समयमै मनसुन भित्रिन्छ : मौसमविद्


जल तथा मौसम पुर्वानुमान महाशाखाले यो वर्षको मनसुन समयमै भित्रिने अनुमान गरेको छ ।

यो वर्ष मनसुन समयमै भित्रिने अनुमान मौसमविदहरुले गरेका छन् । प्रिमनसुनको अवधिमा राम्रो वर्षा भएकाले यो वर्षको मनसुन समेत राम्रो हुने मौसमविदहरुले जनाएका छन् । जल तथा मौसम पुर्वानुमान महाशाखाका अनुसार प्रि मनसुनको अवधि राम्रो रहेको छ । मौसमविद् शान्ति कँडेलले भनिन्, ‘महाशाखाले यो वर्षको मनसुन समयमै भित्रिने अनुमान गरेको छ ।’

सामान्य अवस्थामा जुन १० मा मनसुन नेपाल आइपुग्नुपर्ने हो । मौसमविद् कँडेलले भनिन्, ‘अहिले सम्मको अवस्थालाई हेर्दा समयमै मनसुन भित्रिने सङ्केत देखिन्छ ।’ दक्षिण एसियामा मनसुन सुरु हुने मुख्य स्थान भारतको केराला हो । दक्षिण एसियाली मनसुन बंगालको खाडीमा विकास भई उत्तरपश्चिमतर्फ अघि बढ्दै नेपाल प्रवेश गर्छ । नेपालमा जुनदेखि सेप्टेम्बरसम्म मनसुन सक्रिय रहन्छ । यसअघिका सबै वर्षा मनसुन सक्रिय बनाउने प्रि मनसुन वर्षा हुन् ।

यो वर्ष प्रिमनसुन सक्रिय भएको छ । प्रि मनसुनको अवधि सकिनै लाग्दा अझै पानी पर्ने सङ्केत देखिएको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । यो वर्ष प्रि मनसुनको अवधिमा एक दुई दिनको फरकमा वर्षा भइरहेको छ । गत सोमबार काठमाडौँमा ४१ मिलिमिटर वर्षा भएको थियो । स्थानीय सानो मौसमी प्रणाली सक्रिय रहँदा उपत्यकामा भारी वर्षा भएको थियो ।

केहीदिनदेखि देशका अधिकांश भूभागमा मौसम बदली भइरहेको छ । यो क्रम बुधवारसम्म पनि जारी छ । मौसमविद् कँडेलले भनिन् ‘बुधवार सुदुर पश्चिमबाट विकास भएको मौसमी प्रणाली बिस्तारै पूर्वतिर सरिरहेको छ । यही क्रममा राजधानी लगायत अन्य भूभागमा मौसम बदली हुने सम्भावना देखिन्छ ।’ उनले भनिन् ‘यो क्रम अझै केहीदिनसम्म जारी रहन्छ ।’

पछिल्लो केही वर्ष नेपालमा केही ढिलो गरी मनसुन भित्रिने गरेको छ । यो वर्ष भने समयमै मनसुन भित्रिने र मनसुनको समयमा हुने औषत वर्षा हुने प्रक्षेपण मौसमविदहरुले गरेका छन् ।

याे पनि पढ्नुहाेस्


राम्रो मनसुनको संकेत


 

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics