एम्बुस थापेर झाडीमा लुक्दा…

‘गैंडालाई चार वर्ष’ गैंडासम्बन्धी कमलजङ्ग कुँवरद्धारा लिखित पुस्तक हो । यो पुस्तक वि .सं २०६६ साउन महिनामा ‘चित्रबहादुर कुँवर स्मृति गैँडा संरक्षण प्रतिष्ठान’ ले प्रकाशन गरी बजारमा ल्याएको थियो । यो पुस्तक हामीले प्रत्येक शनिबार नेचर खबर अनलाइनबाट प्रकाशित गर्दै आइरहेका छौँ । पढौँ पुस्तकको  नवाैं अंश –

(लेखक कुँवरको स्वीकृतिमा नेचर खबरले हरेक शनिवार पुस्तकका अंश प्रकाशन गर्न थालेको हो ।)

तालिबानको तोराबोरा जस्तो

२०६० मङ्सिर ४ गते सुराकीले खबर ल्यायो— आज पदमपुरबाट काठ ल्याउँदै छन्, काठसँगै डम्बरे प्रजा, देवराज क्षेत्री लगायतका गैँडा सिकारीहरु पनि आउँदै छन् भनेर । हामी सौराहामा थियौँ । राष्ट्रिय प्रकृति संरक्षण कोश, जैविक विविधता संरक्षण केन्द्र, सौराहामा सानोतिनो पार्टी थियो । ढिलो होला भनेर हामी हतारहतार खाना खाएर तयार भयौँ ।

ड्राइभरले भन्यो– ‘मैले पनि खाना खाएको छैन; भरे कति बेला हो, खाएर आइहाल्छु ।’ तर आधा घण्टासम्म ऊ आएन । रक्सीमा अलिक लालची थियो; रक्सी देखेर त्यतै लागेछ । सुराकी भने उनीहरु ल्याएको काठ छाडेर फर्किसक्छन् भनेर हतारिँदै थियो । समयमा नपुग्दा अपराधी उम्कने हो कि भनेर हामी पनि चिन्तित थियौँ । समयको अति नै ख्याल गर्ने र त्यही अनुसार चल्ने खालको ड्राइभर भएन भने एन्टी–पोचिङको काममा ठूलो धोका हुन्छ ।

चोर हामीलाई कुरेर कहिल्यै बस्दैन । ड्राइभर आउनासाथ हामी हिँडिहाल्यौँ । जनकपुर पोस्ट पुग्दा रातिको नौ बजेको हुँदो हो; पहिले त्यहाँका स्टाफलाई उठायौँ र गाडी त्यहीँ छाडेर हतारहतार पदमपुरबाट आउने बाटोतर्फ लाग्यौँ । दस मिनेट हिँडेपछि मान्छेको कल्याङमल्याङ सुनिन थाल्यो । महिलाहरुको पनि स्वर सुनिन्थ्यो । आवाज हामीतर्फ नै आउँदै गरेको हुँदा हामी बाटोका दुवैतर्फ एम्बुस थापेर (आएको मान्छेलाई झ्याप्पै पक्रने सञ्जाल बनाएर) झाडीमा बस्यौँ । आवाज आउँदै र विलीन हुँदै जान्थ्यो । हामी करिब एक घण्टा बस्यौँ तर कोही आएन ।

त्यसपछि बिस्तारै अगाडि बढ्यौँ र राप्तीको बगरमा पुग्यौँ तर मान्छेहरुको अत्तोपत्तो थिएन । त्यसपछि हामीले पदमपुर जाने निर्णय गर्यौँ । जितपुरको घाटमा पुग्दा डुङ्गा भर्खर तारिएको प्रस्टै देखिन्थ्यो । हामीहरु पनि डुङ्गा लिएर पदमपुर गयौ । डुङ्गा कहाँ पुर्याउने भन्ने थाहा नहुँदा हामी अर्कै ठाउँमा पुगेछौँ ।

पारि तर्यौँ तर माथि उक्लने बाटो पत्ता लागेन । भीरभीरै बल्लतल्ल माथि पुग्यौँ । बाटो अत्यन्तै अप्ठ्यारो थियो । माटो बलौटे भएकाले जहाँ टेक्यो त्यहीँ खस्किने खालको थियो । त्यहाँबाट खसे सीधै राप्तीमा पुगिन्थ्यो ।

हामीले एउटा बोटेकहाँ गएर ‘काठ लिएर गएका मान्छेलाई तिमीले नदी तारिदिएको हो?’ भनेर सोध्यौँ ।
उसले भन्यो– ‘हो, पारि त तारेको हुँ, तर फर्कंदा उनीहरु आफैँ तरेर आए होलान्; मलाई बोलाएनन् ।’
‘त्यसो भए उनीहरुको घर देखाऊ’ भनेर उसलाई लिएर हिँड्यौँ । तर घरमा कोही भेटिएन । अनि हामीलाई उसले उनीहरु लुक्ने गरेको ठाउँ देखायो । वनमाराले ढाकेको, सुरूङ जस्तो ठाउँ रहेछ । हामी त्यहाँ करिब बीस मिटर भित्रसम्म पुग्यौँ । जति पानी परे पनि नभिजिने रहेछ । त्यहीँ पराल ओछ्याएर सुत्ने ठाउँ बनाएका रहेछन् । हामी छक्क पर्यौँ । अफगानिस्तानमा तालिबानहरु लुक्ने तोराबोरा जस्तो ठाउँ थियो त्यो । मान्छेचाहिँ कोही भेटिएन ।

त्यसपछि डम्बरे प्रजाकी दिदीको घरमा रक्सी खान गए होलान् भनेर त्यता लाग्यौँ । झुप्रामा सुतिरहेका मान्छेलाई उठायौँ । एक जना त हाम्रो हात्तीसारे रहेछ । उसले डम्बरेकी दिदी बिहे गरेको रहेछ । त्यहाँ पनि खोजेका मान्छे भेटेनौँ र हारेको सिपाहीझैँ भएर रित्तो हात फर्कियौँ ।

हामीलाई सुराकीले भन्यो– ‘जनकपुर गाउँमा दुइटा फर्निचर उद्योग छन्; त्यहीँ लग्छन् काठ, त्यहाँ जाऊँ।’ हामी फर्निचर उद्योग चलाउने जमुना महतोको घरतर्फ लाग्यौँ। काठ ल्याउनेहरुले उसको आँगन र केराको बगैँचामा टिम्बा (काठको चारपाटे) ल्याएर छाडेका रहेछन्। हामी घर घेरा हालेर भित्र पस्यौँ । सुतिरहेको जमुना महतोलाई उठाएर सोध्यौँ– ‘यो काठ कसको हाे? कसले ल्याएको हो ?’ उसले सबै बतायो ।

भुइँतलामा सोर्ह–सत्र वर्षको फुच्चे सुतिरहेको थियो । उसको नाम मानबहादुर प्रजा रहेछ । काठ ल्याउने टोलीमा ऊ पनि रहेछ । उसले काठ ल्याउने सबैको नाम बतायो । हामीले छापा मारेर सबै काठ र तयारी फर्निचरसमेत बरामद गर्यौँ । सामानसहित ती दुई जनालाई लिएर हामी राति करिब तीन बजे सौराहा आइपुगेका थियौँ ।

मानबहादुर लोकगीत गाउन सिपालु रहेछ । स्टाफहरुले उसलाई थुनेको ठाउँबाट निकालेर गीत गाउन लगाउँदा रहेछन्। एक दिन मलाई पनि बोलाएर गीत सुन्न लगाए। उसले सार्है मीठो स्वरमा गीत सुनाएर मन्त्रमुग्ध पार्यो । काठमाडौँबाट आएका महानिर्देशक डा. तीर्थमान मास्के सरलाई पनि गीत सुनाएर दङ्ग पारेको थियो उसले ।

सुराकीले मानबहादुर गैँडा मार्ने काममा पनि संलग्न भएको सूचना दिएको थियो । तर ऊ सधैँ इन्कार गथ्र्यो । केरकार पनि खासै भएको थिएन । सबै स्टाफलाई गीत गाएर मक्ख पारिरहेको थियो ।

एक दिन चितवन आएको युएनडीपीको टोलीलाई नयाँ पदमपुरमा उसका बाबुआमाले भेटेर रूँदै ‘मेरो छोरो छुटाइदिनुप¥यो’ भनेछन् । टोली नेताले निकुञ्जमा सञ्चालित सहभागितामूलक संरक्षण कार्यक्रमको निरीक्षणमा आएका बेला कसरामा चिफ वार्डेन शिवराज भट्टलाई भनेछन् र उहाँले पनि छाडिदिनुभएछ । मैले दुईतीन दिनपछि मात्र थाहा पाएँ । यसबीच मानबहादुरले वीरमानका दुइटा बन्दुक लुकाइराखेको र ती बन्दुक प्राप्त गर्न वीरमान उसलाई छुटाउने प्रयासमा लागेको मैले सुराकीबाट सूचना पाइसकेको थिएँ। त्यसरी छुटेपछि मानबहादुरले ती बन्दुक वीरमानलाई फिर्ता दिएको थिया । एकातिर कानुनी राज्यका ठूल्ठूला गफ दिने, अर्कातिर कानुन बमोजिम पक्राउ परेको मान्छेलाई छुटाउँदै हिँड्ने युएनडीपीका मान्छेको धन्दा मलाई निराशाजनक लाग्यो ।

जीवनसाथीको खोजी

मेरो विवाहको कुरा केही वर्षदेखि चल्दै आएको थियो, तर कुन्नि किन हो, कहिले के मिल्दैनथ्यो त कहिले के। चितवन आइसकेपछि पनि धेरै पटक उपयुक्त जीवनसाथीको खोजी भइरहेको थियो । त्यसै सिलसिलामा म धेरै पटक आफ्नाे घर हेम्जा जाने गर्थें। भने जस्ती र खोजे जस्ती पाइएको थिएन । मेरा लागि जीवनसाथी खोज्न सबैभन्दा बढी सूर्य अङ्कल र डीबीजी लाग्नुभएको थियो । यसैबीच मेरा स्कुलका सहपाठी जितबहादुर कार्कीले आफूसँगै एमए पढ्ने एउटी केटीको कुरा गर्नुभयो ।

त्यसै अनुरुप हाम्रो कुराकानी अगाडि बढ्यो। दुवैतिरको कुरा मिलेकाले विवाह गर्ने लगभग पक्कै थियो । कुरा छिन्नुअघि एक पटक केटा र केटी भेटघाट गर्ने कुरा भयो। भेटघाटमा मैले मन्दिरमा बिहा गर्ने र दाइजो नलिने प्रस्ताव राखेँ । केटीले मन्दिरमा बिहा नगर्ने र बिनादाइजो बिहे नहुने अड्डी लिइन् । मैले धेरै सम्झाएँ तर मानिनन् । म आफ्नो निर्णयमा अडिग थिएँ भने उनी पनि मेरो कुरामा पटक्कै सहमत हुन सकिनन् । फलस्वरुप उनको र मेरो विवाह नहुने भयो ।

म अविवाहित भएको कुरा चितवनका साथी दीपराज सापकोटालाई थाहा थियो । उहाँले एक दिन कुरैकुरामा ‘मेरा साथीले तपाईंले उहाँकी भतिजीसँग विवाह गर्नुहुन्थ्यो कि भन्नुभएको छ’ भन्नुभयो। मैले पनि ‘हुन्छ नि, हेरूँला’ भनेँ । केही दिनपछि म, दीपराजजी, हरि अधिकारी र अर्का मध्यस्थकर्ता उमाकान्त गौतमजी (हाम्रो अफिसका सह–लेखापाल) चितवनकै चैनपुरतर्फ लाग्यौँ। भदौको महिना भएकाले जताततै खोला बढेका थिए ।

हामी गाडीसहितै कतैबाट पनि खोला छिचोल्न नसक्ने भयौँ। तीन ठाउँबाट प्रयत्न भयो, तर थोत्रो सवारीले पार लगाएन । लदरी खोलाको एक ठाउँ अलि सजिलो जस्तो भेटियो र बल्लतल्ल चैनपुर पुग्यौँ। गाडीको बाटो पत्ता लगाउन खोलैखोला हिँड्दाहिँड्दा पूरै थाकिसकेका थियौँ ।

चैनपुर पुगेर पानी र चिया खान पायौँ केटीका हातबाट। धेरै दुःख गरेर पुगेकाले मेहनतको फल मीठै हुन्छ जस्तो लाग्यो। केटीका बुवा पनि त्यहीँ हुनुहुन्थ्यो; यसो भलाकुसारी त भयो, खास कुरा भने भएन ।

केही दिनपछि सूर्य अङकल र डीबीजी आउनुभयो हेम्जाबाट, तिहार अगाडि । त्यस बेला फेरि हामीले हरिजीको घरमा ती चैनपुरे कन्यालाई हेर्यौँ । अनि एक पटक फेरि चितवनका रामकुमार भाइ र म भएर पनि हेर्यौँ । कुरा छिनियो; २०६० मङ्सिर २३ गते हाम्रो विवाह नारायणगढको हरिहर मन्दिरमा भयो ।

विवाह सादा थियो । तडकभडक पटक्कै थिएन । जन्ती बा¥ह जना मात्र थियौँ । अफिसबाट दुई–चार जना मात्र आउनुभएको थियो । जग्गेमा बस्न लाग्दा मैले आफ्नो मोबाइल माधवजीलाई दिएँ। उहाँले ठट्टा गर्नुभयो–
‘वीरमान कहीँ छ भनेर खबर आयो भने कमल सर माला फुकालेर पक्रन
जानुहुन्थ्यो होला!’
सबै जना हाँसे ।
यसरी मैले प्रमिला अधिकारीलाई बिनादाइजो जीवनभरिका लागि आफ्नी
बनाएँ ।

पुस १ गते म व्यक्तिगत काममा हेम्जा गएको थिएँ । सौराहामा रेन्जर माधवजी हुनुहुन्थ्यो । सुराकीले सूचना दियो— राजकुमार प्रजासहितको टोली पर्सा बजार मगनी चोकस्थित मुढा साइँला भन्ने रामचन्द्र प्रजाको घरमा बसिरहेको छ । मैले माधवजीलाई खबर गरेँ। उहाँहरुले त्यहाँ गएर राजकुमार प्रजा भन्ने कालु, टाकुले भन्ने मङ्गले प्रजा र पदमबहादुर प्रजालाई पक्रनुभएछ । तीमध्ये कालु पक्राउ परिसकेपछि भागेछ ।

बाँकी दुईमध्ये मङ्गलेलाई पहिले पक्रेर छाडेको भनेर उहाँहरुले त्यहीँबाट छाडिदिनुभएछ । पदमबहादुरलाई भने पक्रेर कसरा पुर्याएको पच्चीस दिनसम्म अनुसन्धान गर्दा पनि उसका विरूद्ध कुनै प्रमाण नभेटेपछि शक्तिखोर गाविसका भूपू उपाध्यक्षको जिम्मामा छाडियो ।

म चितवनबाहिर थिएँ । पदमपुरबाट सूचना आएको छ भन्दै हुनुहुन्थ्यो मुखिया श्रीरङ्ग कँडेलजीले । रेन्जर विष्णु थपलिया, क्याप्टेन विशालबहादुर शाह लगायतको टोली २०६० पुस १९ गते राति पदमपुर गएछ । उहाँहरुले कृष्ण बोटे, डम्बरबहादुर प्रजा, ठिडरा महतो र रामकृष्ण चौधरीलाई पक्राउ गरेर ल्याउनुभएछ । तीमध्ये केहीलाई मङ्सिरमा पक्राउ गर्न जाँदा ढिलो भएर सफल हुन सकेका थिएनौँ । यिनीहरुलाई पक्राउ गर्न सूचना दिने व्यक्तिलाई, त्यस बेला पैसा नभएर, मैले करिब एक वर्षपछि मात्र पुरस्कारस्वरुप केही रकम दिन सकेँ ।

डम्बरबहादुर वीरमान प्रजाको ग्रुपमा काम गथ्र्यो। उसले पनि वीरमानसम्बन्धी केही बताएको थियो । एक दिन बेलुकातिर मुखिया र विष्णुजीहरुले सोधपुछका लागि उसलाई बाहिर निकाल्नुभएको रहेछ । ऊ त्यहीँबाट भागेछ तर गेमस्काउट बुद्धिनाथ लामिछाने लगायतका कर्मचारीहरु जङ्गलबाट उसलाई पक्रन सफल भएछन् ।

ज्वाइँ पक्राउन ससुरो

दावा भन्ने तोरमबहादुर बजुलाई पक्राउ गरे पनि उसको ग्याङको गैँडा मार्ने मुख्य सिकारी लाहुरे भन्ने व्यक्तिलाई पक्रन सकिएको थिएन । एक दिन खबर आयो— लाहुरे गाउँमा बिहे भएको ठाउँमा देखियो । हामीले माघ २२ गते राति जाने सल्लाह गर्यौँ र क्याप्टेन विशालबहादुर शाह, रेन्जर विष्णु थपलिया, मुखिया श्रीरङ्ग कँडेलसमेत भएर वीरेन्द्रनगर वानगु्रपमा गयौँ ।

लाहुरेको ससुरालीमा हेर्यौँ; श्रीमती मात्र थिई, ऊ थिएन। हामीले ससुरालाई ‘तिम्रो ज्वाइँ देखाऊ’ भन्यौँ ।

लाहुरेलाई पक्राउ गर्न हामी त्यहाँ दोस्रो पटक गएका थियौँ । हामी पटकपटक पुगेकाले आजित भएर हुन सक्छ, उसको ससुराले ‘यस्तो बेइज्जती गर्ने ज्वाइँलाई पक्डाइदिएकै बेस’ भन्यो र हाम्रा अगाडिअगाडि हिँड्यो ।

हामी खोलैखोला दूधपोखरी सामुदायिक वनतर्फ लाग्यौँ। जङ्गलछेवैका दुई–तीन वटा फुसका घरमध्ये एउटा लाहुरेको साढुभाइको रहेछ । ऊ त्यहीँ हुन सक्छ भनेर ससुराले देखाइदियो । हामीले घर घेरा हाल्यौँ र भित्रका मान्छेलाई उठायौँ । तर ऊ त्यहाँ थिएन । उसको साढुभाइलाई ‘कहाँ छ, देखाऊ’ भन्दा ‘म देखाइदिन्छु’ भनेर हामीलाई लिएर हिँड्यो ।

उसले हामीलाई कोराक जाने बाटोमा रहेको एउटा पसलमा लग्यो । हामी पहिलेपहिले पनि त्यहाँ जान्थ्यौँ र चिया खान्थ्यौँ। साहुनी गोरी, अग्ली र हँसिली थिइन् । बमबहादुर प्रजाको आउने–जाने बाटो थियो त्यो। हामी उसलाई खोज्दै छौँ भन्ने उनलाई थाहा थियो ।

लाहुरेले त्यही पसलको साहूलाई आफ्नाे जग्गा बेचिदिनुपर्यो भनेको रहेछ । त्यसैले ऊ दिउँसो रक्सी खाएर यहीँ बसेको हुनुपर्छ भनेर उसको साढुभाइले भनेकाले हामीले त्यो चिनजानकै पसल घेरा हाल्यौँ र ‘ढोका खोल्नुस्’ भन्यौँ ।

मध्यरातमा ढोका खोल्न लगाउनेहरु माओवादी वा सैनिक होलान् भनेर डराएर होला, साहुनीले ढोका खोल्न मानिनन् । त्यही बेला एक साथीले ढ्याङ्गै लात्तले हानेर ढोका खोले । हामी सीधै भित्र पसेर खानतलासी गर्न थाल्यौँ ।

लाहुरे त्यहाँ थिएन। दिउँसै रक्सी खाएर हिँडिसकेको रहेछ । साहुनी हामीसँग रिसाएर के–के भन्दै थिइन्। हामी गल्ती भएकामा तैँ चुप मै चुप थियौँ । तर खुँखार चोर लुकेको छ भन्ने सुराकका आधारमा त्यसो गर्न बाध्य थियौँ, उनीहरुसँग कुनै पूर्वाग्रहका कारण होइन ।

