तामाकोशीको काम समयमा सक्न प्रधानमन्त्रीको निर्देशन



प्रधानमन्त्री केपी शर्मा ओलीले माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको काम तोकिएकै समयमा पूरा गर्न निर्देशन दिएका छन् ।यस आयोजनाको निर्माण समयमै नसकिने देखिएपछि बुधबार स्थलगत निरीक्षणमा पुगेका प्रधानमन्त्री ओलीले जसरी भएपनि तोकिएकै समयमा सक्ने निर्देशन दिएका हुन ।

उनले सम्वद्ध अधिकारीहरुलाई निर्देशन दिँदै भने ‘यो आयोजना समयमा नबन्दा प्रत्यक्ष मात्रै होइन यसबाट अप्रत्यक्ष रुपमा झन ठूलो नोक्सानी हुन्छ, त्यसैले कसैले काम गरेन भनेर दोष लगाएर नपन्छिनू, जसरी भए पनि आयोजना समयमै निर्माण सम्पन्न गर्नू ।’

यस आयोजना २०७५ सालको पुस महिनामा पूरा हुने लक्ष्य राखिएको छ । तर हाइड्रोमेकानिकल सामान आयात र जडान गर्ने जिम्मा लिएको भारतीय कम्पनी टेक्सम्याकाले काममा ढिलाइ गर्दा आयोजना समयमा पूरा नहुने सम्भावना बढेको छ ।

प्रधानमन्त्री ओलीले दोलखाको चरिकोटदेखि लामोसाँघुसम्म बिग्रेको सडकका कारण आयोजना निर्माणमा ढिलो भएको भए त्यो सडक तत्काल मर्मत गर्न समेत पहल गर्ने बताएका छन् ।उनले २०७६ को वैशाखसम्ममा आयोजनाका सबै युनिट सञ्चालनमा ल्याउनुपर्ने बताएका छन् ।

प्रधानमन्त्रीसँगै स्थलगत निरीक्षणमा पुगेका ऊर्जामन्त्री वर्षमान पुन अनन्तले पनि निर्धा्रित समयमै आयोजनाको निर्माण सम्पन्न हुनुपर्ने बताएका छन् ।
विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भने यो आयोजना सञ्चालनमा आएसँगै बिजुली आयातका लागि भारत जाने १८ अर्ब रकम देशमै रहने बताएका छन् । उनले भने ‘एक महिना मात्रै पनि यो आयोजना छिटो निर्माण सम्पन्न गर्न सकियो भने अर्बाै रकम बचत हुन्छ ।’

निर्माण अवधि लम्बिदा दैनिक १ करोड ब्याज र विद्युत उत्पादनपछि प्राप्त हुने साढे २ करोड रुपैयाँ आम्दानी गुम्ने भएकाले समयमै सक्नुपर्ने हुन्छ । आयोजना निर्माणका लागि ३७ अर्ब २९ करोड खर्च भइसकेको छ ।

आयोजनाको लागत ४९ अर्ब २९ करोड हुने उनको आँकलन छ । सुरुमा यो आयोजनाको लागत भने ३५ अर्ब ३० करोड आँकलन गरिएको थियो ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics