जर्मनीमा कृषि जमिनको जगजगी

विश्वभरी नै कृषि पेशाको बृद्धि र विकास हुनेक्रम तिव्र छ । यो एउटा महत्वपूर्ण पेशा हो । कृषि बिना जीवन सम्भव छैन । पृथ्वीमा रहेको हरेक जीवलाई बाँच्नका लागि खाना आवश्यक छ । यसका लागि कृषिकार्य अपरिहार्य मानिन्छ । यही अर्थ र महत्व महसुस गरी संसारभरी कृषिका वास्तविक क्रान्ति भइरहेका छन् ।

नेपाललाई कृषि प्रधान देश भनिन्छ । तर नेपालमा व्यवसायीक हुन सकेको छैन । प्रविधी र सिपको अभावमा कृषिलाई एउटा सम्मानित पेशाका रुपमा समाज स्वीकार गर्न अझै सकिएको छैन । बजारीकरणको समस्या त्यतिकै जटिल छ । यसो भनिरहँदा नेपालमा कृषि क्रान्ति संभव छैन भन्ने होइन । तर यसका लागि भने ठूलै योजना र कार्यक्रम तय गर्नुपर्ने अवस्था छ ।

कृषि क्रान्ति गरिरहेको युरोपको एउटा विकसित देश जर्मनी पुगेर कृषि उपलब्धी अध्ययन गर्दा मलाई धेरै विषयले छोयो । कृषि सञ्चारसम्बन्धी जर्मनीको बोनमा भएको ६० औं सम्मेलनमा आयोजकले मलाई पनि निम्ता गरेका थिए । कृषिको उपलब्धी, प्रविधी र व्यवसायीकताका उच्चतम नमूना पांच दिनसम्म हेर्ने मौका मिलेको थियो । जहाँ संसारका करिव एकसय देशका कृषि सञ्चारविद् तथा पत्रकारहरुको उपस्थिती थियो ।



अलिकति व्यक्तिगत कुरा गरौं । मलाई बाल्यकालदेखि नै कृषि पेशाप्रति विशेष रुची थियो । पारिवारिक पृष्ठभूमीका कारण पनि बाल्यकालदेखि नै कृषि क्रियाकलाप र यसकै सेरोफेरोमा रहेर हुर्किएँ । त्यसैले पनि होला म जर्मनी र आसपासको कृषि क्रान्ति हेर्दा मेरो देशको कृषि उपलब्धी तुलना गरिरहेको थिएं ।सम्मेलनमा कृषिलाई कसरी दीर्घकालिन बनाउन सकिन्छ र भविष्यमा कृषि पेशालाई कसरी अगाडी बढाउन सकिन्छ भन्ने विषयमा केन्द्रित भएर छलफल गरिएको थियो । कृषि र वातावरण कसरी सँगै अगाडि बढ्न सक्छ भन्ने छलफल निकै नै फलदायी थियो । दीगो कृषिका लागि दीगो वातावरण संरक्षणको अवधारणा संगसंगै अघि बढेको रहेछ । जुन नेपालका लागि नौलो हो ।

काठमाडौंबाट इफाज सम्मेलनमा सहभागी निश्चित भएपछि नै युरोपको कृषि कस्तो होला भन्ने कौतुहलता मनमा थियो । जर्मनिमा पुगेर त्यहाँका दर्जनौं कृषि फार्मको अवलोकन भ्रमण गर्ने मौका मिल्यो । त्यहाका फार्म हाउसहरु निकै नै विकसित थिए । बढ्दो जनसंख्यालाई खाना पुराउनु नै अहिले त्यहाँ कृषिका लागि मूख्य चनौती रहेछ । उनीहरु खानाको अभाव हुन नदिन कृषि उत्पादन र उत्पादकत्व बढाउन विभिन्न विधी र प्रविधीको उच्चतम प्रयोगमा जोड दिइरहेका छन् । कृषिलाई कसरी दिगो बनाउन सकिन्छ ? कृषिलाई कसरी व्यवस्थित बनाउन सकिन्छ ? भन्ने विषयमा विश्वभरीका बिज्ञहरुले आफ्ना अनुभव र सिकाइ बाँडे ।


कृषि व्यवसायबाट विश्वका जनतालाई कसरी आर्थिक रुपमा आत्मनिर्भर बनाउन सकिन्छ भन्ने छलफल विशेष उपलब्धीमूलक थियो । नेपालमा भने अझै पनि कृषिको महत्व बुझाउन सकिएको छैन । कृषिको महत्व, कृषि प्रणाली र यसको उपयोगिता बारे सबैले बुझ्न सकेका छैनन् । सम्मेलनमा सहभागी कृषि पत्रकार तथा सञ्चारविद्ले त्यहां सिकेका र देखेका अनुभवले गरिब जनता र युवाहरुलाई आत्मनिर्भर बनाउन पहल कदमी लिन सक्ने देखियो ।



कृषि कार्यका लागी नयाँ नयाँ कृषि फर्म खोल्दै दिगो कृषि व्यवस्थापन गरी त्यसलाई वैज्ञानिक ढंगबाट यूवा परिचालन गरी खाली र बाँझो जमिनलाई आय आर्जनको स्रोत बनाउनुपर्छ भन्ने सम्मेलनमा छलफल हुँदै गर्दा मलाई भने नेपालमा बाँझो छोडिएका जमिन र दैनिक रोजगारीका लागि विदेशिएका यूवाहरुको झझल्को आइरहेको थियो । बाँझो जमिनको उपयोग र विश्वमा बढिरहेका बेरोजगार यूवालाई आय आर्जनको स्रोतका रुपमा जानकारी गराउदै व्यवसायीक कृषि अभियान थाल्नुपर्ने आवश्यकता महसुस भएको छ । नेपालको वर्तमान स्थितिलाई हेर्ने हो भने कृषि उत्पादनका लागि नेपालको माटो निकै अब्बल मानिन्छ । तर पनि नेपालमा दिन प्रतिदिन कृषियोग्य जमिन बाँझिदै छन् र युवाहरु विदेश पलायन हुने क्रम बढीरहेको देखिन्छ ।



यस कार्यक्रममा सहभागि हुने अवसर सँगै यसै कार्यक्रमबाट मैले कृषि सम्बन्धि नयाँ प्रविधिको प्रयोग बारेमा थाहा पाए । जुन नेपालका लागि उपयुक्त छन् । कृषि क्रान्तिका लागि इच्छाशक्ति त चाहिन्छ नै तर त्यो संगै प्रविधि पनि उत्तिकै महत्वपूर्ण हुन्छ । जर्मनिको बोनमा त्यहाँका कृषकहरु पुर्णरुपमा कृषिमा निर्भर भएर नै आफ्नो जिविकोपार्जन गरिरहेका छन् । जर्मनीमा किसानले बैज्ञानिक प्रविधि बाट कृषिकार्य अवलम्बन गरि कृषिजन्य उत्पादन बढाईरहेका छन् । बेरोजगार युवाहरुलाई कृषि योग्य जमिन उपलब्ध गराई त्यसै बाट उनिहरुको आर्थिक अवस्था सबल भएको छ । जर्मनिमा कृषि बाट नै युवाहरुलाई राम्रो रोजगारीको अवसर मिलाईएको पाइन्छ । जर्मनीका कृषकलाई राज्यले नै कृषिको लागि सहुलियतमा ऋण तथा अन्य सुविधा उपलब्ध गराइरहेको छ । कृषि फार्म खोली सहकारी मार्फत सहयोग लिई कृषिजन्य उत्पादन उत्पादन र बजारीकरण गरिरहेका छन् ।

कृषकहरुले उत्पादन गरेको खाद्य पदार्थहरु बिक्रि वितरणका लागि राज्यले नै व्यवस्था मिलाएको रहेछ । साथै किसानका लागी आवश्यक पर्ने बिउ विजन किन्नका लागी बैंकहरु बाट सहज तरीकाले ऋण उपलब्ध गराउने भएकाले कृषि कार्यका लागी सरकारको प्राथमिकता उच्च छ भन्ने बुझन सकिन्छ ।

किसानले उत्पादन गरेका स्टबेरी, टमाटर, आलु तथा विभिन्न फलफुलहरुको उपयुक्त बजार व्यवस्थापन सरकारबाटै भएको हुनाले त्यहाँको किसानहरुका लागि कृषि कार्यमा कुनै कठिनाई नभएको र समग्र जर्मनिको कृषिजन्य उत्पादन राम्रो रहेको देखियो ।
जर्मनिका बोनको किसानहरुको रोजगारी र मुख्य आम्दानिको स्रोत आफ्नै खेतबारीमा उत्पादित कृषिजन्य उत्पादन नै हो । यहाँको यो उत्साह र माहोलले नेपालको कृषि पेशा आझेलमा परेकोे यो अवस्थामा जर्मनिको यो सम्मेलनको यो भ्रमणले कृषि व्यवसाय गर्नमा मलाई एक किसिमको उर्जा थपियो ।



जर्मनिको कृषि प्रविधि र त्यहाँ देखिएका फार्म हाउसलाई हेर्दा नेपालमा काहिँ कतै मात्र सुरु भएको व्यवसायिक खेतीलाई प्रविधीमैत्री र बजारमुखी बनाउन सकिने विश्वास भने जाग्यो ।
राजनीतिक अस्थिरता र अस्तव्यस्तताका कारण युवा विदेशीने क्रमसंगै नेपाली उर्वर भुमिहरु बाँझो चउर र जङ्गलमा परिणत भइरहेको अवस्था छ । यस्तो अवस्थामा देशको यूवाशक्तिलाई देशकै कृषि कार्यमा संलग्न गराउन र कृषि बाट नै नेपालको समग्र अर्थतन्त्रको विकाश गराउन जरुरी आजको आवश्यकता हो ।


समग्रमा नेपालको कृषि संभावनालाई उच्चतम महत्व दिदै त्यसको व्यवसायीक उत्पादन र बजारीकरण गर्न सके नेपाल र नेपालीको आर्थिक अवस्थामा आमूल परिवर्तन आउन सक्छ । यसका लागि सबैभन्दा ठूलो र नेतृत्वदायी भूमिका सरकारले खेल्नुपर्छ ।
नेपालमा कृषकका लागि उपलब्ध गराउने भनिएका सेवा सुविधासमेत भरपर्दा छैनन् । सरकारले नीति नियम बनाएर सबैलाई एउटै प्रकृयाबाट कृषि उत्पादनमा सहयोग गर्ने नीति लिन आवश्यक छ । यसो गर्न सकिएको खण्डमा नेपाल कृषि उत्पादनमा आत्मनिर्भर बन्नसक्छ । भारतमा निर्भर नेपालीको भान्छा नेपाली खेतबारीमै अडिनसक्छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics