‘कुस्ती खेलियो, लात्तले हानियो र भालु लडाइयो’

घाइते चन्द्रबहादुर गुरुङ


साउन १२ गते बिहीबार अपरान्ह तीन बजेको थियो । संखुवासभा मकालु गाउँ पालिका वार्ड नंम्बर २ सेदुवाका चन्द्रबहादुर गुरुङ आँगनमा निस्किए र मकैबारीतिर आँखा डुलाए ।

४० वर्षीय गुरुङको मकैबारीमा रातभरि भालुले अड्डा जमाएको थियो । बारीका मकै खाएको देखेपछि छिमेकी तुलाराम विष्टपनि गुरुङ नजिक आए । दुईजनाले सल्लाह गरे, ' भालुले मकै खत्तम पारेछ, जाउँ मकै बारी हेर्न ।'

दुवै जनाको सल्लाहले तीन बजे नजिकैको मकैबारीको कान्ला ओर्लिन थाले । आफूले मेहेनत गरेर फलाएको मकै भालुले नष्ट गरेपछि मकैका घोगा छाम्दै गफ गरिरहेका उनीहरूलाई एकैपटक भालुले झापड हान्यो ।

मकै खाएर मस्त सुतिरहेको भालू जुरुक्क उठेको उनीहरूलाई अुनमानै भएन । भालुले आक्रमण गरिहाल्यो । सँगै रहेका गुरुङ र विष्ट दुवै भालुको निसानामा परेपछि उनीहरूसँग अरू विकल्प पनि थिएन । भालुसँग लड्न थाले । उनीहरूसँग आधुनिक कुनै हतियार पनि थिएन । भालुले अनुहारमा कोतर्यो अनि जिउ र तिघ्राबाट मासुको डल्लो नै निकाल्यो । तै पनि उनीहरूसँग लड्नुको विकल्प थिएन, लडिरहे ।

दुईजना भालुसँग लडिरहे । शरीरभरि भालुले घाउ बनायो । हात, खुट्टाबाट रगतको धारा बग्न थाल्यो तर पनि उनीहरू हारेनन् । लडिरहे । चिच्याउदै कराउदै भालुसँग लडिरहेका गुरुङ र विष्टले बाँच्ने आस मारिसकेका थिए । 'हामी त अब कसरी बाँच्ने होला भन्ने लागिसकेको थियो तै पनि लडिरह्यौं,' उपचारका लागि काठमाडौं आएका गुरुङले नेचर खबरसँग भने ।

हल्ला खल्ला र चिच्याहट सुनेपछि गाउँले जम्मा भए । त्यति बेला भालु धेरै पर भागिसककेको थियो । भालुसँग लडेका गुरुङलाई अझै पनि त्यो घटना संझदा जिरिङ्ग हुन्छन् । भन्छन्, 'दुई हातले कुस्ती खेलियो, कान तानेर भालुलाई लडाइयो । लात्तले हानियो र बल्लतल्ल बचियो ।'

उनीहरूले भालु दिउसो पनि मकैबारीमा सुतेको छ भन्ने कल्पना गरेकै थिएनन् ।

घाइतेलाई स्थानीय बासिन्दाले नजिकैको सेदुवा स्वास्थ्य चौकीमा उपचारका लागि पुर्याए । तर भालुको आक्रमणले गम्भीर घाइते भएका उनीहरूको उपचार त्यहाँ सम्भव थिएन । स्वास्थ्य चौकीको सिफारिसमा काठमाडौं उपचारका लागि ल्याउने निर्णय भए पनि सवारीसाधन नपुगेको त्यो गाउँबाट घाइते बाहिर निकाल्न सम्भव नै भएन । सांसद तारामान गुरुङको लगातारको चार दिनको प्रयासपछि मात्रै बुधवार नेपाली सेनाको होलिकोप्टरले घाइतेलाई काठमाडौं ल्याएको छ ।

घाइते काठमाडौं ल्याएपछि सांसद गुरुङले भने, 'स्थानीय प्रशासन, निकुञ्ज प्रशासन तथा नेपाली सेनाको सहयोग नभएको भए यो पनि सम्भव थिएन ।'

घटना भएको स्थान मकालु बरुण राष्टिय निकुञ्जको मध्यवर्ती क्षेत्र हो । यो क्षेत्रमा वन्यन्तुको आक्रमणबाट गाउँले घाइते हुने क्रम बढिरहेको छ ।

कस्ता हुन्छन् हिमाली कालो भालु



हिमाली क्षेत्रमा पाइने कालो भालु नेपाल भुटान हुँदै पाकिस्तानसम्म पाइन्छ । यी सामान्यतया १० हजार फिटदेखि १२ हजार फिटको उचाइसम्ममा बस्छन्। यिनीहरूको कालो रौं हुन्छ भने छातीमा थोरै पहेलो रौं हुन्छ । नाकदेखि पुच्छरसम्को लम्बाइ ५६ देखि ६५ इन्चसम्मको हुन्छ । तौल औषत चारसय पाउण्ड हुन्छ । यिनीहरूले बालीनाली तथा फलफुल र घरपालुवा जनावरहरु खान रुचाउँछन् ।

तीन वर्षको भएपछि प्रजनन र यौन क्रियाकलापका लागि उनीहरू योग्य हुन्छन् । विश्व संरक्षण संघले यसलाई लोपोन्मुख वन्यजन्तुको सूचीमा राखेको छ ।

पिताम्बर सिग्देल

प्रतिक्रिया दिनुहोस

web
analytics