लघु जलबिद्युत स्वच्छ विकास संयन्त्र आयोजनाले पायो अन्तर्राष्ट्रिय अवार्ड



वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले प्रवर्द्धन गरेको लघु जलबिद्युत स्वच्छ विकास संयन्त्र आयोजनाको ‘नवीन परिणाममा आधारित लगानी’ अन्तर्राष्ट्रिय पुरस्कारद्धारा पुरस्कृत भएको छ ।

संयुक्त राष्ट्रसंघिय जलवायु परिवर्तन सम्बन्धी ढाँचा महासन्धि अन्तर्गत दर्ता भएको यो आयोजना Global Partnership on Output Based Aid (GPoBA) बाट सन् २०१६ को Inn-Obation Award पुरस्कृत भएको हो । विश्व बैङ्क अन्तर्गत रहेको GPoBA सन् २००३ मा विभिन्न दातृ निकायबाट स्थापना भएको कोष हो । यो पुरस्कार वार्षिक रूपमा प्रदान गरिन्छ ।
जनसङ्ख्या तथा वातावरण मन्त्रालयमा बिहीबार आयोजित कार्यक्रममा नेपालमा रहेको विश्व बैङ्ककाे निर्देशक टाकुया कामाताले विश्व बैङ्कको तर्फबाट उक्त अवार्ड वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक राम प्रसाद धिताललाई प्रदान गरे ।

लघु जलबिद्युत आयोजनाहरूको स्थापना मार्फत् नेपालका ग्रामीण क्षेत्रमा विस्तारीत विद्युतीय सेवाले स्थानीय जनजीवनमा सहजता ल्याएको र यो परिणाममा आधारित लगानीको नवीन कार्य भएकोले केन्द्रलाई पुरस्कृत गरिएको हो । पुरस्कृत यो स्वच्छ विकास संयन्त्र आयोजनामा नेपालको ग्रामीण क्षेत्रमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र मार्फत् नेपाल सरकारको नवीकरणीय अनुदान नीति अन्तर्गत निर्मित कुल करिब १५ मेगावाट क्षमताका ४ सय ५० वटा लघु जलबिद्युतलाई संयोजन गरिएको छ ।

यो स्वच्छ विकास संयन्त्र आयोजना अक्टोबर १८, २०१० मा संयुक्त राष्ट्रसंघिय जलवायु परिवर्तन सम्बन्धी ढाँचा महासन्धिमा दर्ता भएको हो । आयोजनाबाट हालसम्म ४३३ वटा लघु जलबिद्युत आयोजनाहरूको निर्माण सम्पन्न भई १ लाख ३३ हजार १५४ ग्रामीण घरधुरीमा बिद्युतको पहुँच पुगेको छ । विश्व बैङ्कको सहयोगमा दर्ता भएको यस आयोजनाबाट स्थानीय क्षेत्रमा उद्यमशिलता र आथिक क्रियाकलापहरू मार्फत् रोजगारीका तथा आयआर्जनका अवसरहरू सृजना भई गरिबी निवारण र जिवनस्तरमा सुधार ल्याउनुका साथै प्रत्यक्ष रूपमा शिक्षा, लैङ्गिक समानता, महिला शशक्तिकरण, स्वास्थ्य तथा वातावरण संरक्षणमा योगदान पुगेको छ ।

यस केन्द्रको अध्ययन अनुसार एउटा लघु जलबिद्युत आयोजनाले निर्माणको चरणमा औषत ४६ जना तथा आयोजनाको निर्माण सम्पन्न भएपछि तथा आयोजना सञ्चालन गर्न औषत ३ जनालाई रोजगारी प्रदान गरेको छ । साथै यस आयोजनाको कार्यान्वयन पश्चात् त्यहाँका उपभोक्ताको बचतमा वृद्धि भएको, बिद्युतको उपयोगमा बृद्घि भई उज्यालो पार्न चाहिने खर्चमा कमी आएको, समयको बचत भई अन्य आय मूलक कार्यको लागि समय भएको तथा आय आर्जन गर्ने खालका परिप्रयोग प्रवर्द्धनमा वृद्धि भएको देखिएको छ । यस आयोजनाबाट हुने कार्बन उत्सर्जन न्युनीकरण बिक्रीका लागि विश्व बैङ्कसँग सम्झौता भएकोमा हालसम्म ९३ हजार ४ सय ३७ टन प्रमाणित उत्सर्जन न्युनीकरण जारी भई सो को बिक्री बाट करिब ६ लाख ५० हजार अमेरिकी डलर आम्दानी प्राप्त भई सकेको छ ।

जलवायु परिवर्तन सम्बन्धी क्योटो अभिसन्धिको प्रावधान अनुरूप यस केन्द्रले हाल सम्म बायोग्याँसका पाँच, सुधारीएको पानी घट्टको एक, लघु जलबिद्युतको एक र सुधारीएको चुलोको एक गरी हालसम्म आठ वटा स्वच्छ विकास संयन्त्र आयोजनाहरू दर्ता गराई सकेको छ । जस अन्तर्गत हाल सम्म झन्डै २ लाख १६ हजार बायोग्याँस प्लान्ट, कुल १५ मेगावाट क्षमता बराबरका ४ सय ५० वटा लघु जलबिद्युत आयोजना, लगभग ३ हजार ४ सय सुधारीएको पानी घट्ट तथा २२ हजार सुधारीएको चुलो दर्ता भईसकेका छन् ।

कार्यक्रममा जनसङ्ख्या तथा वातावरण मन्त्री जयदेव जोशीले परम्मरागत ऊर्जाको खपतलाई कम गर्दे नवीकरणीय ऊर्जाको विकास र विस्तारमा सरकार कटिवद्ध रहेको बताए । मन्त्रालयमा सचिव विश्वदेव ओलीले यस प्रकारका सवन्वयात्मक कार्यका लागि देशको केन्द्रीय स्तरमा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको अझै महत्त्वपूर्ण भूमिका रहेको जानकारी दिए।

जलवायु परिवर्तन तथा कार्बनका गतिबिधिहरुलाई अघि बढाउन वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रमा सन् २०१० मा जलवायु तथा कार्बन ईकाई स्थापना भएको केन्द्रका कार्यकारी निर्देशक राम प्रसाद धितालले बताए । कार्यकारी निर्देशक धितालका अनुसार उल्लिखित आयोजनाहरुबाट हाल सम्म करिब १६ लाख ५० हजार टन कार्बन उत्सर्जन न्युनीकरण प्रमाणित भई जारी भैसकेको र यस कार्बन व्यापार बाट कुल लगभग ७७ लाख ७२ हजार अमेरिकी डलर बराबर आम्दानी प्राप्त भई सकेको छ । कार्यकारी निर्देशक धितालले अन्य नवीकरणीय ऊर्जा प्रबिधिहरुलाई पनि कार्बन आयोजनाका रूपमा विकास गर्न अध्ययन भइरहेको तथा भविष्यमा आयोजनाबाट हुनै सबै उत्सर्जन न्युनीकरण बिक्रीका लागि विभिन्न अन्तर्राष्ट्रिय संस्थाहरुसँग छलफल भइरहेको समेत बताए ।

नवीकरणीय ऊर्जा प्रविधिहरू कार्बन आयोजनाको रूपमा दर्ता भई सञ्चालन हुँदा समग्र नवीकरणीय ऊर्जा कार्यक्रमको दीगोपनामा सहयोग पुर्‍याउने भएकोले आगामी दिनहरूमा सबै नवीकरणीय ऊर्जा प्रबिधिहरुलाई क्रमशः कार्बन आयोजनाको रूपमा विकास गरी कार्बन आम्दानी बढाउने तथा जलवायु परिवर्तन न्युनीकरण तथा अनुकुलनमा सहयोग पुर्‍याउने नवीकरणीय ऊर्जा आयोजनाहरू कार्यान्वयन गर्न हरित जलवायु कोष जस्ता जलवायु परिवर्तन सँग सम्बन्धित विभिन्न अन्तर्राष्ट्रिय कोष मार्फत श्रोत परिचालन गर्ने तर्फ केन्द्रले आवश्यक पहल गरिरहेको कार्यकारी निर्देशक धितालले जानकारी दिए ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics