी उपचार गर्न धामी झाँक्रीकै प्रयोग गर्दै आइरहेका छन् । चिकित्सा क्षेत्रको विकास र सुधारका लागी कर्णालीलाई प्राथमिकतामा राखिनुपर्ने देखिन्छ ।

चन्द्र प्रसाद कोइराला

प्रतिक्रिया दिनुहोस

web
analytics