तस्करको मुद्धा मिलाउन संरक्षणकर्मीले घुस लिँदाको नतिजा



‘गैंडालाई चार वर्ष’ गैंडासम्बन्धी कमलजङ्ग कुँवरद्धारा लिखित पुस्तक हो । यो पुस्तक वि .सं २०६६ साउन महिनामा ‘चित्रबहादुर कुँवर स्मृति गैँडा संरक्षण प्रतिष्ठान’ ले प्रकाशन गरी बजारमा ल्याएको थियो । यो पुस्तक हामीले प्रत्येक शनिबार नेचर खबर अनलाइनबाट प्रकाशित गर्दै आइरहेका छौँ । पढौँ पुस्तकको  पन्ध्राैं अंश –

(लेखक कुँवरको स्वीकृतिमा नेचर खबरले हरेक शनिवार पुस्तकका अंश प्रकाशन गर्न थालेको हो ।)

कर्णेलकोसनक


हामीले साउनमा खागसहित मान्छे पक्राउ गरेपछि त्रिवेणीमा अरु पनि सुराकी हुन तत्पर भए । २०६१ मङ्सिर २८ गते खबर आयो— खाग किनबेच हुँदै छ । मलाई ‘बुझ्नका लागि बर्दघाट आउनुस्’ भनेर बोलाइयो । म त्यति बेला अफिसमा निमित्त हाकिम थिएँ; चिफ वार्डेन शिवराज भट्ट काठमाडौँ जानुभएको थियो । दुई जना स्टाफ लिएर बिहानै बर्दघाटतर्फ लागेँ ।


बर्दघाट बजारमा सुराकीले खाग किनबेच गर्ने दलालहरु देखाइदियो । म तिनलाई चिनेर त्रिवेणी जाने चोकमा आएँ र प्रतीक्षालयमा ढुक्न थालेँ । हाम्रा दुई जना स्टाफ लप्टन थारु र सोमबहादुर दराई त्यहीँ नजिकै थिए । एकै छिनमा खागका दलालहरु जङ्गलतर्फ जान त्यही बाटो आए । ती दुई जना थिए। मैले यही मौका हो भनेर पछाडिबाट दुवै जनाको कमिजको कलरमा च्याप्पै समातेँ । त्यो देखेर स्टाफहरु पनि मतर्फ आए अनि उनीहरुले पनि तिनलाई समाते । दुवैलाई गाडीमा राखेर हामी भरतपुरतर्फ लाग्यौँ । अलि माथि आएपछि ‘खाग खै?’ भनेर सोधेको, ‘अर्को मान्छे त्यही चोकमा थियो, उसैसँग छ’ भने । अनि हामीले फेरि त्यही त्रिवेणी जाने चोकमा फर्केर त्यो मान्छे खोज्यौँ तर त्यहाँ कोही पनि थिएन । त्यसपछि हामी बाटो लाग्यौँ र अलि माथि घुम्तीमा पुगेर उनीहरुको शरीरको खानतलासी लिन थाल्यौँ ।


देवीलाल ऐडी भन्नेको पाइन्टको भित्री गोजीमा खाग फेला पर्यो । खाग सानो थियो, करिब दुई सय ग्रामजतिको । यो दोस्रो खाग थियो, मैले पक्रेको । हामी कसरा पुग्यौँ । खागसहित मान्छे पक्रेर ल्याएकामा हामी सबै खुसी थियौँ । यत्तिकैमा ब्यारेकबाट एक जना सिपाही आएर मलाई ‘तपाईंलाई मेजर गङ्गा खड्काले बोलाउनुभएको छ’ भन्यो । म उहाँलाई भेट्न ब्यारेक पुगेँ ।


उहाँले भन्नुभयो– ‘तपाईंसँग कर्णेल सा’ब एकदम रिसाउनुभएको छ । तपाईंलाई क्वार्टर गार्डमा हाल् (थुन्) भनेर मलाई आदेश दिनुभएको छ ।’


म स्तब्ध भएँ; के भनूँ के नभनूँ भयो । मेरो दिमागले केही सोच्नै सकेन । केही बेरपछि उहाँलाई सोधेँ– ‘किन ? के गरेँ मैले ? क्वार्टर गार्डमा हाल्नुपर्ने त्यस्तो के काम गरेँ ?’


उहाँले भन्नुभयो– ‘तपाईंहरुको अफिसको गाडी खोज्दै हुनुहुन्थ्यो । पाउनुभएन । तपाईंले लिएर गएको थाहा पाएपछि मलाई नसोधी किन गएको भन्दै हुनुहुन्थ्यो ।’


म जिल्ल परेँ । हाम्रो अफिस सेनाको मातहतमा थिएन । म कर्णेल अजित थापा मातहतको कर्मचारी थिइनँ । तर उसलाई लाग्थ्यो होला, राजाको प्रत्यक्ष शासनमा सेनाको आदेश सबैले मान्नुपर्छ । उसले धेरै पटक मलाई भनेको पनि थियो– ‘म बर्दिया राष्ट्रिय निकुञ्ज, चिसापानी गुल्ममा गुल्मपति हुँदा जिल्ला वन कार्यालय, बाँकेका एक जना निमित्त डीएफओले मैले भनेको नमानेकाले पच्चीस दिन थुनिदिएँ ।’ यसो भनेर सायद ऊ मलाई धम्क्याउन खोज्दै थियो— भनेको मानिनस् भने म तँलाई पनि त्यसै गर्छु ।


मेरो गल्ती थिएन; त्यसैले त्यस बेला कर्णेलसँग सम्पर्क गरिनँ । पछि भेट हँुदा उसले त्यो विषयमा मसँग कुनै कुरा गरेन । तर चिफ वार्डेन भट्ट र मेजर गङ्गासँग भने मेराबारे केके भनिरहन्थ्यो अरे ।


बर्दघाटमा हामीले मुगुको देवीलालसँगै भरतपुरको कृष्णप्रसाद पुडासैनीलाई पक्रेका थियौँ । उनीहरुसँग सोधपुछ भयो । उनीहरुले ‘खाग राजेन्द्र भट्टराई र श्यामकुमार श्रेष्ठबाट लिएको’ भने । त्यसपछि हामीले पुडासैनीलाई प्रयोग गरेर राजेन्द्रलाई पक्राउ गर्यौँ र श्यामलाई पनि समात्यौँ । श्यामले मकानसिंह विक भन्ने शिवनगरको मान्छेबाट, जो मालपोतमा लेखनदास थियो, खाग लिएको भन्यो ।


मकानले जग्गा खरिद–बिक्रीको काम गर्छ भन्ने थाहा पाएर जग्गा खरिद गर्ने निहुँमा उसको घरमा पुग्यौँ । ऊ आफ्नी छोरीकहाँ गएको रहेछ । हामी सोध्दै त्यहीँ पुग्यौँ र उसलाई भेटेर ‘जग्गा देखाइदिनोस्’ भन्दै फकाई–फकाई गाडीमा चढाएर कसरा पुर्यायौँ । खाग कहाँबाट ल्याएको भन्ने बताउन उसले दुई–तीन दिन लगायो ।


उसले जगतपुरको रामशरण लम्सालबाट खाग लिएको भन्ने थाहा पाएपछि हामी कुखुरा किन्ने निहुँमा रामशरणको घर पुग्यौँ र उसलाई पक्रियौँ । तर त्यो खाग उसलाई पनि जगतपुरको घैलाघारी बस्ने सन्तराम बोटेले दिएको रहेछ । खोज्न जाँदा सन्तराम भेटिएन; मकानसिंहलाई पक्रेको थाहा पाएर भागिसकेछ । रामशरणका अनुसार सन्तरामले उसलाई मरेको गैँडा भेटेर खाग पाएको भन्ने बताएको थियो ।


त्रिवेणीका साथीहरुले ‘बाघको हड्डी किनबेच गर्ने मान्छेलाई पक्रन आउनुपर्यो’ भनेर खबर गरेपछि हामी तीन जना पुस १४ गते त्यहाँ पुग्यौँ । तर त्यस दिन सामान आएन । त्यो दिन हामीले हाम्रो गेमस्काउट अम्बरबहादुर सिकारीलाई त्यहीँ छाड्यौँ ।
भोलिपल्ट पुस १५ गते भोला शाह भन्ने भारतको मान्छे बोरामा हड्डी बोकेर सरासर होटलमा आइपुग्यो । हामीले उसलाई थपक्क पक्रेर गाडीमा राखेर कसरा ल्यायौँ।


अनुसन्धान पछि उसलाई पुर्पक्षका लागि थुनामा पठायौँ । चिफ वार्डेन टीकाराम अधिकारीले फैसला गर्दा जम्मा पचास हजार रूपैयाँ जरिवाना तोकेकोले जेलबाट छुटेपछि उसले गैँडा सिकारी र बाघको छाला तथा हड्डी तस्करहरुलाई पक्रन सहयोग त गर्यो तर ऊ पुनः बाघको छाला ओसारपसार गरेको अपराधमा नवलपरासीमा पक्राउ पर्यो ।


घूस खाएको खुलेपछि


तिलबहादुर गुरूङ जेल परेपछि उसलाई छुटाउन आफन्तले धेरै प्रयत्न गरे । उसको घर पनि चैनपुर गाविस भएकाले उनीहरु मेरो ससुराली धाउन थालेछन् । तिलबहादुरले मेरी सासूलाई चिठी पठाएको रहेछ, बैनी भनेर । उहाँले मलाई त्यो चिठी देखाउनुभयो । त्यसमा ज्वाइँलाई भनेर आफूलाई छुटाइदिन अनुनय विनय गरिएको थियो । मैले उहाँलाई प्रस्टसँग भनिदिएँ– ‘धरौटीमा छाड्ने कुरा मेरो हातमा हँुदैन; त्यो चिफ वार्डेनले मात्र गर्न सक्नुहुन्छ ।’


त्यसपछि उसका परिवारले मेरा सासू–ससुरासँग ‘तिलबहादुरलाई धरौटीमा छुटाइदेऊ भनेर सुब्बा उत्तमप्रसाद खरेललाई दुई लाख रूपैयाँ दिएको एक वर्ष भैसक्यो; अझै छुटाइदिएन’ भनेछन् । उहाँहरुले भनौँ कि नभनौँ भन्ने दोमन गर्दै धेरै दिनपछि मसँग त्यो कुरा गर्नुभयो । साथै तिलबहादुरको भतिजो पूर्णबहादुर गुरूङले ‘भेट भयो भने भन्छु त्यो कुरा’ भनेको पनि सुनाउनुभयो ।


मैले सोचेँ, उसलाई भेटेर त्यसबारे यथार्थ बुझ्छु । सुब्बा उत्तमप्रसादले गैँडा तस्कर र सिकारीसँग मुद्दा मिलाइदिने निहुँमा पैसा खान्छ भन्ने सुनेको मात्र थिएँ; ठोस प्रमाण भेटेको थिइनँ । खास गरी हाम्रो अफिसको एक जना सिनियर गेमस्काउट सूर्यप्रसाद रेग्मीले उत्तमप्रसादको इसारामा फरार अभियुक्तको म्याद तामेल गर्न जाँदा तिनका आफन्तलाई भेटेर मुद्दा मिलाउने भए यति रकम चाहिन्छ भन्ने गरेको सुराकीहरुले मलाई बताउँदै आएका थिए ।


एक पटक गुप्ते भुजेलको छोराले कसरा आएर मेजर गङ्गा खड्कालाई उत्तमप्रसादले मुद्दा मिलाउन पचास हजार रूपैयाँ मागेको सिकायतसमेत गरेको रहेछ । मेजर गङ्गाले त्यसबारे मलाई सोध्दा म स्तब्ध भएँ र तत्कालै अफिस पुगेर सुब्बालाई सोधेँ । उसले मलाई आफूले पैसा नमागेको बरू पचास हजार रूपैयाँसम्म जरिवाना हुन सक्छ भनेको मात्र हुँ भन्ने जबाफ दियो । त्यस बेला मैले सोझो मनले उसको कुरा पत्याएँ ।


तर पछि बुझ्दा वास्तविकता बेग्लै रहेछ। सुब्बाले त्यो पैसा घूस मागेको रहेछ, मुद्दा मिलाइदिउँला भनेर । पछि के पनि थाहा पाइयो भने उसले मुद्दा चलिरहेका हरेकजसो मान्छेबाट पैसा लिएको रहेछ । उसले चेतप्रसाद खरेलसँग मुद्दा छिन्नुअघि र पछि गरेर दुई किस्तामा दुई लाख पचास हजार रूपैयाँ घूस लिएको कुरा भने माओवादीलाई मोटरसाइकल दिएको अभियोगमा जेल परेका मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका सदस्य यमुनाथ आचार्यले जेलबाट छुटेर आएर मलाई भनेपछि बल्ल थाहा भयो । उहाँलाई जेलभित्र बस्दा कसले कति पैसा कसलाई केका निम्ति खुवाएको छ भन्ने थाहा भएको रहेछ ।


चिफ वार्डेन शिवराज भट्टले गैँडा तस्करीमा पक्राउ परेका तान्जिङ निमा, नगेन्द्र श्रेष्ठ, चेतप्रसाद खरेल र चन्द्रबहादुर पौडेलका सन्दर्भमा गर्नुभएको फैसलाले सुब्बा उत्तमप्रसादलाई प्रोत्साहन गर्यो । तान्जिङको मुद्दा ऊ भारतको एउटा प्राइभेट नर्सिङ होममा मरेको भन्ने उसका आफन्तको सामान्य निवेदनका आधारमा उहाँले टुङ्याइदिनुभयो । नगेन्द्र सुब्बा उत्तमप्रसाद लगायतलाई सात लाख रूपैयाँ ख्वाएर धरौटीमा छुटेको हल्ला थियो । ऊ लगायत गैँडाको तस्करी कारोबारमा संलग्न नगेन्द्र श्रेष्ठ, चेतप्रसाद र चन्द्रबहादुरलाई एक–एक लाख रूपैयाँ जरिवाना गरेर छाडिदिनु तिनलाई माफी दिए जस्तै भएको थियो। तर चिफ वार्डेन भट्टले सुब्बा उत्तमप्रसादले गरिरहेको बदमासीलाई गतिलै साथ दिनुभएको थियो ।


जे होस्, केही दिनभित्रै मैले पूर्णबहादुर गुरूङसँग भेट गरेँ । उसले प्रस्टसँग ‘तिलबहादुरलाई धरौटीमा छुटाइदिन भनेर सुब्बालाई दुई लाख रूपैयाँ दिएको छु’ भन्यो । उसले त्यो पैसा जगतपुरको दलाली गर्ने किराना पसले सोमबहादुर दराईमार्फत दिएको बतायो । मैले यो सबै कुरा शिवराज भट्टलाई भनेपछि उहाँले लिखित निवेदन दिन लगाउन भन्नुभयो र पूर्णबहादुरले २०६१ फागुन १९ गते उत्तमप्रसादविरूङ लिखित निवेदन दियो ।


शिवराज भट्ट भोलिपल्ट काठमाडौँ जाँदै हुनुहुन्थ्यो। मैले भरतपुरको हाकिम चोकमा भेटेर उहाँलाई निवेदनसहितको फाइल दिएँ। उहाँले निवेदनमा तोक लगाउँदै भन्नुभयो– ‘धेरै आशावादी नहुनुस् ।’ म अक्क न बक्क भएँ । उहाँ भन्दै हुनुहन्थ्यो– ‘यी कानुन पढेका मान्छेहरु उल्टा–सीधा जानेका हुन्छन् । कारबाही गर्ने ठाउँहरुमा पनि यिनीहरुकै मान्छे बसेका हुन्छन् ।’ उहाँको कुरा सुनेर म खिस्रिक्क परेँ ।


चिफ वार्डेनले मलाई अनुसन्धान अधिकृत तोक्नुभएको थियो । मैले निवेदनमा सनाखत गर्न पूर्णबहादुरलाई बोलाएँ । मध्यस्थकर्ता भनिएको सोमबहादुर दराईलाई बोलाएर सोध्दा उसले पूर्णबहादुरबाट लिएको दुई लाख रूपैयाँमध्ये उत्तमप्रसादलाई चालीस हजार मात्र दिएको र बाँकी आफैँले राखेको बतायो । पैसा लिएर पूर्णबहादुरसँगै अफिसमा आएको भए पनि उसले उत्तमप्रसादको प्रस्ताव बमोजिम बाँकी पैसा काम भएपछि दिने गरी सुरूमा चालीस हजार रूपैयाँ खाममा हालेर दिएको रहेछ । उता पूर्णबहादुरलाई भने दुई लाख रूपैयाँ नै सुब्बालाई दिइएको भन्ने परेछ ।


त्यसपछि मैले उत्तमप्रसादसँग लिखित रुपमा स्पष्टीकरण माग गरेँ र सम्पूर्ण ब्यहोरा उसलाई कोठामा बोलाएर बताइदिएँ। ऊ त्यहाँबाट रन्थनिँदै बाहिरियो । उसले मलाई स्पष्टीकरण दिएन बरू मविरूद्ध अनेकौँ आरोप लगाउँदै चिफ वार्डेनलाई दस पेज लामो उजुरी पेस गरेछ । त्यसका साथै पूर्णबहादुरलाई नारायणगढको भेटघाट होटलमा बोलाएर निवेदन फिर्ता लिए सबै पैसा तुरून्तै फिर्ता दिने नत्र मुद्दामा ठूलो समस्या पारिदिने भनेर धम्की दिएछ । सोमबहादुरलाई चाहिँ ‘कसरा नआउनू’ भनेछ ।


चिफ वार्डेनलाई पेस गरेको उजुरीमा उसले मेराविरूद्ध रामचन्द्र प्रजा र राजकुमार प्रजालाई नपक्रेर पैसा खाएर भगाएको, चोरी सिकार प्रतिरोध इकाइका लागि प्राप्त हुने रकम नक्कली बिल बनाएर खाएको, त्यो रकमबाट पोखरा, काठमाडौँ र चितवन लगायतका ठाउँमा जग्गा खरिद गरेको, आफन्तका नाममा जग्गा किनेको, बैंकमा पैसा राखेको जस्ता आरोप लगाएको थियो । त्यो सबै पढेपछि चिफ वार्डेन भट्ट उसलाई कारबाही गरेर किन झमेलामा फस्ने, बरू उसले माफी मागे केस त्यत्तिकै छाडिदिने भन्ने सोचाइमा पुग्नुभएछ । त्यो थाहा पाएर मैले उहाँलाई भनेँ– ‘एक त उत्तमप्रसादले गर्दा निकुञ्जका स्टाफले घूस खान्छन् भनेर हाम्रो अफिसको बदनामी भैरहेको छ; दोस्रो पैसा खुवाएपछि जे पनि हुन्छ भनेर तस्करहरुको मनोबल पनि बढेको छ । त्यसैले हामीले उसलाई कारबाही गर्यौँ भने जनतामा पनि यिनीहरु दोषीलाई कारबाही गर्छन् भन्ने पर्छ; तस्करहरुको मनोबल पनि गिर्छ र अब आउने कर्मचारीले पनि बदमासी गर्ने आँट गर्दैन ।’


साथै ‘उसले मेराविरूद्ध लगाएका आरोप पूर्णतः कपोलकल्पित हुन्; त्यसैले उसमाथि कारबाही अघि बढाए मविरूद्ध पनि कारबाही हुन्छ कि भन्ने तपाईंलाई लागेको छ भने त्यसमा डर मान्नुपर्दैन’ समेत भनेँ ।


त्यसपछि उहाँले ‘पूर्णबहादुरलाई बोलाएर कुरा गरौँ’ भन्नुभयो । मैले पूर्णबहादुरलाई बोलाएँ । उत्तमप्रसाद, चिफ वार्डेन, पूर्णबहादुर र मसमेत चार जना चिफ वार्डेनको कक्षमा बस्यौँ । त्यहाँ सुब्बाले ‘म यो पूर्णे भन्नेलाई चिन्दै चिन्दिनँ’ भन्न थाल्यो । पूर्णबहादुर ‘तपाईंलाई कति पटक भेटेको छु; सोमेसँग आएर अफिसमै पैसा दिएको होइन?’ भन्छ, तर ऊ चिन्दै चिन्दिनँ भनेर झर्किन्छ । यसरी उनीहरुबीच झगडा पर्न लागेपछि हामीले पूर्णबहादुरलाई बाहिर पठाएर उत्तमप्रसादसँग कुराकानी गर्यौँ । ऊ मतर्फ चोरऔँलो ठड्याएर ‘म तपाईंलाई पनि छाड्दिनँ’ भन्न थाल्यो । र, चिफ वार्डेनकै सामु ‘तपाईंले के गर्नुहुन्छ?’ भनेर मलाई धम्क्याउन थाल्यो । चिफ वार्डेनको आशय विपरीत उसले माफी माग्ने छाँटकाँट देखाएन ।


त्यसपछि मैले उसको फाइल २०६१ चैत अन्तिम हप्ता आफ्नो प्रतिवेदनसहित कार्यालयमा बुझाएँ । ऊ कानुन मन्त्रालय अन्तर्गतको कर्मचारी भएकाले फाइल कानुन मन्त्रालय पठाइयो । तर प्रक्रिया नपुगेको भनेर त्यहाँबाट उसमाथि कुनै कारबाही भएन ।


यसबीच उसले मविरूद्ध अख्तियार, शाही आयोग, वन मन्त्रालय, वन विभाग, नेपाली सेना, राष्ट्रिय निकुञ्ज विभाग, वन अनुसन्धान तथा सर्वेक्षण विभाग, राष्ट्रिय सतर्कता केन्द्र, जिल्ला वन कार्यालय नवलपरासी, क्षेत्रीय प्रशासन कार्यालय हेटौँडा, पुनरावेदन सरकारी वकिल कार्यालय हेटौँडा, राष्ट्रिय मानव अधिकार आयोग र जिल्ला प्रशासन कार्यालय चितवनसमेतमा उजुरी हालेछ । तीमध्ये कतिपयसँग मविरूद्ध कारबाही त के, अनुसन्धान गर्ने पनि अख्तियार थिएन, जुन कुरा कानुनको विद्यार्थी र कर्मचारी भए पनि सुब्बा उत्तमप्रसादलाई थाहा रहेनछ ।


कारबाही गर्न सक्ने अधिकार भएका निकायबाट भने उजुरी परेपछि अनुसन्धानका टोली र पत्र आउन थाले । सबैलाई मैले आफ्नो यथार्थ विवरण दिँदै गएँ । मैले यतिसम्म चुनौती दिएँ कि २०४७ सालमा जागिरे जीवन सुरू भएयता आफू र घरपरिवारका सदस्यका नाममा कहीँ पनि कुनै जग्गाजमिन खरिद गरेको भेटिए सर्वस्वहरण गरेर कडाभन्दा कडा सजाय गरेमा मेरो मन्जुरी छ । साथै कुनै ब्याङ्कमा मेरो पाँच हजार रूपैयाँभन्दा बढी ब्यालेन्स भेटियो भने पनि कारबाही गर्दा हुन्छ । यसै क्रममा अख्तियार दुरूपयोग अनुसन्धान आयोगबाट अनुसन्धान अधिकृत आएर मेराबारे छानबिन गर्नुभयो । सबै कुरा बुझेपछि मविरूद्ध पूर्वाग्रहले उजुरी दिएको निष्कर्षमा पुगेर सोही बमोजिमको प्रतिवेदन दिनुभयो र त्यसपछि कुनै कारबाही अगाडि बढेन ।


उत्तमप्रसादले पठाएको उजुरी वन मन्त्रालयमा पुगेपछि काठमाडौँबाट निस्कने एउटा साप्ताहिकले त्यसैका आधारमा मेराबारे भ्रामक कुरा छापेछ । यसैबीच मेरो नाम अब्राहम संरक्षण पुरस्कारका लागि छनौट हुने प्रक्रियामा थियो । तर तत्कालीन सह–सचिव दामोदरप्रसाद पराजुलीले मेराविरूद्ध विभिन्न उजुरी आएको हुँदा पुरस्कार दिनु हुँदैन भनेर भाँजो हालेछन् । यो कुरा थाहा पाएपछि चिफ वार्डेनले मलाई भन्नुभयो– ‘तपाईंलाई अवार्ड नदेलान् जस्तो छ; मन्त्रालयले अब्जेक्सन गरेको छ रे ।’


मैले उहाँलाई भनेँ– ‘मैले काम गरेको अवार्ड पाउँला भनेर होइन । परिबन्दका कारणबाट अवार्ड त के, जागिरै गए पनि र जेलै परे पनि मलाई कुनै चिन्ता छैन ।’ चिफ वार्डेन केही बोल्नुभएन ।


कानुन मन्त्रालयले उत्तमप्रसादलाई अरु कारबाही नगरे पनि उसको कर्तुत थाहा पाएपछि काठमाडौँ बोलायो । धेरै जनासँग मुद्दा मिलाइदिने भनेर अग्रिम पैसा बुझेको हुँदा उसलाई चितवनबाट काठमाडौँ जान मन थिएन ।


बाध्य भएर जानुपर्ने भएपछि तीमध्ये कतिपयलाई बोलाएर पैसा फिर्ता दिएको कुरा देख्ने स्टाफहरुले मलाई पछि बताएका थिए । जे होस्, कारबाही नभएर सरूवा भए पनि एउटा रोग निकुञ्जबाट बाहिरिएको थियो । तर लोकतन्त्र बहाली भएपछि शाही कालमा गरेका सरूवा बदर भएर ऊ पुनः चितवन आयो । यद्यपि, लामो समय चितवन बस्न नपाउँदै फेरि उसको सरूवा भयो ।


त्यसपछि लामो समय अख्तियार दुरूपयोग अनुसन्धान आयोग, काठमाडौँमा रह्यो । त्यसपछि ऊ श्रम विभागमा पुग्यो । तर नानीदेखि लागेको बानीमा सुधार नहुँदा सेवाग्राहीसँग एकलाख रूपैयाँ घुस लिएको आरोपमा श्रम विभागबाट अख्तियारले नै पक्राउ गर्यो ।


क्रमश :


 

कमलजङ्ग कुँवर

प्रतिक्रिया दिनुहोस

web
analytics