त्यसपछि ‘लाहुरेले रक्सी खाने अर्को ठाउँ छ, त्यहाँ हुन सक्छ’ भनेर उसको साढुभाइले हामीलाई लिएर हिँड्यो । उसले भने अनुसार अलि तलको एउटा घरमा घेरा हालेर खोजतलास गर्यौँ । त्यहाँ घरबेटीका तीन जना सोर्ह–सत्र वर्षका छोरी र आमा मात्र थिए; लाहुरे थिएन । त्यहाँ पनि असफलता हात परेपछि हामीलाई अर्को ठाउँमा लगियो । खोलाको पाखामा उसको मीतको फुसको घर रहेछ । हामीले त्यहाँ गएर खानतलासी गर्यौँ; एक जना लठेप्रो जस्तो भेटियो । उसले ‘बेलुकातिर रक्सी खाएर यतै मातेर हिँडेको थियो तर अहिले छैन’ भन्यो । निराश भएर त्यहाँबाट पनि फर्कियौँ । बिहानको करिब चार बजिसकेको थियो । हामी रातभरको अपरेसन, खोजतलास, हिँडाइ, तिर्खा र असफलताले लखतरान परेका थियौँ । मान्छेहरु बिस्तारै उठ्दै थिए । सूर्यले पूर्वमा बिहानीको लाली छर्दै थियो ।

सौराहा आइपुगेपछि साथीहरु आ–आफ्ना कोठातर्फ लागे; मैले पनि एक छिन गेस्टहाउसमा आराम गरेँ। आजै प्रमिलालाई लिएर हेम्जा जानु थियो । गाडी लिएर चैनपुरतर्फ लागेँ । प्रमिला बिहापछि माइतबाट घर जान लागेकी हुँदा कोसेली तयार पारेर सबै जना मेरो प्रतीक्षामा हुनुहुन्थ्यो । अनिदो र थकानले म फ्रेस थिइनँ; आँखा राताराता थिए, अनुहार मलिन ।

सबै जनाले ‘के भयो?’ भनेर सोध्नुभयो ।
प्रमिलाले भनिन्– ‘रातभर चोर पक्रन गएर अनिदो हुनुहुन्छ होला सायद ।’ मैले खाना खाएको थिइनँ; सबै जना मलाई कुरेर बस्नुभएको थियो । त्यसै बेला पर्सा बजारबाट फोन आयो– ‘तपाईं तुरून्त आउनुपर्यो; यहाँ जरूरी काम छ ।’ मैले सोचेँ— लाहुरे भेटियो होला । अनि हतारिँदै ‘पर्सा बजार पुगेर आउँछु’ भनेर हिँडेँ ।

त्यहाँ हिजो बेलुका हामीले अपरेसन गरेको पसलकी साहुनी र अर्को एउटा मान्छे आएका रहेछन् । साहुनी मसँग धेरै रिसाइन् । मैले माफी मागेँ र अब आइन्दा त्यस्तो नहुने भन्दै त्यो घटनालाई बिर्सन अनुरोध गरेर फर्कें । चैनपुर आइपुग्न लाग्दा बुवा (ससुरा) लाई भेटेँ । उहाँ मलाई खोज्न आउनुभएको रहेछ, साइकलमा । त्यो दिन चैनपुरतिर माओवादीको निकै चहलपहल रहेछ । उहाँहरु मलाई माओवादीले अपहरण गरे कि वा बाटोमा केही भयो कि भनेर डराउनुभएको रहेछ । म चैनपुर आइपुग्दा सबै जना चिन्तित भएर मेरो बाटो हेरेर बसिरहनुभएको थियो । ममी (सासू) मलाई देखेर धुरूधुरू रूनुभयो । मैले सबैलाई सम्झाएँ । खाना खाईवरी हामी हेम्जातर्फ लाग्यौँ ।

क्रमश:

प्रतिक्रिया दिनुहोस

sidebar1
sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar6
web
analytics