सार्वजनिक सवारीबाट फोहोर फाल्न प्रतिबन्ध



सार्वजनिक यातायातबाट सडक तथा सार्वजनिकस्थलमा फोहोर फाल्न प्रतिबन्ध लगाइएको छ ।

सार्वजनिक सवारीका बस, मिनिबस, माइक्रोबस, टेम्पोलगायतका सवारी साधनमा फोहर फाल्न डस्टबिन वा नेपाल सरकारले तोकेको गुणस्तर पोलिथिन थैलीको अनिवार्य प्रयोगमा ल्याएको छ ।

संघीय ममिला तथा स्थानीय विकास मन्त्रालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले फोहोर व्यवस्थापन गर्न सार्वजनिक सवारी साधनमा डस्टविनको प्रयोग अनिवार्य गरेको हो ।

संघीय ममिला तथा स्थानीय विकास मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माका अनुसार सडकमा हुने फोहोर व्यवस्थापन गर्न र फोहोरले वातावरणमा पार्ने नकारात्मक प्रभाव कम गराउनका लागी यो व्यवस्था ल्याइएको हो । शर्माले भने ‘फोहोर व्यवस्थापनका लागी पहिले नै चालकले यात्रुलाई जानकारी गराउने छन् ।’

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष सरोज सिटौलाका अनुसार शुक्रबार नयाँ बसपार्क, पुरानो बसपर्क र लगनखेलबाट यो अभियान सञ्चालनमा ल्याइएको छ । उनले भने ‘हामीले पुस महिनाभर सार्वजनिक यातायातमा जनचेतना फैलाउने कार्यक्रम राखेका छौँ । यो अभियान अब देशव्यापि रुपमा लागु हुन्छ ।’

यस अभियानको कार्यक्रम अन्तर्गत शुक्रबार नयाँबसपार्क, पुरानो बसपार्क र लगनखेल बसपार्कमा सार्वजनिक यातायातका साधनलाई जनचेतना कार्यक्रम र डस्टविन वितरण गरिएको छ ।

यात्रुहरुले जथाभावी रुपमा बसपार्क क्षेत्र र सडकमा फोहोर फाल्ने गरेको र यसको न्युनिकरणका लागी मंसिर २७ गते नेपाल सरकार, संघीय मंमिता तथा स्थानीय विकास मन्त्रालय र नेपाल यातायात व्यवसायी रष्ट्रिय महासंघबीच ११ बुँदे सम्झौता भएको थियो । यसै सम्झौता अनुरुप यस्तो व्यवस्था ल्याएको मन्त्रालयले जनाएको छ ।

यो नियमको उल्लङ्घन गर्ने व्यक्ति, संस्था वा सवारीका सञ्चालकलाई फोहरमैला व्यवस्थापन ऐन, २०६८ बमोजिम रु ५ सय देखि रु ५ हजारसम्म जरिवाना र तीन महिनासम्म कैद गरिने व्यवस्था गरिएको छ । साथै वातावरणलाई हानि पुर्याउने मर्करीजस्ता फोहोर फालेमा एक लाख सम्म जरिवानाको व्यवस्था गरिएको छ । यसको अनुगमन स्थनिय निकायले गर्नेछ ।

सुजाता कार्की

प्रतिक्रिया दिनुहोस

web
analytics