राइनो होटलबाटै तस्करीको तानाबाना

A+ A-



गैंडालाई चार वर्ष’ गैंडासम्बन्धी कमलजङ्ग कुँवरद्धारा लिखित पुस्तक हो । यो पुस्तक वि.सं २०६६ साउन महिनामा ‘चित्रबहादुर कुँवर स्मृति गैँडा संरक्षण प्रतिष्ठान’ ले प्रकाशनगरी बजारमा ल्याएको थियो । यो पुस्तक हामीले प्रत्येक शनिबार नेचर खबरअनलाइनबाट प्रकाशित गर्दै आइरहेका छौँ । पढौँ पुस्तकको ३३ औं अंश –

पक्रेर पनि काम लागेन

पदरूलाई पक्रने हाम्रो मिसन रेन्जर प्रमोद यादवजीको फोनले सौराहा फिर्ता भएको थियो। तर हाम्रो प्रयत्न जारी नै थियो। ऊ आजकल आफ्नो ससुराली बैरहनीमा बस्छ भन्ने सुनिएको थियो। मैले बैरहनीमा एउटा मान्छेलाई ‘ऊ त्यहाँ छ/छैन पत्ता लगाइराख्नू; हामी एघार बजे राति आउँछौँ’ भनेर खटाएको थिएँ। त्यसै अनुसार २०६२ चैत १९ गते राति उसको गाउँ पुग्दा ऊ घरमै भएको थाहा भयो। हामी सरासर उसको घरतिर लम्कियौँ।

गाउँलेहरु सुतिसकेका थिएनन्। हाम्रो गु्रप देखेर कोही घरभित्र पस्न थाले त पिसाब फेर्न उभिएकाहरु पिसाब नफेरी अन्यत्र हिँड्न थाले। हामीलाई देखाइएको घरमा मान्छे जम्मा भएर टीभी हेरिरहेका थिए।
हामीले ‘पदरू खै?’ भनेर सोध्यौँ।
सबैले भने– ‘छैन।’
त्यो ऊ बस्ने घर होइन रहेछ। हामी अर्को घरमा गयौँ। त्यहाँ १३–१४ वर्षे केटो सुतिरहेको थियो। उसलाई ‘पदरू खै?’ भनेर सोधेको, ‘उता छ’ भनेर लिएर हिँड्यो। हामी उसको पछाडि लाग्यौँ। तर उसले जता लगिरहेको थियो त्यता पदरू हुन सक्दैन भन्ने लाग्यो र हामी पुनः फर्केर त्यही टीभी हेरिरहेको ठाउँमा आयौँ।
‘यो घर कसको हो?’
‘मेरो हो?’
‘तपाईं पदरूको को हो?’
‘जेठान।’
‘पदरू खै?’
‘आज देखेकै छैन। उसकी श्रीमती (देखाउँदै) यही हो, तर ऊ दिउँसोदेखि नै छैन।’
‘कहाँ गयो?’
‘पानी लगाउन जान्छु भन्थ्यो।’
‘त्यसो भए कहाँ छ पानी लगाउने ठाउँ, त्यहाँ लिएर हिँड।’

उनीहरु आनाकानी गर्न थाले। हामीले जबर्जस्ती उसको जेठान र श्रीमतीलाई लिएर हिँड्यौँ। भण्डारानजिकको पम्पा खोलाबाट दक्षिण उसकी सालीको घर पुग्यौँ। ऊ त्यहाँ पनि नभएको थाहा भयो। त्यहाँबाट फर्केर उनीहरुलाई समेत लिएर सौराहा आयौँ र भोलिपल्ट बिहानै उसको घर पदमपुर पुग्यौँ। बुझ्न लगाउँदा ऊ त्यहाँ पनि नभएको थाहा पाइयो र टाँडी गयौँ। उसको दाजु झगरूले ट्याम्पो चलाउँछ भन्ने सूचना थियो। हामी त्यहीँ उसको प्रतीक्षा गर्न थाल्यौँ। एक छिनपछि खबर आयो— झगरू ट्याम्पो लिएर आउँदै छ।

गेमस्काउट यमबहादुर खनाल र मैले झगरूसँग ट्याम्पो भाडामा चाहिएको कुरा गर्‍यौँ। मैले भनेँ– ‘कृष्ण मन्दिरछेउबाट सामान गीतानगर पुर्‍याउनुपर्ने हो; कोठाको सामान छ।’ उसले ‘हुन्छ’ भनेर ट्याम्पो स्टार्ट गर्‍यो। म अगाडिको सिटमा बसेँ; पछाडिपट्टि यमबहादुर। अरु साथीहरुलाई गाडीमा पछिपछि आउन भनेँ। हामीले उसलाई टिकौली अगाडिको पेट्रोल पम्पमा पुर्‍याएर पक्राउ गर्‍यौँ र कसरा लग्यौँ। बेलुका सोधपुछ गर्दा उसले सुराकीले भनेकोसँग मिल्दा कुरा बतायो। उसले गैँडाको खाग श्रीमतीसँग मिलेर कपडाको बाकसमा राखेको र आफ्नै छोरीज्वाइँले लगेर बेचिदिएको पनि बतायो। हामीले सोच्यौँ— खाग बिक्री भइसकेको र गैँडा कहाँ मारेको भन्ने खुल्न नआएको अवस्थामा उसलाई मात्र मुद्दा चलाउँदा प्रमाण नपुगेर केस फितलो हुन्छ; बरू छाडिदियो भने भागेकाहरु पनि अब केही हुँदैन भनेर फर्केर आउँछन् र तिनलाई समेत पक्रेपछि कहाँ मारेको हो सोको आधारमा प्रमाण जुटाएर केस बलियो बनाउन सकिन्छ। यही सोचाइका आधारमा त्यस बेला झगरूलाई तारेखमा छाडिदियौँ। तर अहिलेसम्म झगरू, उसको भाइ पदरू र उनीहरको ग्याङका सदस्य सीताराम महतो तथा झगरूको छोरीज्वाइँलाई पक्रन सकिएको छैन। तिनीहरूले अहिले पनि निकुञ्जमा गैँडा मारी नै रहेका होलान्।

गोप्य बाटो

२०६३ वैशाख १६ गते म कसरामै थिएँ। नारायणगढबाट खबर आयो— गोकुल पन्त आएको छ। म दुई जना साथीलाई लिएर त्यतै लागेँ। सुराकीले ऊ शहीदचोकमा छ भनेर मोबाइलमा खबर गर्‍यो। त्यो ठाउँमा खोजेको, भेटिएन। हामी निराश हुँदै पुलचोकमा रहेको उसको घरको छेउछाउ रेकी गर्न थाल्यौँ। उसलाई गत असोजमै देखेकाले म राम्ररी चिन्थेँ।

यसैबीच, पश्चिम नवलपरासीमा काठ तस्करहरुलाई पक्रन गएको रेन्जर रितेशजीको टोली आइपुग्यो। मैले गाडी रोकेँ र यमबहादुरलाई मात्र ती तस्करलाई लिएर जान भनेर रितेशजीलाई आफूसँगै राखेँ। उहाँको शरीर बलियो थियो, देख्दै सैनिक जस्तो। नारायणगढमा त्यहाँको दादालाई बिनाबन्दुक, दुई जना गेमस्काउटका भरमा पक्रन खोज्नु खतरनाक पनि हुन सक्थ्यो। तर उहाँ भएपछि लडालडै पर्‍यो भने पनि फरक पर्ने थिएन। हामी त्यहीँ थियौँ, गोकुल मोटरसाइकलमा पूर्वतर्फबाट आयो। नजिकै पुगेर मैले उसलाई सोधेँ– ‘तपाईं गोकुल पन्त होइन?’
उसले भन्यो– ‘हो।’
मैले भनेँ– ‘हाम्रो चिफ वार्डेनले बोलाउनुभएको छ; तपाईं निकुञ्जमा हिँड्नुस्।’
उसको हातमा हेलमेट थियो; ‘म यो राखेर आउँछु’ भन्यो।
मैले भनेँ– ‘हामी तपाईंलाई लिन आएको, जसरी पनि लान्छौँ। आनाकानी गर्नुभयो वा बल प्रयोग गर्नुभयो भने तपाईंकै बेइज्जती हुन्छ। खुरूक्क हिँड्नुस्।’ उसले अगाडि रितेशजीलाई ठिङ्ग उभिएको देख्यो। सोच्यो होला— सैनिक अफिसर हो। ऊसँगै अर्को मान्छे थियो जो केही नबोली हाम्रो कुरा सुन्दै थियो। मैले गोकुललाई रेडी अवस्थामा राखेको कारमा चढाएँ। उसले हेलमेट त्यो मान्छेलाई दियो। अनि हामी आफ्नो बाटो लाग्यौँ। हामीलाई त्यसले क्यान्सर हस्पिटलसम्म पछ्याएको मैले लुकिङ
ग्लासबाट हेरिरहेको थिएँ।

हामी गीतानगरबाट सुन्दरबस्तीतर्फको हाम्रो एपीयु मार्ग (चोरी सिकार प्रतिरोध इकाइले प्रयोग गर्ने) हँुदै दक्षिण–पश्चिमतर्फ लाग्यौँ। त्यसपछि ऊ फर्केछ।
त्यो बाटो लागेपछि गोकुलले सोध्यो– ‘निकुञ्ज जाने भन्नुहुन्छ, किन यो बाटो ल्याउनुभयो?’
हामीले भन्यौँ– ‘यो हाम्रो गोप्य बाटो हो; डराउनुपर्दैन।’

कसरामा बयानका क्रममा गोकुलले बतायो— ऊ गैँडा तस्करीको योजनाकार ग्याम्जो लामालाई मोटरसाइकलमा लिएर घुम्थ्यो। उसले ग्याम्जोलाई धेरैपल्ट दिव्यनगर पुर्‍याएको थियो जहाँ ऊ त्यहाँका सिकारीहरु विशेष गरी इन्द्रे, पुष्पे, गुप्ते लगायतलाई भेट्थ्यो। ग्याम्जो उनीहरुलाई चाहिने पैसा तथा हतियारको व्यवस्था गरिदिन्थ्यो भने उनीहरु गैँडा मारेर खाग ग्याम्जोलाई दिन्थे। त्यसरी मोटरसाइकलमा डुलाएबापत उसले दिनको दुई–तीन हजार रूपैयाँ पाउँथ्यो र बेलुका नारायणगढ, पुल्चोकको राइनो होटलमा रक्सी पनि ग्याम्जोले नै खुवाउँथ्यो। राइनो होटलबाटै तस्करीको सारा तानाबाना बुनिन्थ्यो। ग्याम्जोले त्यहाँ स्थायी रूपमै कोठा लिएको थियो। गोकुलले ग्याम्जोलाई मोटरसाइकलमा हेटौँडा लगेको पनि खुलायो, तर कसको घरमा गएको भनेन। यति मात्र भन्यो– ‘मलाई अलि यतै चोकमा छाडेर ऊ हिँडेर जान्थ्यो; कहाँ जान्थ्यो थाहा छैन।’ यहाँनेर गोकुलले हामीलाई ढाँटेको थियो। उनीहरु जाने घर लक्ष्मण केसी र दीपक सिंहको थियो। वीरमान प्रजा जस्तो सामान्य मान्छेलाई समेत ग्याम्जोले लक्ष्मणको घरमा लगेको थियो भने गोकुललाई नलग्ने कुरै थिएन।

ग्याम्जोलाई परिचालन गर्नेहरूमा लक्ष्मण र दीपक सिंहहरु नै थिए भन्ने कुरामा दुईमत छैन। गोकुलले नेपालगन्ज एयरपोर्टनजिकको होटलबाट छिरिङ भन्नेसँगबाट
याक्चेसमेत भएर आफूहरुले खाग ल्याएको बतायो। यही कुरा यसभन्दा अगाडि नै कर्मा लामाले समेत बताइसकेको थियो। याक्चेलाई यिनीहरुले दिव्यनगरबाट इन्द्रे, पुष्पे, गुप्तेहरुले ल्याएको खाग दिएका थिए जुन शिखारामको छोरा भगीरथले गैँडा मारेर ल्याएको थियो। याक्चेलाई खाग दिने मान्छेहरु मध्ये गोकुलले उसलाई छुटाउन सकिन्छ कि भन्ने प्रयत्न पनि गरेको रहेछ। गोकुलको बयान अनुसार याक्चेकी श्रीमतीले उसलाई भेटेर जसरी पनि याक्चेलाई छुटाउन भनेकी रहिछ। त्यसपछि गोकुल आफ्नो शक्तिकेन्द्रमा गएछ तर त्यहाँबाट ‘अहिले केही गर्न सकिँदैन’ भन्ने जबाफ आएपछि त्यही भनिदिएछ। उसको शक्तिकेन्द्रले ‘हामीले भनेर अहिले मान्दैनन्; मान्ने मान्छे
छैनन्’ भनेको रहेछ।

प्रतिक्रिया दिनुहोस

web
analytics